News Summary
Generated by OK AI. Editorially reviewed.- लेखमा दशैँलाई सामाजिक सञ्जालमा देखावटी, तुलना र ईर्ष्याको माध्यम बनाउन नहुने भन्दै विवेकपूर्ण प्रयोग र मर्यादाको आग्रह गरिएको छ।
- दशैँमा पशुबलि, टीका, भोग र परम्पराको अर्थ नबुझी डर, दबाब वा देखासिकीमा चलन पालना गर्नु उचित नभएको लेखमा उल्लेख गरिएको छ।
- लेखमा घर जान नसक्ने, आर्थिक रूपमा कमजोर र महिलाले बेहोर्ने अदृश्य श्रमप्रति संवेदनशील हुनुपर्ने भन्दै पर्वको मर्म आत्मसात् गर्नुपर्ने भनिएको छ।
दशैँ नेपाली हिन्दू समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यो पर्व आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी सुरु हुन्छ र कोजाग्रत पूर्णिमासम्म मनाइन्छ। दशैँ पारिवारिक भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने अवसर पनि हो।
तर आज दशैँको मध्य समयमा आइपुग्दा सामाजिक सञ्जालमा देखिने केही प्रवृत्तिले प्रश्न उठाउँछन् —हामी पर्वको मर्म आत्मसात् गरिरहेका छौँ कि त्यसलाई प्रदर्शनको माध्यम बनाइरहेका छौँ? टीका, जमरा, नयाँ लुगा, पशुबलि, मासुका परिकार र पारिवारिक जमघटका तस्बिरमा कतै आत्मीयता देखिन्छ, त कतै देखावटी प्रतिस्पर्धा, सामाजिक तुलना र ईर्ष्याको झल्को।
सामाजिक सञ्जालमा खुसी बाँड्नु गलत होइन। प्रश्न यति हो हामी आफ्नै खुसीका लागि पर्व मनाइरहेका छौँ कि अरूलाई देखाउन? आफ्नो सामर्थ्यअनुसार रमाइरहेका छौँ कि अरूका तस्बिर हेरेर आफूलाई पनि त्यस्तै देखाउनुपर्ने दबाबमा छौँ ? सम्बन्ध जोड्ने प्रविधि कतै तुलना, प्रतिस्पर्धा र देखावटी प्रतिष्ठाको बजार त बनिरहेको छैन ?
सामाजिक सञ्जाल प्रयोगको चेतना
सामाजिक सञ्जालमा दशैँको खुसी बाँड्ने नाममा अराजक, अश्लील, उच्छृङ्खल र सामाजिक मर्यादाविपरीतका तस्बिर तथा सामग्री प्रस्तुत गर्ने प्रवृत्ति पनि देखिन्छ।
अरूको ध्यान खिच्न, चर्चा कमाउन वा धेरै प्रतिक्रिया बटुल्नकै लागि मर्यादाको सीमा नाघ्ने, असामाजिक व्यवहारलाई मनोरञ्जनका रूपमा प्रस्तुत गर्ने र त्यसैलाई लोकप्रियताको मापदण्ड पनि बनाइन्छ । यो कुनै व्यक्तिको पहिचान वा व्यक्तिगत स्वतन्त्रतामाथिको आक्रमण होइन; स्वतन्त्रताको नाममा विवेक, मर्यादा र सामाजिक जिम्मेवारीलाई बेवास्ता गर्ने प्रवृत्तिमाथिको आलोचना हो।
के धेरै हेरिनु, धेरै प्रतिक्रिया पाउनु वा चर्चामा आउनु नै कुनै सामग्री राम्रो भएको प्रमाण हो? अरूको ध्यान खिच्ने नाममा आफ्नै गरिमा र सामाजिक मर्यादाको ख्याल नगर्नु कस्तो चेतना हो? सामाजिक सञ्जालमा देखिने हरेक उच्छृङ्खल गतिविधिलाई मनोरञ्जनका नाममा सामान्यीकरण गर्दै जाने हो भने त्यसले हाम्रो सामाजिक सोच र व्यवहारमा कस्तो प्रभाव पार्ला?
