Comments Add Comment

आफ्नोपन गुमाएको बारपाक [ फोटो फिचर ]

१० फागुन, काठमाडौं । गोरखाको बारपाक, लाप्राक अपरिचित नाम होइनन् । तर २०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै लाप्राकले कसरी काँचुली फेर्दैछ ? त्यो चाहिँ धेरैको चासोको विषय हुनसक्छ ।

यस्तै चासो बाकेर म बारपाक र लाप्राक ओहोर-दोहोर गरेको छु, पटक-पटक ।

दुबै ठाउँ पदयात्राका लागि काइदाको गन्तव्य लाग्छ मलाई । यसपटक पनि मैले बारपाक र लाप्राकको यात्रा थालें । सहयात्री थिए, दुई जना विदेशी आगन्तुक । भ्रमण वर्षको मेसो पारेर काठमाडौंबाट हिँडेका हामीलाई बारपाक र लाप्राकले तानिरह्यो ।

काठमाडौंबाट गाडीमा बारपाक र लाप्राक पुग्न सकिन्छ । काठमाडौं र बारपाकको दूरी १ सय ७६ किलोमिटर छ । यस्तै लाप्राकको दुरी छिचोल्न १ सय ९२ किलोमिटर पार गर्नुपर्छ ।

त्यसै पनि रहरलाग्दो भू-बनौट । त्यसमाथि गुरुङ एवं घले संस्कृतिको जलप ।

यो ठाउँलाई सम्झने अर्को कुरा, यो भिसी गजे घलेको जन्मथलो पनि हो । भिसी गजे घलेले दोस्रो विश्वयुद्धमा जापानविरुद्ध बेलायतको पक्षबाट वीरतापूर्वक लडेका थिए । उनको त्यही गरिमाले पनि बारपाक सुशोभित छ । घले जातिका बाहुल्य रहेको बारपाकमा डाँगे, सामी, ध्यालसङ, रिलाङ र गुरुङ जातजातिको समिश्रण छ । बारपाकबाट मनास्लु, बुद्ध र गणेश हिमाल छर्लंङ्ग देख्न सकिन्छ ।

तर दुःख लाग्ने कुरा के भने, महाभूकम्पपछि बारपाक र लाप्राकले आफ्नोपन गुमाएको हो कि भन्ने लाग्छ । किनभने अहिले त्यहाँ नयाँ संरचना निर्माण भइरहेको छ । विगतको बस्ती अब इतिहास बनेको छ ।

बारपाकमा खानबस्न कुनै असुविधा छैन । गाउँमा सञ्चालित होमस्टेले सबै पर्यटकलाई स्वागत सत्कार गरी आश्रय दिन्छ ।

बारपाक पुग्ने पर्यटकले पुग्नैपर्ने ठाउँ हो नारद पोखरी । तर हामी भने कारणवस नार पोखरी जान सकेनौं ।

नारद पोखरी बारपाकबाट करिब १९ किलोमिटर उत्तरमा बुद्ध हिमालको काखमा छ । यो पोखरी १३ हजार ५०० फिट उचाइमा छ ।

नारद पोखरीमा प्रत्येक वर्ष जनैपूणिर्माका दिन ठूलो मेला लाग्छ । जनैपूणिर्मामा पोखरीमा नुहाएमा छालाका दीर्घ रोग निको हुने र मागेको वर पाइने विश्वासले गोरखाको बारपाक, लाप्राक, सिम्जुङ, मुच्चोक, श्रीनाथकोट, जौवारी, स्वाँरासौरपानीलगायतबाट तीर्थयात्री हरेक वर्ष पोखरीमा पुग्छन् ।

भूकम्पको केन्द्रबिन्दुलाई पनि बेच्ने गरी पर्यटकलाई आकर्षण गर्न धेरै पूर्वाधारहरू निर्माण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment