News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलमा रहेका नेपालीहरूले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार निर्माण कोषमा १० लाख रूपैयाँ सहयोग गरेका छन्।
- गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इजरायलले आर्थिक सहयोग संकलन गरी नेपाली राजदूतावासमार्फत उक्त रकम कोषमा जम्मा गरेको छ।
- एनआरएन इजरायलले तिहार सांगीतिक कार्यक्रम र देउसी भैलोबाट संकलित रकम हस्तान्तरण गरी सहयोग रकम सदुपयोग र कानुनी कारबाहीको माग गरेको छ।
११ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार निर्माण कोषमा इजरायलमा रहेका नेपालीहरूले १० लाख रूपैयाँ सहयोग गरेका छन् । गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इजरायलको अगुवाईमा संकलन भएको १० लाख रूपैयाँ कोषमा जम्मा गरिएको हो ।
नेपाल सरकारले कोषमा योगदान गर्न आह्वान गरेपछि एनआरएनए इजरायलले समेत सहयोगको अपिल गरेको थियो । अपिलपछि उठेको रकम नेपाली राजदूतावास इजरायलमार्फत कोषमा जम्मा गरिएको हो ।
गत भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी संरचनामा आगजानी, तोडफोड तथा लुटपाट भएको थियो । त्यसको पुनर्निर्माण, आर्थिक पुनरूत्थान तथा राहतका लागि अर्थ मन्त्रालयले सहयोगको अपिल गर्दै कोष खडा गरेको थियो ।
उक्त कोषमा विदेशमा रहेका नेपालीहरूले समेत आर्थिक सहयोग गर्दै आएका छन् । विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले समेत विदेशमा बस्ने नेपालीहरूलाई आर्थिक सहयोग गर्न अपिल गरेका थिए । सोही अनुसार एनआरएन इजरायलले समेत आर्थिक सहयोग संकलन गरेर कोषमा जम्मा गरेको एनआरन इजरायलका महासचिव चित्र बहादुर कार्कीले जानकारी दिए ।
जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरू निर्माणका लागि रेमिट्यान्स मार्फत १० लाख रूपैयाँ जम्मा गरिएको कार्कीले बताए । एनआरएनले तिहार विशेष सांगीतिक कार्यक्रमबाट बचत रकम र देउसी भैलोबाट संकलित रकम दूतावासको रोहबरमा हस्तान्तरण गरेको हो ।
नेपालमा समय समयमा आइपरेका विपत्ति, सामाजिक सेवामूलक कार्य एवम् इजरायलमा कार्यरत कामदारहरूलाई परेको अप्ठ्यारोमा सहयोग गर्दै आएको कार्कीको भनाइ छ । इजरायलमा रहेका नेपालीलाई कोषमा सिधै रकम जम्मा गर्न समेत अनुरोध गरेको छ ।
सहयोग रकम सही रुपले सदुपयोग हुने, पुनः यस्ता विध्वंसात्मक घटनाहरु दोहोरिन नदिनेतर्फ सचेत रहन समेत सबैमा अनुरोध गरिएको छ । एनआरएनले अराजक कार्यमा संलग्न जो कोहीलाई पनि पहिचान गरी कानुन अनुसार कारबाही गर्न समेत माग गरेको छ ।
प्रतिक्रिया 4