+
+
Shares

दशैंको टीकामा अक्षताको महत्त्व

अक्षताको एउटा सानो गेडामा नेपाली समाजको ठूलो सांस्कृतिक कथा लुकेको छ ।

ध्रुवसागर शर्मा ध्रुवसागर शर्मा
२०८३ कात्तिक ३ गते ७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंमा निधारमा लगाइने चामलका अक्षता देवीप्रतिको श्रद्धा, अन्नप्रतिको सम्मान र समृद्धिको कामनासँग जोडिएको परम्परागत प्रतीक हुन्।
  • विजयादशमीको टीका नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिन्छ, र मान्यजनको आशीर्वादसँग पारिवारिक आत्मीयता पुस्तान्तरण हुँदै जान्छ।
  • अक्षताको धार्मिक प्रयोग विवाह, व्रतबन्ध, पूजापाठ र शुभसाइतमा पनि हुने लेखमा उल्लेख छ, र यसको ठ्याक्कै ऐतिहासिक आरम्भ स्पष्ट छैन।

दशैंको आगमनसँगै नेपाली घरआँगनमा एउटा परिचित दृश्य देखिन्छ । जमरा पहेँलपुर बनेका हुन्छन्, घरमा दुर्गा भवानीको पूजा आराधना भइरहेको हुन्छ र विजयादशमीका दिन मान्यजनको हातबाट निधारमा रातो टीका तथा कानमा जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ । निधारमा सजिने त्यही रातो टीकाभित्र चामलका सग्ला गेडा हुन्छन्, जसलाई धार्मिक भाषामा ‘अक्षता’ भनिन्छ ।

देख्दा सामान्य लाग्ने चामलका ती गेडाले नेपाली समाजमा धर्म, दर्शन, कृषि, प्रकृति, पारिवारिक सम्बन्ध र सांस्कृतिक निरन्तरताको गहिरो अर्थ बोकेका छन् । दशैंमा लगाइने अक्षता केवल निधार सजाउने सामग्री होइन, यो देवीप्रतिको श्रद्धा, अन्नप्रतिको सम्मान, जीवनको पूर्णता र सुखसमृद्धिको कामनासँग जोडिएको परम्परागत प्रतीक पनि हो ।

दशैंको टीका लगाउँदा मान्यजनले दिने आशीर्वादसँगै पुस्तान्तरण हुँदै आएको विश्वास, अनुभव र पारिवारिक आत्मीयता पनि एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ । त्यसैले अक्षताको एउटा सानो गेडामा नेपाली समाजको ठूलो सांस्कृतिक कथा लुकेको छ ।

अक्षता : नटुटेको अन्न, पूर्णताको प्रतीक

संस्कृतको ‘अक्षत’ शब्दको सामान्य अर्थ नखण्डित, नभाँचिएको वा क्षति नपुगेको भन्ने हुन्छ । धार्मिक अनुष्ठानमा अक्षता भन्नाले विशेषतः सग्ला चामलका गेडालाई बुझिन्छ । नेपाली बृहत् शब्दकोशले पनि अक्षतालाई देवकार्य, पितृकार्य, पूजा तथा टीका लगाउन प्रयोग गरिने चामलका सग्ला गेडाका रूपमा परिभाषित गरेको छ ।

अक्षताको नाममै यसको प्रतीकात्मक अर्थ लुकेको छ । गेडा नटुटेको हुनुले पूर्णता, अखण्डता र निरन्तरताको भाव दिन्छ । पूजा तथा शुभकार्यमा अक्षता अर्पण गर्दा जीवनमा सुख, शान्ति, उन्नति र समृद्धि कायम रहोस् भन्ने कामना व्यक्त गरिन्छ ।

हिन्दू धार्मिक परम्परामा अक्षता दशैंमा मात्र प्रयोग हुँदैन । विवाह, व्रतबन्ध, गृहप्रवेश, पूजापाठ, शुभसाइत तथा विभिन्न संस्कारमा पनि अक्षताको महत्व छ ।

कतिपय अनुष्ठानमा चामलका गेडा देवतालाई अर्पण गरिन्छन् भने कतिपयमा सहभागी व्यक्तिको शिरमा छर्किने वा निधारमा लगाउने गरिन्छ । यसले अक्षता नेपाली धार्मिक जीवनको दशैंसँग मात्र सीमित नभई जन्मदेखि विवाह र अन्य संस्कारसम्म फैलिएको सांस्कृतिक प्रतीक भएको देखाउँछ ।

दुर्गा भवानीको प्रसाद र शक्तिको आराधना

विजयादशमीको टीकालाई नेपाली हिन्दू परम्परामा नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिन्छ । घटस्थापनादेखि सुरु हुने नवरात्रमा दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ र विजयादशमीका दिन देवीको प्रसादस्वरूप टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।


पण्डित नीलकण्ठ आचार्यका अनुसार शक्तिस्वरूपा दुर्गाको गुण आत्मसात् गर्ने धार्मिक मान्यतासँग अक्षताको टीका लगाउने परम्परा जोडिएको छ । उहाँको व्याख्यामा प्रकृतिको आराधना र शक्तिको उपासनाले पनि यस परम्परालाई अर्थ प्रदान गर्छ ।

हिन्दू दर्शनमा शिव र शक्तिको सम्बन्धलाई विशेष महत्व दिइन्छ । शिवलाई चेतना र शक्तिलाई त्यस चेतनाको क्रियाशील पक्षका रूपमा व्याख्या गर्ने परम्परा छ । देवी दुर्गा त्यही आदिशक्तिको प्रतीक मानिन्छिन् । दुर्गाको उपासना गर्नु भनेको दुष्ट प्रवृत्तिमाथि विजय, अन्यायविरुद्धको साहस र धर्मको संरक्षणको कामना गर्नु पनि हो ।

यस दृष्टिले विजयादशमीको अक्षता शुभकामना व्यक्त गर्ने माध्यम होइन, जीवनमा शक्ति, विवेक, धैर्य र सदाचार कायम रहोस् भन्ने आध्यात्मिक सन्देशको प्रतीक पनि हो ।

दशैंको धार्मिक पृष्ठभूमिमा देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको पौराणिक आख्यानको विशेष स्थान छ । देवीमाहात्म्य अथवा दुर्गा सप्तशतीमा वर्णित यस आख्यानले दैवी शक्तिको विजय र अहंकार तथा अत्याचारको पराजयलाई प्रस्तुत गर्छ । त्यसैले विजयादशमीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयका रूपमा व्याख्या गरिन्छ ।

यद्यपि अक्षताको टीका लगाउने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भन्ने विषयमा स्पष्ट ऐतिहासिक प्रमाण उपलब्ध छैन । यसको धार्मिक अर्थ र परम्परागत प्रयोगलाई भने नेपाली समाजको दीर्घ सांस्कृतिक अभ्यासका रूपमा बुझ्न सकिन्छ ।

निधारको टीका र योग–ध्यानको सम्बन्ध

दशैंको टीकालाई योग तथा ध्यानसँग जोडेर पनि व्याख्या गरिन्छ । दुई आँखीभौँको बीचको भागलाई योगपरम्परामा आज्ञाचक्रसँग सम्बन्धित स्थानका रूपमा लिइन्छ । यही स्थानमा टीका लगाउने प्रचलनलाई आध्यात्मिक प्रतीकका रूपमा बुझ्न सकिन्छ ।

योगदर्शनमा इडा, पिङ्गला र सुषुम्ना नामका तीन प्रमुख नाडीको चर्चा पाइन्छ । परम्परागत चक्रसम्बन्धी व्याख्यामा आज्ञाचक्रलाई भृकुटीको बीचमा अवस्थित सूक्ष्म ऊर्जा केन्द्रका रूपमा चित्रण गरिन्छ । यसलाई एकाग्रता, अन्तर्दृष्टि र आत्मबोधसँग जोडेर हेरिन्छ ।

पौडेलका अनुसार निधारको बीचमा औँला राखेर मन्त्र वा निर्देशन दिने परम्परालाई पनि यही आध्यात्मिक धारणासँग जोडेर बुझ्न सकिन्छ । उहाँको व्याख्यामा घटस्थापनादेखि सुरु हुने साधना, प्रकृतिको आराधना र ध्यानको क्रमलाई शरीरका चक्रहरू जागृत गर्ने प्रतीकात्मक यात्राका रूपमा हेर्न सकिन्छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने आज्ञाचक्र र नाडीको अवधारणा योग तथा आध्यात्मिक परम्परासँग सम्बन्धित हुन् । तिनलाई आधुनिक शरीरविज्ञानले प्रमाणित गरेका भौतिक संरचनासँग सोझै समान ठान्नु उचित हुँदैन । तथापि निधारमा टीका लगाउने अभ्यासले धार्मिक आस्था, ध्यान र आध्यात्मिक स्मरणलाई एउटै सांस्कृतिक क्रियामा जोडेको देखिन्छ ।

