News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको थानसिङ फाँटका कृषक उद्धव श्रेष्ठ १५ जना खेतालासहित पाकेको धान झार्न व्यस्त छन्।
- बडादशैँ चलिरहँदा नुवाकोटका धेरै किसान चाडपर्वभन्दा पाकेको धान सुरक्षित रूपमा भित्राउने चिन्तामा खेतमै खटिएका छन्।
- लिखु गाउँपालिका–६ का वडा सचिव राजनप्रसाद अधिकारीका अनुसार गत वर्ष झरीले काटेर राखेको धानमै उम्रिएको थियो।
३ कात्तिक, नुवाकोट । दशैँको महाअष्टमीको दिन गाउँघरमा कतै पूजाआजा चलिरहेको थियो । कतै मासुका परिकार पाक्दै थिए त कतै आफन्त र साथीभाइसँग भेटघाटको रमझम थियो ।
तर, नुवाकोटको थानसिङ फाँटका कृषक उद्धव श्रेष्ठलाई भने दशैँको रौनकले छोएको थिएन । उनी १५ जना खेतालासहित पाकेको धान झार्न व्यस्त थिए ।
महिनौँको मेहनत र पसिनाले फलाएको धानबाली भित्राउने चटारोमा रहेका श्रेष्ठका लागि त्यतिबेला दशैँभन्दा ठूलो चिन्ता मौसमको थियो । पाकेको धान खेतमै रहँदा मौसम बिग्रिएर पानी परेमा वर्षभरि गरेको दु:ख खेर जाने डर उनलाई थियो ।
‘सबैथोकको बन्दोबस्त भएमात्रै हामीजस्ता किसानलाई चाडपर्व हुने हो । पाकेको धानलाई अलिकति ढिला भयो र थोरैमात्र मौसम बिग्रिहाल्यो भने सारा दु:ख खेर जान्छ । पुर्पुरोमा हात लगाएर बस्नुपर्छ,’ श्रेष्ठले भने ।
उनका लागि दशैँको खुसीभन्दा वर्षभरि परिवार पाल्ने आधारका रूपमा रहेको धानबाली सुरक्षित रूपमा भित्राउनु महत्त्वपूर्ण थियो ।
बडादशैँको चहलपहल चलिरहँदा श्रेष्ठजस्तै नुवाकोटका धेरै किसान खेतबारीमै व्यस्त छन् । अरूका लागि चाडपर्व घुमघाम, खानपान, भेटघाट र मनोरञ्जनको अवसर बने पनि किसानका लागि भने यो समय पाकेको बाली थन्क्याउने हतारोको समय बनेको छ ।
घरमा दशैँको तयारी चलिरहँदा उनीहरू खेतमा धान काट्न, झार्न र भित्राउन जुटिरहेका छन् ।

चाडपर्वभन्दा मौसमको चिन्ता
नेपाली किसानका लागि धान केवल एउटा बाली होइन, वर्षभरि परिवारको छाक टार्ने र घरव्यवहार चलाउने प्रमुख आधार पनि हो ।
बर्खायाममा मानो रोपेर मुरी फलाउने आशासहित गरिएको महिनौँको मेहनतको प्रतिफल अहिले खेतमा पाकेर तयार भएको छ । तर, समयमै बाली भित्राउन नसकिएमा प्राकृतिक विपत्तिले त्यसलाई क्षणभरमै नोक्सान पुर्याउन सक्छ ।
लिखु गाउँपालिका–६ का वडा सचिव राजनप्रसाद अधिकारीका अनुसार, थानसिङ फाँटमा अहिले किसानलाई चाडपर्व मनाउनुभन्दा धानबाली सुरक्षित रूपमा भित्राउने चिन्ता बढी छ ।
‘किसानहरूले चाडपर्वको वास्ता गरेका छैनन्, बरु घरमा नभएर खेतमै देखिन्छन्,’ अधिकारीले भने, ‘जुनसुकै बेला मौसमले पाकेको धानबालीलाई दु:ख दिन सक्छ ।’

