+
+
Shares

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड

सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक ३ गते २१:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको हिमपातले अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको हुम्लाको सिमकोट–हिल्सा सडक जेसीबी र जनशक्ति प्रयोग गरी सञ्चालनमा आएको छ।
  • नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेकाले ९५ किलोमिटर लामो सडक खुलाउन समय लागेको सडक योजना प्रमुख बेलबहादुर नेपालीले बताए।
  • सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक र चीनको पुराङ क्षेत्रमा रहेका नेपालीलाई घर फर्किन सहज भएको छ।

३ कात्तिक, सुर्खेत । लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक सञ्चालनमा आएको छ ।

नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समय लागेको थियो ।

सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरी सडक खुलाइएको सडक योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार तीन पटकसम्म हिमपात भएपछि सडक खुलाउन चुनौती भएको थियो । करिब ९५ किलोमिटर लामो सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको सडक हिमपातका कारण अवरुद्ध भएको थियो ।

विशेषगरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेको थियो । समुद्री सतहबाट चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा हिउँको मात्रा बढी भएकाले सडक खुलाउन कठिन भएको नेपालीले बताए । ‘नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेको थियो’, उनले भने ।

ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकमा बढी हिउँ जमेको आयोजनाले जनाएको छ । सडकमा जमेको हिउँ पन्छाउन जेसीबी प्रयोग गरिएको थियो । सडक योजना कार्यालयले आफ्नै उपकरण, इन्धन र मेसिन अपरेटर परिचालन गरेर सडक खुलाएको नेपालीले बताए ।

सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ ।

दसैँ मनाउन घर फर्किने नेपालीलाई राहत

सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रमा रहेका पर्यटक तथा स्थानीयवासी प्रभावित भएका थिए । चीनको पुराङ क्षेत्रमा व्यापार तथा रोजगारीका लागि पुगेका हुम्लासहितका नेपाली पनि सडक अवरुद्ध हुँदा प्रभावित बनेका थिए । सडक खुलेसँगै उनीहरू हिल्सा नाका हुँदै नेपाल प्रवेश गरी घर फर्किन थालेका छन् ।

दसैँ मनाउन घर फर्किने तयारीमा रहेका नेपालीका लागि सडक खुल्नु राहत बनेको छ । हिमपातका कारण लामो समय आवागमन प्रभावित हुँदा घर फर्किन प्रतीक्षामा रहेका नेपालीलाई सडक सञ्चालनमा आएपछि सहज भएको छ ।

५५ किलोमिटर सडकमा ग्राभेलिङ

९५ किलोमिटर लामो सिमकोट–हिल्सा सडकखण्डमध्ये करिब ५५ किलोमिटरमा ग्राभेलिङ गरिएको छ । बाँकी सडकमा ट्र्याक खोलिएको अवस्थामा रहेको आयोजनाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने यो सडकमा हरेक वर्ष हिमपातका कारण आवागमन प्रभावित हुने गरेको छ ।

बाक्लो हिउँका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाएर यातायात सञ्चालन गर्न आयोजनाले उपकरण र जनशक्ति परिचालन गरेको थियो । सडक खुलेसँगै हिल्सा क्षेत्रको आवागमन पुनः सहज बनेको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?