धानको इतिहाससँग जोडिएको अक्षताको यात्रा

अक्षताको सांस्कृतिक महत्व बुझ्न धानको इतिहासतर्फ फर्कनु आवश्यक हुन्छ । धान दक्षिण तथा पूर्वी एसियाली सभ्यताको खाद्य इतिहाससँग गहिरो गरी जोडिएको बाली हो । यसले मानिसको खानपान मात्र होइन, बसोबास, कृषि प्रणाली, सामाजिक सम्बन्ध र चाडपर्वको विकासमा समेत प्रभाव पारेको छ ।

पुरातात्विक तथा आनुवंशिक अनुसन्धानले एसियाली धानको म्यmभकतष्अबतष्यल अर्थात् जङ्गली धानलाई क्रमशः खेतीयोग्य बालीमा रूपान्तरण गर्ने प्रक्रिया चीनको याङ्त्से नदी क्षेत्रसँग विशेष रूपमा सम्बन्धित रहेको देखाएका छन् ।

अनुसन्धानअनुसार यो प्रक्रिया हजारौँ वर्षसम्म चलेको थियो । केही अध्ययनले त्यस क्षेत्रमा धानको खेती तथा घरेलुकरणको इतिहासलाई करिब आठदेखि एघार हजार वर्षअघिसम्म पुर्‍याएका छन् । यद्यपि धानको विकास र घरेलुकरणको समयबारे अनुसन्धान जारी छ ।

धानको खेती दक्षिण एसियामा फैलिँदै जाँदा यो क्षेत्रका अनेक समुदायको प्रमुख खाद्यान्न बन्यो । नेपालमा पनि धान खेतीले आर्थिक जीवन, मौसमी चक्र, लोकसंस्कृति र धार्मिक संस्कारमा महत्वपूर्ण स्थान ओगट्यो ।

अन्न उत्पादनमा निर्भर समाजमा आफूले उपभोग गर्ने खाद्यान्नलाई देवतालाई अर्पण गर्नु कृतज्ञता व्यक्त गर्ने एउटा माध्यम बनेको बुझ्न सकिन्छ । नेपालका विभिन्न समुदायमा नयाँ अन्न भित्र्याउने, अन्नको पूजा गर्ने र उत्पादनका लागि प्रकृतिप्रति धन्यवाद दिने परम्पराहरू पाइन्छन् ।

बेनी नगरपालिका–२, बगरफाँटका ९० वर्षीय वेदप्रसाद उपाध्यायका अनुसार आफूले खाने वस्तु पहिले भगवानलाई चढाउने परम्परासँग अक्षताको प्रयोग जोडिएको छ । उहाँको यो भनाइले नेपाली समाजमा अन्नलाई केवल पेट भर्ने वस्तु नभई पवित्रता र कृतज्ञतासँग सम्बन्धित उपहारका रूपमा लिने मान्यतालाई उजागर गर्छ ।

यद्यपि धानको खेती प्राचीन हुनु र दशैंमा अक्षताको टीका लगाउने परम्परा त्यही समयदेखि सुरु हुनु एउटै कुरा होइन । धानको पुरातात्विक इतिहासले अन्नको प्राचीनता देखाउँछ, तर टीकाको प्रचलनको आरम्भ निर्धारण गर्न छुट्टै ऐतिहासिक प्रमाण आवश्यक पर्छ ।

नेपालमा रातो टीका, भारतमा फरक परम्परा

दशैं वा दशहराको सांस्कृतिक स्वरूप दक्षिण एसियाका विभिन्न भूभागमा फरक–फरक रूपमा विकसित भएको छ । नेपालमा विजयादशमीका दिन चामल, दही र रातो रङ वा अबिर मिसाएर तयार पारिएको टीका लगाउने परम्परा व्यापक छ । मान्यजनले टीका र जमरा लगाइदिएर दीर्घायु, स्वास्थ्य, सुख, समृद्धि तथा सफलताको आशीर्वाद दिने चलन छ ।

भारतका विभिन्न क्षेत्रमा यही पर्वलाई दशहरा वा दुर्गापूजाका रूपमा मनाइन्छ । कतै रामले रावणमाथि विजय प्राप्त गरेको आख्यानलाई केन्द्रमा राखिन्छ भने कतै दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको प्रसङ्ग प्रमुख हुन्छ । पश्चिम बङ्गाललगायतका क्षेत्रमा दुर्गापूजा र विजयादशमीको आफ्नै विशिष्ट सांस्कृतिक रूप छ । भारतका विभिन्न समुदायमा टीका, तिलक, सिन्दूर र अन्य धार्मिक चिह्न प्रयोग गर्ने तरिका पनि फरक–फरक छन् ।

