+
+
Shares

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलले बेइरुत नजिक दक्षिणी क्षेत्रमा ड्रोन र हवाई आक्रमण गरी कम्तीमा १७ जनाको मृत्यु भएको छ।
  • मृतकमध्ये एक १२ वर्षीया बालिका रहेको र विभिन्न क्षेत्रमा १५ जना घाइते भएका छन्।
  • युद्धविरामपछि पनि इजरायल र हेजबुल्लाहबीच आक्रमण जारी रहेको छ।

२७ वैशाख, बेइरुट । लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षीया बालिका पनि रहेको जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यम र स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेइरुटको दक्षिणी क्षेत्रमा सवारीसाधनलाई लक्षित गरी गरिएको तीनवटा ड्रोन आक्रमणमा चार जनाको ज्यान गएको हो । त्यस्तै, दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा थप १३ जनाको मृत्यु भएको बताइएको छ ।

इजरायल र हेजबुल्लाहबीच अप्रिल १७ मा युद्धविराम घोषणा भए पनि दुवै पक्षबाट दैनिकजसो आक्रमण जारी रहेका छन् । पछिल्ला घटनाले युद्धविरामपछि पनि तनाव कम नभएको सङ्केत गरेको छ ।

बुधबार राति इजरायली वायुसेनाले बेइरुटको दक्षिणी उपनगरमा आक्रमण गर्दै हेजबुल्लाहका एक वरिष्ठ सैन्य अधिकारी मारिएको दाबी गरेको थियो । युद्धविरामपछि राजधानी नजिक गरिएको यो पहिलो आक्रमण मानिएको छ ।

शनिबार भएका दुई आक्रमण बेइरुटलाई दक्षिणी बन्दरगाह सहर सैदासँग जोड्ने राजमार्ग क्षेत्रमा भएका थिए, जहाँ केही व्यक्ति घाइते भएका छन् । अर्को आक्रमण लेबनानको चोउफ क्षेत्रतर्फ जाने सडकमा भएको थियो, जसमा तीन जनाको मृत्यु भएको जनाइएको छ ।

दक्षिणी गाउँ साक्साकियेहमाथि गरिएको अर्को हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, दक्षिणी लेबनानका बुर्ज रहाल र माइफादौन क्षेत्रमा पनि आक्रमण भएको र त्यहाँ थप मानवीय क्षति भएको समाचारमा उल्लेख गरिएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?