उनका अनुसार, गत वर्ष यही समयमा अचानक झरी परेपछि खेतमा काटेर राखिएको धानमै उम्रिएको थियो । त्यही अनुभवका कारण यस वर्ष पनि किसानहरू मौसम बिग्रिने हो कि भन्ने त्रासमा छन् ।
धान काटिसकेपछि पनि पानी परेमा बालीमा क्षति पुग्ने जोखिम उत्तिकै रहन्छ । त्यसैले किसानहरू मौसम अनुकूल छँदै बाली भित्राउन हतारिएका छन् ।
स्थानीय कृषक तथा राजनीतिक अगुवा राजेन्द्र लामिछाने पनि किसानका लागि चाडपर्वभन्दा बालीनालीको चिन्ता ठूलो हुने बताउँछन् । उनका अनुसार, खेतीपातीमा निर्भर परिवारका लागि बालीमा हुने क्षति केवल आर्थिक नोक्सानीमा सीमित हुँदैन, त्यसले वर्षभरिको जीविकोपार्जनमै असर पार्छ ।
पाँच हजार रोपनीमा धानखेती
नुवाकोटको प्रमुख खेतीयोग्य क्षेत्रमध्ये लिखु गाउँपालिकास्थित थानसिङ फाँट ठूलो उर्वर फाँटका रूपमा चिनिन्छ । यहाँ करिब सात सय घरपरिवारले पाँच हजार रोपनीभन्दा बढी क्षेत्रफलमा धानखेती गर्दै आएका छन् ।

यहाँका किसानका लागि धान उत्पादन आम्दानीको स्रोत मात्र होइन, परिवारको दैनिक जीवन धान्ने आधार पनि हो । खाद्यान्नको जोहो गर्नेदेखि घरखर्च चलाउने र वर्षभरिका आर्थिक आवश्यकता पूरा गर्नेसम्मका लागि धानबालीको महत्त्व छ ।
स्थानीय कृषक तथा शिवपुरी गाउँपालिकाका स्वास्थ्य केन्द्र प्रमुख कल्याणभक्त पाण्डे किसानको यही बाध्यता औँल्याउँछन् ।
‘परिवार पाल्नदेखि आर्थिक गर्जो टार्न र वर्षभरि पाल्नुपर्ने यहाँको मुख्य आधार नै धानबाली हो,’ उनले भने, ‘चाडपर्व त आउँछ, जान्छ । तर, समयमा बाली नभिर्त्याउँदा वर्षभरि नै भोकै रहनुपर्ने हुन्छ ।’
उनको भनाइले खेतीपातीमा निर्भर किसानका लागि चाडपर्वको खुसीभन्दा उत्पादन सुरक्षित गर्नु किन प्राथमिकतामा पर्छ भन्ने स्पष्ट पार्छ । बाली भित्राउने समयमा हुने वर्षा, असिना वा अन्य प्रतिकूल मौसमले किसानको वर्षभरिको मेहनतमाथि जोखिम निम्त्याउन सक्छ ।

दशैँमा पनि खेतमै किसान
थानसिङ फाँटमा मात्र होइन, नुवाकोटका ढिकुरे, चौघडा, घोडघाड, बेलकोट, चाउथे, कुमरी, रालुका, सातबिसे, शिखरबेंसी, फेदीबेंसी, महादेवफाँट र सिर्खालीलगायतका खेतीयोग्य फाँटमा पनि किसानहरू धान भित्राउने चटारोमा छन् ।
दशैँको टीका, जमरा, भेटघाट र रमझमका बीच उनीहरूका लागि अहिलेको सबैभन्दा ठूलो प्राथमिकता पाकेको धान सुरक्षित रूपमा थन्क्याउनु हो । परिवारका सदस्यहरू खेतमै खटिएका छन् भने कतिपयले धान काट्न र झार्न खेताला लगाएका छन् ।
त्यसैले गाउँघरमा दशैँको रौनक छाइरहँदा नुवाकोटका खेतमा भने किसानहरूको आफ्नै चटारो छ । उनीहरूका लागि अहिले दशैँको रहरभन्दा पाकेको धान जोगाउने चिन्ता ठूलो छ ।

प्रतिक्रिया 4