त्यसैले नेपालमा रातो अक्षताको टीका र भारतका कतिपय क्षेत्रमा चन्दन वा अन्य तिलक प्रयोग हुने कुरालाई सम्पूर्ण नेपाल र भारतबीचको कठोर विभाजनका रूपमा बुझ्नु हुँदैन । दुवै देशभित्र क्षेत्र, जाति, सम्प्रदाय र पारिवारिक परम्पराअनुसार विविधता पाइन्छ ।

नेपालमा दशैंसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष जमरा हो । घटस्थापनाका दिन वैदिक तथा परम्परागत विधिअनुसार जौलगायतका बीउलाई अँध्यारो वा कम प्रकाश भएको स्थानमा छरेर उमारिन्छ । यसरी उमारिएको पहेँलो जमरा विजयादशमीमा टीकासँगै लगाइन्छ ।

जौलाई संस्कृतमा ‘यव’ भनिन्छ । वैदिक साहित्यमा यवको उल्लेख पाइन्छ र प्राचीन समाजमा यसको खाद्य तथा धार्मिक महत्व थियो । दशैंमा जौको जमरा र चामलको अक्षता एकसाथ प्रयोग हुनुले विभिन्न अन्नबालीलाई धार्मिक अनुष्ठानमा प्रतीकात्मक स्थान दिइएको देखाउँछ ।

किरात परम्परा र अक्षतासम्बन्धी जनश्रुति

नेपालको सांस्कृतिक इतिहास अनेक समुदाय, भाषा, धर्म र परम्पराको अन्तरसम्बन्धबाट बनेको छ । किरात समुदायको जीवनमा प्रकृति, खेतीपाती, अन्न र मौसमी चक्रको महत्त्व रहेको छ । यस्ता समुदायका परम्परागत संस्कारले नेपालको सांस्कृतिक विविधतालाई समृद्ध बनाएका छन् ।

किरात समुदायले सबैभन्दा पहिले सेतो अक्षता प्रयोग गरेको र पछि अन्य समुदायले रङ मिसाएर प्रयोग गर्न थालेको भन्ने जनश्रुति कतिपय स्थानमा सुनिन्छ । तर यस दाबीलाई पुष्टि गर्ने पर्याप्त ऐतिहासिक वा पुरातात्विक प्रमाण प्राप्त हुन नसकेको इतिहासकारहरु बताउँछन् ।

यसको अर्थ किरात परम्पराको महत्व कम हुन्छ भन्ने होइन । बरु विभिन्न समुदायको मौखिक इतिहास, धार्मिक अभ्यास र अन्नसँग जोडिएका संस्कारको व्यवस्थित अध्ययनले नेपाली सांस्कृतिक इतिहासका धेरै पक्ष उजागर गर्न सक्छ ।

अक्षताको प्रयोगलाई एउटै जाति वा समुदायको योगदानमा सीमित गर्नुभन्दा नेपालका विविध समुदायले अन्न, प्रकृति र शुभकार्यलाई कसरी अर्थ दिएका छन् भन्ने प्रश्नबाट हेर्नु बढी समावेशी र ऐतिहासिक दृष्टिले उपयुक्त हुन्छ ।

रातो रङ : विजय, शक्ति र शुभकामनाको प्रतीक

दशैंको टीकामा रातो रङको प्रयोगले विशेष सांस्कृतिक अर्थ बोकेको छ । नेपाली समाजमा रातो रङलाई सौभाग्य, उत्साह, शक्ति, विजय र शुभकार्यसँग जोडेर हेरिन्छ । विवाह, व्रतबन्ध, पूजापाठ र अन्य शुभ अवसरमा पनि रातो रङको प्रयोग व्यापक छ ।

दशैंमा चामललाई दही र रातो अबिर वा रङसँग मिसाएर टीका तयार गरिन्छ । चामलले अन्न, पूर्णता र समृद्धिको भाव दिन्छ भने रातो रङले शक्ति, विजय र शुभताको प्रतीकात्मक अर्थ ग्रहण गर्छ । दहीको प्रयोगले टीकालाई टाँसिन सजिलो बनाउनुका साथै परम्परागत विधिको निरन्तरता पनि देखाउँछ ।

कतिपय धार्मिक व्याख्यामा रातो रङलाई देवीशक्ति र सक्रिय ऊर्जाको प्रतीक मानिन्छ । सेतो रङ शान्ति, पवित्रता तथा ज्ञानसँग र पहेँलो रङ शुभता तथा ज्ञानसँग जोडिन्छ । यी अर्थहरू संस्कृति र परम्पराअनुसार फरक हुन सक्छन् ।

