Comments Add Comment

बास्कोटा प्रकरणबारे नेकपा आफैंले छानविन नगर्ने

१० फागुन, काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफैंले छानविन नगर्ने भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट बिहीबार राजीनामा दिएका थिए ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बास्कोटा प्रकरणबारे छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सञ्चारमन्त्रीले राजीनामा दिइसक्नु भएको छ । तत् पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको छ ।’

यद्यपि बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको दाबीलाई उनले अस्वीकार गरे । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको प्रष्ट दृष्टिकोण रहेको भन्दै नेकपा प्रचार विभाग उपप्रमुख समेत रहेका उनले भने, ‘त्यस्ता हावा कुराको पछाडि छलफल गर्नु बेकार छ ।’

नेकपा सचिवालयको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न कठित कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए ।
कार्यदलले सर्वसम्मत रुपमा एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन गर्न नहुने सुझाव दिएको छ । यसका लागि आवश्यक परे अमेरिका सरकारसँग समेत कुराकानी गर्नुपर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

सल्लाहकार थापाकाअनुसार यसबारे नेकपा सचिवालयको आगामी बैठकमा थप छलफल हुनेछ ।

बैठकले प्रदेश २ का अध्यक्ष प्रभु साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साहले ललिता निवास प्रकरणमा पार्टीका वरिष्ठ नेता समेत रहेका तत्कालीन प्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment