+
+
Shares

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको जीवनसाथीको अभावबीच पनि उनको जीवनरागमा साधनाको उज्यालो निभेको छैन।

सापेक्ष सापेक्ष
२०८३ कात्तिक ३ गते ९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका मीरा राणाले काठमाडौं चण्डोलस्थित घरमा ७५ वर्षको उमेरमा पनि दैनिक चार घण्टा रियाज गर्ने र साधना जारी राखेकी छिन्।
  • उनले हालै ‘मीरा राणा क्यान्सर समाज’ स्थापना गरेर सम्मान र पुरस्कारका नगद रकम क्यान्सरपीडित तथा असहाय कलाकारको उपचारमा दिने बताएकी छिन्।
  • श्रीमान्को बरखीको काजक्रिया सकिएपछि यस वर्षको दशैं उनको श्रीमान्बिनाको पहिलो दशैं बनेको छ।

मेरो पाऊमा आज, मखमली चोलो, तिमी देउ या नदेउ लगायत सयौं गीतहरूकी गायिका मीरा राणालाई काठमाडौं चण्डोलस्थित उनकै घरमा भेट्न जाँदा उनी सामान्य दैनिकी सुरु गर्ने सुरमा थिइन् ।

सके त्यसदिनको उनको रियाजको दैनिकी सकिएको थियो । व्यस्त तालिकाबीच उनी हाम्रै प्रतीक्षामा थिइन् । एकाध घण्टाको कुराकानीमा हामीले उनको जीवनको उत्तरार्धमा उभिएर स्मृतिका केही पुराना पाना पल्टायौं ।

उमेरले जीवनको ७५औं वसन्तमा हिँडिरहँदा उनको स्वरको नीर क्षीर, साधनाको मर्म र साङ्गीतिक समर्पणमा आजसम्म कुनै धमिलोपन आएको छैन । ६ दशक लामो उनको साङ्गीतिक साधनाको एउटा अजस्र नदी अझै बगिरहेकै छ ।

आफ्नो सक्रिय उमेरमा फरक-फरक विधाका गीत गाएकी उनको हकमा सङ्गीत श्रव्य माध्यम वा पेसा हुँदै होइन । उनी अनवरत बगिरहेको जीवन राग र साधनाको अखण्ड दीप मान्छिन् । जीवनको यो सन्ध्या रागमा आइपुग्दा समेत उनको अनुहारमा त्यसैको एउटा शाश्वत सन्तुष्टि झल्कन्छ । अब त झन् उनमा न धन सम्पत्तिको तृष्णा छ, न त आधुनिक भाइरल दौडमा होडबाजीको ।

यसैले हुन सक्छ, यो उमेरमा आइपुग्दा देश विदेशका अनाम स्राेताहरूले दिएको निष्कलङ्क मायालाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो ढुकुटी मान्छिन् । जनस्तरबाट पाएको यो निःस्वार्थ सम्मान र सद्भाव वास्तविक पैसाभन्दा उनलाई खर्बौं गुणा बढी मूल्यवान् लाग्छ ।

हुन पनि हो, यही निष्काम साधना, सादगी र साधनाको उज्यालो नै मीरा राणाको आठ दशक छुने जीवन यात्राको अमर स्तम्भ हो ।

स्मृतिको दशैं

अतीतको पटाक्षेप गर्दा कमलपोखरीको कञ्चन वातावरणमा हुर्केकी मीराका बाल स्मृति अझै उत्तिकै ताजा छन् ।

उबेला घटस्थापनाको सुरवातसँगै स्कुल छुट्टी हुन्थ्यो । झन् मीनपचासको दुई महिनासम्म छुट्टी हुने भएकाले रौनकै बेग्लै हुन्थ्यो । स्कुल लाग्दा किताबहरूलाई काखीमा च्यापेर हिँड्दा शरीरलाई सन्तुलन र एक प्रकारको प्राकृतिक व्यायाम मिल्थ्यो । मनमा एउटा अलौकिक गर्व र आनन्द छाउँथ्यो ।