अक्षताको रङसँग सम्बन्धित परम्पराको ठ्याक्कै ऐतिहासिक आरम्भ स्पष्ट नभए पनि रातो टीकाले नेपाली समाजमा शुभेच्छा, आस्था र आत्मीयताको विशिष्ट स्थान ओगटेको छ ।

अक्षता र आशीर्वाद : पुस्तालाई जोड्ने सांस्कृतिक सेतु

दशैंमा अक्षताको टीका लगाउने दृश्यको सबैभन्दा भावनात्मक पक्ष पारिवारिक भेटघाट र आशीर्वाद हो । वर्षभरि टाढा रहेका छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफन्तहरू दशैंमा घर फर्कने प्रयास गर्छन् । मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने क्षणले परिवारभित्रको सम्बन्धलाई पुनः सुदृढ बनाउँछ ।

आशीर्वादका शब्द ठाउँ, परिवार र परम्पराअनुसार फरक हुन्छन् । कतै दीर्घायु र आरोग्यको कामना गरिन्छ, कतै विद्या, बुद्धि, धन, धान्य, साहस र सफलताको । आशीर्वादमा प्रयोग हुने यी शब्दहरूले नेपाली समाजले व्यक्तिगत जीवनसँगै परिवारको सुख, सामाजिक प्रतिष्ठा र सामूहिक समृद्धिलाई पनि महत्त्व दिएको देखाउँछन् ।

आजको बदलिँदो समाजमा परिवारका सदस्यहरू रोजगारी, शिक्षा र अन्य कारणले देशविदेशमा छरिएका छन् । प्रविधिको सहायताले शुभकामना आदानप्रदान भए पनि मान्यजनको हातबाट टीका ग्रहण गर्ने अनुभवको भावनात्मक महत्त्व अझै कायम छ ।

अक्षताको प्रचलन कहिलेदेखि सुरु भयो, रातो रङ कहिले मिसाउन थालियो र नेपालका विभिन्न समुदायमा यसको प्रयोग कसरी विकसित भयो भन्ने प्रश्नको पूर्ण उत्तर अझै खोज्न बाँकी छ । धार्मिक ग्रन्थ, पुरातात्विक प्रमाण, भाषिक अध्ययन, स्थानीय मौखिक इतिहास र मानवशास्त्रीय अनुसन्धानको तुलनात्मक अध्ययनले यस विषयलाई अझ स्पष्ट बनाउन सक्छ ।

कृषि इतिहासले चामलको प्राचीनता पुष्टि गर्न सक्छ, धार्मिक ग्रन्थले अक्षताको अनुष्ठानिक अर्थ बुझाउन सक्छन् र मौखिक परम्पराले समुदायको सांस्कृतिक स्मृति संरक्षण गर्न सक्छ । आस्था, जनश्रुति र प्रमाणित इतिहासलाई उचित ढङ्गले छुट्याउनु आवश्यक छ ।

विजयादशमीमा निधारमा लगाइने चामलका अक्षता हेर्दा साना र सामान्य देखिन्छन् । तर तिनमा अन्नप्रतिको कृतज्ञता, देवीप्रतिको श्रद्धा, जीवनको पूर्णताको कामना, शक्ति र विजयको प्रतीकात्मकता तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पारिवारिक आत्मीयता समेटिएको छ ।

जौको जमरा र चामलको अक्षता, दुर्गा भवानीको आराधना र मान्यजनको आशीर्वाद, रातो रङ र सग्लो अन्न—यी सबैले दशैंलाई धार्मिक पर्वमा सीमित नराखी नेपाली समाजको जीवन्त सांस्कृतिक उत्सव बनाएका छन् ।

परम्पराको वास्तविक शक्ति त्यसको बाहिरी विधिमा मात्र हुँदैन; त्यसले पुस्तौँसम्म मानिसको जीवनमा बोकेको अर्थमा पनि हुन्छ । त्यसैले दशैंमा अक्षताको टीका लगाउँदा हामी निधारमा चामलका केही गेडा मात्र राखिरहेका हुँदैनौँ, बरु सुख, शान्ति, समृद्धि, सद्भाव र अखण्डताको कामनासहित आफ्नो सांस्कृतिक स्मृतिलाई पनि निरन्तरता दिइरहेका हुन्छौँ ।

यही कारण दशैंको टीकामा चामलका अक्षता नेपाली आस्था, कृषि सभ्यता र सांस्कृतिक पहिचानका जीवन्त प्रतीक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?