यहाँ चेतनाको कमी भन्नाले औपचारिक शिक्षा नपाएको भन्ने होइन। आफ्नो व्यवहारको उद्देश्य, त्यसको प्रभाव र सामाजिक जिम्मेवारीबारे सोच्न नसक्नु पनि चेतनाकै प्रश्न हो। परम्पराको अर्थ नबुझी डरमा चलन पछ्याउनु, अरूको आर्थिक अवस्थाको ख्याल नगरी सम्पन्नताको प्रदर्शन गर्नु, सम्बन्धमा आत्मीयताभन्दा औपचारिकतालाई ठूलो ठान्नु र लोकप्रियताका लागि सामाजिक मर्यादाको बेवास्ता गर्नु यसका फरक-फरक उदाहरण हुन्।
यस्तो चेतना कसरी बढाउने त ? परिवारमा बालबालिकालाई सही-गलतको अर्थ बुझाउने, विद्यालयमा आलोचनात्मक सोच र डिजिटल साक्षरतालाई महत्त्व दिने, सञ्चारमाध्यमले जिम्मेवार सामग्रीलाई प्रोत्साहन गर्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले आफूले सार्वजनिक गर्ने सामग्रीको उद्देश्य तथा प्रभावबारे सोच्ने अभ्यास आवश्यक छ।
चेतना गाली गरेर होइन, प्रश्न गर्न सिकाएर; अरूलाई होच्याएर होइन, विवेक र जिम्मेवारी विकास गरेर बढ्छ। प्रविधि चलाउन जान्नु मात्र पर्याप्त छैन, त्यसको प्रयोग कहिले, किन र कसरी गर्ने भन्ने विवेक पनि आवश्यक छ।
परम्परा, विधिविधान र विवेक
दशैँमा पशु बलिगर्नु, मासुका परिकार बनाउनु र तिनको तस्बिर सार्वजनिक गर्नु आफैँमा गलत भन्न मिल्दैन। तर परम्पराको नाममा गरिने व्यवहारको अर्थ र औचित्यबारे सोच्नु आवश्यक छ। परिवार र समुदायअनुसार कतै निश्चित बारमा काटमार नगर्ने, कतै तोकिएको तिथिमा विशेष पूजा गर्ने, निश्चित सामग्री जुटाउने र विधिपूर्वक भोग चढाउने चलन छन्।
विधि नमिले अनिष्ट हुन्छ, सामग्री पुगेन भने पूजा अधुरो हुन्छ वा चलन उल्लङ्घन गरे अशुभ हुन्छ भन्ने डर पनि कतिपय अभ्याससँग जोडिएको हुन्छ।
आफ्नो आस्थाअनुसार पूजा गर्नु र परम्परा मान्नु व्यक्तिको अधिकार हो। तर विधिविधानको अर्थ नबुझी डर, दबाब वा देखासिकीमा पालना गर्नु कति विवेकपूर्ण हो? पूजा सामग्री जुटाउन नसक्ने आर्थिक अवस्था कमजोर व्यक्तिले आफूलाई दोषी ठान्नुपर्ने वा सामान्य त्रुटिले अनिष्ट निम्त्याउँछ भनेर त्रसित हुनुपर्ने किन? आस्था मानसिक शान्तिको आधार बन्नुपर्ने हो कि अनावश्यक भय र आर्थिक बोझको?
जमरा किन राखिन्छ? टीका किन लगाइन्छ? भोगको सांस्कृतिक अर्थ के हो? यस्ता प्रश्न गर्नु परम्पराको विरोध होइन। परम्परा मान्नु र त्यसको अर्थ नबुझी डर वा दबाबमा दोहोर्याउनु एउटै कुरा होइन। परम्पराको मर्म बुझ्नु भनेको सबै चलन त्याग्नु होइन, तिनलाई विवेकपूर्वक अभ्यास गर्नु हो।
टीकाको क्रम, आशीर्वाद र सम्बन्धको वास्तविकता
टीका लगाउने क्रममा पनि सोच्नुपर्ने पक्ष छन्। दुई-तीन वर्षको बच्चा टीका लगाउन आतुर हुन्छ, तर ठूलाले पहिला लगाउनुपर्छ भन्ने मान्यताका कारण उसलाई पर्खाइन्छ। बच्चा रुन्छ, कराउँछ, तैपनि परम्परागत क्रम बदल्न तयार हुँदैनौँ। आखिर, क्रम मिलाउनु ठूलो कुरा हो कि बच्चाको मन बुझ्नु? उसलाई पहिला टीका लगाइदिँदैमा ठूलाको मान घट्छ र? परम्पराको सम्मान गर्दा बालबालिकाको भावना किन बिर्सने?