अब ती समय कहिल्यै फर्केर नआउनेमा उनलाई कताकता झट्का मिल्छ । भलै उनी तिनै स्मृतिमा बाँचिरहेकी छिन् ।

ती समयमा दशैं आउनुको पनि उनको हकमा आफ्नै बालसुलभ सर्त हुन्थ्यो ।

कमलपोखरीमा लाग्ने हाटबजारदेखि मान्छेहरूले म्याँ म्याँ गर्दै कराइरहेको खसी धपाएर लगेको देखेपछि मात्रै सानी मीरालाई दशैं आएको आभास हुन्थ्यो ।

त्यसपछि आफ्नो घरमा पनि त्यसैगरी खसी ल्याउन उनी बुबालाई जोड गरिरहन्थिन् । अनि घरमा उसैगरी खसी ल्याएपछि दशैं साँच्चै आएको लाग्ने त्यो निष्पाप बाल जिद्दी उनको स्मृतिको पानामा अझै कोरिएको छ ।

तर, त्यसैबिच १८ वर्षको कलिलो उमेरमा परिणय सूत्रमा बाँधिएपछि जीवनका ५७ वटा सुखदुःखका वसन्तहरू उनले आफ्ना जीवनसङ्गीसँगै बिताइन् ।

बाल्यकालमा बुबासँग खसी किन्ने जुन जिद्दी थियो, श्रीमान्‌ले पनि ५७ वर्षसम्म उनको त्यो बालसुलभ खुसीलाई कहिल्यै मर्न दिएनन् ।

हालै श्रीमान्‌को बरखीको काजक्रिया सकिएकाले यो दशैं उनका लागि श्रीमान्‌बिनाको पहिलो दशैं बन्दै छ । जीवनको यो मोडमा उभिएर छोराहरूले बुबाकै सँगालो बोकेर आमालाई केही दिन अगावै मात्र खसी रोज्न पठाएका थिए ।

समय, प्रविधि र परिवेश बदलिए पनि सांस्कृतिक मूल मर्म नबदलिएको उनको ठम्याइ छ ।

उनका अनुसार भगवतीको पूजाआराधना, नवरात्रको अनुष्ठान र संस्कारका शाश्वत मूलहरू कहिल्यै बदलिँदैनन् । र, यी सब कुराहरू मान्छेले खुसीकै लागि गर्ने गरेको उनी सुनाउँछन् ।

उनको हकमा सच्चा खुसी अरूको देखासिखीमा हुँदैन । त्यसलाई आफूभित्रै फुलाउनुपर्छ । आफू खुसी भएमात्र संसारलाई खुसीको सुवास बाँड्न सकिने उनको भनाइ छ ।

गोपाल योञ्जनसँगको दशैं

मीरा राणा आफ्नो साङ्गीतिक जीवनलाई निश्चित दिशा र उचाइ दिने मुख्य दुई व्यक्तिहरू रहेको सुनाउँछन् । एक जन्म दिने बुबा र मञ्चमा गायकी सिकाउने महान् सर्जक गोपाल योञ्जन ।

उनी योञ्जनलाई आफ्नै गुरुसमेत मान्छिन् । २०२६ सालताका उनले योञ्जनलाई पहिलो पटक भेटेकी थिइन् । त्यसयता योञ्जनसँग उनको सम्बन्ध गुरुचेलीको रूपमा स्थापित भयो ।

संयोग कस्तो छ भने, विजया दशमीको दिन नै मीरा राणाको जन्मदिन पनि पर्छ । त्यसैले प्रत्येक दशैंमा उनी गोपाल योञ्जनको पूजाकोठामा बलेका दीप र भगवान् बुद्धको प्रतिमा अगाडि बसेर गुरुको हातबाट रातो टीका र आशीर्वाद ग्रहण गर्ने गर्थिन् ।

