News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिकाले कुसुन्ती हाइटमा नेपालमै पहिलो पटक लिफ्टसहितको आकाशे पुल निर्माण गरिरहेको छ।
- डिजाइनर विनोद न्यौपानेका अनुसार पाटन अस्पताल नजिकैको यो पुल ज्येष्ठ नागरिक र बिरामीका लागि सहज बनाउन बनाइएको हो।
- करिब ५ करोड रुपैयाँ लागतको पुल दुई महिनाभित्र सकाएर सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ।
२ कात्तिक, काठमाडौं । दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर विनोद न्यौपानेको टोलीले काम गरिरहेको थियो । यहाँ लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ ।
‘यो अपाङ्गमैत्रीभन्दा पनि असक्षममैत्री हो । ज्येष्ठ नागरिक आउनुहुन्छ । पाटन अस्पताल नजिकै भएकाले बिरामीहरू आउनुहुन्छ’, न्यौपानेले भने, ‘उहाँहरूका लागि सहज होस् भनेर नेपालमै पहिलो पटक लिफ्टसहितको नयाँ प्रयोग गरिरहेका छौं ।’
ललितपुर महानगरले प्रविधिमैत्री पुल बनाउन लागेको हो । यसपछि पाटन अस्पतालमा पनि महानगरपालिकाले यस्तै संरचना बनाउन लागेको उनले बताए । ‘महानगरपालिकाकै बजेटमा निर्माण भइरहेको हो’, उनले भने, ‘बढीमा दुई महिनामा अन्तिम काम सकेर सञ्चालनमा ल्याउने लक्ष्य छ ।’
यो क्षेत्रमा दुर्घटना बढी हुने भएकाले पनि लिफ्टसहितको पुल बनाउन लागिएको हो । ‘अहिलेसम्म यो ठाउँमा २५ देखि २६ जनाले ज्यान गुमाइसक्नुभएको छ । वरिपरि १० वटा बाटो पनि छन्’, उनले भने, ‘यस क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने आवश्यकता देखियो। त्यसैले हामीले यसलाई पैदलयात्रीमैत्री बनाउने सोच राखेका हौं।’
ललितपुर महानगरले फुटपाथलाई व्यवस्थित बनाउने योजना अनुसार काम गरेको हो । ‘सडक र फुटपाथबीच, अथवा पैदलयात्री र सवारीसाधनबीच सधैं द्वन्द्व भइरहेको छ। हाम्रा फुटपाथ पनि निश्चित अन्तर्राष्ट्रिय मापदण्डअनुसार राम्रा छैनन्’, उनले भने, ‘मानिसले सहज रूपमा फुटपाथमा हिँड्न पाउनुपर्छ। देशवासीले बाटोमा हिँड्दा वा सडक पार गर्दा ज्यान गुमाउन नपरोस्, कुनै किसिमको समस्या नआओस्, अंगभंग हुन नपरोस् र जनधनको क्षति नहोस् भन्ने हो।’
न्यौपानेका अनुसार यो पुल महानगरको पाँच करोड रुपैयाँको लागतमा बनाउन लागिएको हो । ‘परियोजना दिगो होस् भनेर हामीले हरियाली क्षेत्रमा सातवटा सटर, शौचालय र रेस्टुरेन्टजस्ता संरचना बनाउने प्रस्ताव गरेका थियौँ। तर, तत्कालीन नेपाल सरकारले यी प्रस्तावलाई त्यति सकारात्मक रूपमा लिएन। अहिले यो संरचना मात्रै बनाउने कुरा स्वीकृत भएकाले हामी त्यहीअनुसार काम गरिरहेका छौं’, उनले भने ।
दशैंमा सवारीको चाप कम हुने भएकाले पनि अष्ठमीको दिनमा पनि काम गरिएको उनले बताए । ‘अरू समयमा यहाँ ट्राफिकको चाप निकै बढी हुन्छ। अहिले दशैंको समय भए पनि तपाईंले ट्राफिक जाम देखिरहनुभएको छ । नगर प्रहरीहरू पनि व्यवस्थापनमा खटिरहनुभएको छ। तैपनि हामीले सन्तुलन मिलाएर काम गरिरहेका छौं’, उनले भने ।
तस्वीर /भिडियो कमल प्रसाईं

प्रतिक्रिया 4