टीका र आशीर्वादको मर्म पनि बुझ्न जरुरी छ। मनमा रिस, कुण्ठा र वैरभाव पालेर निधारमा टीका लगाइदिँदैमा साँचो आशीर्वाद मिल्छ र? मनमा शुभेच्छा नभई ओठले आशीर्वादका शब्द दोहोर्याउनुको अर्थ के?
अझ, मनमा सराप राखेर निधारमा टीका लगाइदिँदैमा त्यसलाई आशीर्वाद मान्ने कि मनमा सद्भाव राखेर टीका नलगाए पनि शुभेच्छा दिने व्यक्तिको भावनालाई सम्मान गर्ने?
आशीर्वाद र सरापको अर्थ निधारको अक्षतामा हुन्छ कि मनको भावनामा? व्यवहारमा दुःख दिने, अपमान गर्ने र आवश्यक पर्दा साथ नदिने तर पर्वमा टीका लगाइदिएपछि सबै कर्तव्य पूरा भएको ठान्ने प्रवृत्तिले सम्बन्धमा आत्मीयता थप्छ कि केवल औपचारिकता पूरा गर्छ?
श्रीमान्-श्रीमतीबीचको टीका र आशीर्वादको औपचारिकतामाथि पनि विचार गर्न सकिन्छ। जीवनका सुखदुःखमा सँगै उभिने, एकअर्काको सुख, स्वास्थ्य र दीर्घायुको कामना गर्ने जीवनसाथीबीच आशीर्वादको औपचारिकता किन आवश्यक पर्यो?
एकअर्काप्रतिको सम्मान, सहयोग र समर्पण नै आशीर्वादको जीवन्त रूप होइन र? प्रश्न टीका लगाउनु गलत हो भन्ने होइन। आत्मीय सम्बन्धलाई पनि परम्परागत भूमिका र औपचारिकताको घेराभित्र राख्नैपर्ने हो कि होइन भन्ने हो। सम्बन्धको गहिराइ निधारमा लगाइएको टीकाले होइन, जीवनभर निभाइएको साथले मापन हुनुपर्ने होइन र ?
त्यस्तै, कसैले टीका लगाउन चाहँदैन भने इच्छाविपरीत लगाइदिनु कस्तो संस्कार हो? आशीर्वाद आत्मीयताको विषय हो भने त्यसमा इच्छा र सम्मान पनि आवश्यक हुन्छ। जुठो-सुतक, मृत्यु संस्कार, तिथिमिति र खानपानसम्बन्धी चलन समुदायअनुसार फरक हुन सक्छन्।
आफ्नो परम्परा मान्नु स्वाभाविक हो, तर त्यसलाई अरूमाथि थोपर्नु वा फरक अभ्यास गर्नेलाई हेप्नु उचित होइन। परम्परा समाजलाई जोड्ने माध्यम हुनुपर्छ, एकअर्कालाई नाप्ने वा मन दुखाउने हतियार होइन।
सामाजिक सञ्जाल : खुसी कि प्रतिष्ठाको प्रतिस्पर्धा?
दशैँमा नयाँ लुगा, महँगा परिकार, घुमघाम र पारिवारिक जमघटका तस्बिर राख्नु सामान्य हो। तर कसको लुगा राम्रो, कसको भोज भव्य र कसको दशैँ बढी रमाइलो देखियो भन्ने तुलना सुरु भएपछि पर्व पनि प्रतिस्पर्धाको विषय बन्न पुग्छ। आफ्नो खुसी बाँड्ने माध्यम कतै अरूभन्दा आफू सम्पन्न, सुखी वा प्रतिष्ठित देखिने होडमा त बदलिएको छैन?