सांगीतिक यात्राको दौरान मीराले रेडियो नेपालको सङ्गीत शाखामा ३५ वर्ष बिताइन् । नारायण गोपाल, गोपाल योञ्जन, नातिकाजी, शिव शंकर, कोइली देवी, तारा देवी, चन्द्र शर्मा लगायत दर्जनौं कलाकाहरूसँग सहकार्य गरिन् । तर, दशैं मनाउने गरी सम्बन्ध भने गोपाल योञ्जनसँग मात्र भयो ।

नयाँ पुस्तासँग अनुभूति

मीरा राणाको साङ्गीतिक दर्शनमा गीतकार, सङ्गीतकार र गायक/गायिका एउटै साङ्गीतिक रथका तीन पाङ्ग्रा हुन् । यी तीनै पक्षको समान मिहिनेत र समर्पणविना कालजयी सङ्गीत जन्मन सक्दैन ।

जीवनको यो मोडमा आइपुग्दा उनलाई व्यापार गर्नु छैन, न पैसा कमाउनु नै छ । आफूले सिर्जना गरेका धुनहरू नयाँ पुस्ताका प्रतिभाहरूलाई गाउन दिएर त्यसैको सुवासमा आनन्द लिने उनको सोच छ ।

त्यसैले उनले नवपुस्ताका कलाकारहरूसँग पनि सहकार्य गरिरहेकी छिन् । गायिका मेनुका पौडेल, प्रमोद खरेल, शिव परियार केही नामहरू हुन् । अर्कातिर, कलाकार नै देशको प्रमुख हुनुलाई पनि उनले सकारात्मक नजरले हेरिरहेकी छिन् ।

‘पहिले-पहिले गीत-सङ्गीत गाएर पनि पेट पाल्न सकिन्छ र ? भनेर कलाकारलाई होच्याउने समाजका अगाडि आज एउटा युवा इन्जिनियर र सङ्गीत बुझेको कलाकारले देश हाँकिरहेको छ । एउटा कलाकारका लागि यो जतिको खुसीको कुरा के हुन सक्छ ?,’ उत्साहमा उनी सुनाउँछिन् ।

अब राम्रो नतिजाका लागि उनलाई केही वर्ष पर्खनुपर्ने सुनाउँछिन् ।

निष्काम परोपकार

जीवनको यात्रा सधैं समथर रेखामा बहँदैन ।

६ वर्षअघि मीरा राणाको जीवनमा क्यान्सर जस्तो घातक रोगको हुरी आयो । लगत्तै कोरोना सङ्क्रमणले सतायो । चिकित्सकको निर्देशनमा लामो समय स्वरलाई पूर्ण विश्राम दिनुपर्दा उनको साङ्गीतिक मन छटपटाएको थियो । तर, अदम्य आत्मबल र सङ्गीतप्रतिको अटुट निष्ठाले उनलाई ढल्न दिएन । रोगलाई परास्त गर्दै उनी पुनः हारमोनियमको सुरसम्राटमा फर्किन सकिन् ।

आज ७५ वर्षको उमेरमा पनि उनको दैनिक जीवन साधनाको अनुशासित पाटो बनेको छ । बिहान ८ बजेदेखि १२ बजेसम्म निरन्तर ४ घण्टा उनी आफ्नै कोठामा हार्मोनियमका पर्दाहरूसँग संवाद गर्दै रियाज गर्छिन् ।

आफ्नो व्यक्तिगत सङ्घर्षलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै उनले हालै मात्र ‘मीरा राणा क्यान्सर समाज’ स्थापना गरेकी छिन् । उनले आफूले प्राप्त गर्ने सानाठूला सम्मान वा पुरस्कारका नगद रकमह आजकल यसै संस्थामा दिँदै आउन थालेकी छिन् ।

यसरी सङ्कलित रकमबाट क्यान्सरपीडित लोक, आधुनिक, शास्त्रीय र पप विधाका सङ्गीतकार, गायकगायिका तथा असहाय कलाकारहरूलाई औषधिउपचारमा सहयोग पुर्‍याउने उनले सुनाएकी छिन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?