आफ्नो गोजीको अवस्था बिर्सेर अरूको टाइमलाइनसँग प्रतिस्पर्धा गर्नु समृद्धिको प्रमाण होइन। ऋण काढेर, घरखर्च बिगारेर वा आवश्यक दायित्व पन्छाएर अरूलाई देखाउनकै लागि पर्व मनाउनु विवेकपूर्ण व्यवहार होइन। आफ्नो आम्दानी र जिम्मेवारीअनुसार खर्च गर्नु नै आर्थिक समझदारी हो।
सामाजिक सञ्जालमा देखिने चमकधमकले सबैको वास्तविकता देखाउँदैन। कसैले नयाँ लुगा र मीठा परिकार देखाउँदा अर्को व्यक्ति दुई छाक टार्ने चिन्तामा हुन सक्छ; कसैले पारिवारिक जमघटको तस्बिर राख्दा अर्कोले घर जानसमेत खर्च जुटाउन नसकेको हुन सक्छ। यसको अर्थ खुसी हुनेहरूले खुसी लुकाउनुपर्छ भन्ने होइन। प्रश्न यति हो आफ्नो खुसी बाँडिरहँदा अरूको परिस्थिति बुझ्ने संवेदनशीलता पनि राख्न सकिन्छ कि सकिँदैन?
पारिवारिक मिलन र अदृश्य श्रम
दशैँमा आफन्त भेटिनु र परिवारसँग समय बिताउनु पर्वको सुन्दर पक्ष हो। तर परिवारको अर्थ एउटै छानामुनि जम्मा हुनु वा सामूहिक तस्बिर खिच्नु मात्र होइन।
कसैको घरमा दुई-तीन जना बसिरहेका हुन्छन्, दशैँमा अचानक पन्ध्र-सोह्र जना पुग्छन्। घरको ठाउँ, आर्थिक अवस्था, समय र बस्ने-खाने व्यवस्थाबारे सोचिएको छ कि छैन? आफन्त हुनुको अर्थ अरूको समय, श्रम र निजी जीवनमाथि स्वतः अधिकार पाउनु होइन। त्यस्तै, सामूहिक तस्बिरमा परिवार नै सबैथोक हो लेख्दैमा पुराना मनमुटाव र अपमान मेटिँदैनन्। सम्बन्धको वास्तविकता व्यवहारमा देखिन्छ, क्याप्सनमा मात्र होइन।
पर्वको खुसीका पछाडि लुकेको अदृश्य श्रमलाई पनि बिर्सन मिल्दैन। घर सफा गर्ने, खाना पकाउने, पूजा सामग्री जुटाउने, पाहुनाको स्वागत गर्ने र भाँडा माझ्नेसम्मका काममा प्रायः महिलाको ठूलो श्रम खर्च हुन्छ। सबै रमाइरहँदा एउटी महिला बिहानदेखि रातिसम्म काममै व्यस्त हुन सक्छिन्।
घरको काम महिलाकै जिम्मेवारी हो भन्ने मान्यतामा अडिएर सबैले उत्सव मनाउनु कति न्यायपूर्ण हुन्छ? पर्व सबैको हो भने त्यसको तयारी र जिम्मेवारी पनि सबैले बाँड्नुपर्छ। अरूका लागि पर्व बनाइदिने महिलाको आफ्नै पर्व कसले बनाइदिन्छ ?
घर जान नसक्नेको दशैँ र आर्थिक बाध्यता
सबैलाई दशैँमा बिदा, समय र खर्चको सुविधा हुँदैन। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, यातायातकर्मी, सञ्चारकर्मी, उद्योगका श्रमिक र दैनिक ज्यालादारीमा निर्भर मानिसका लागि पर्व सहज नहुन सक्छ। कसैले सेवामा खटिनुपर्छ, कसैले काम नगरे आम्दानी गुमाउँछ, कसैले चाहेर पनि घर जान पाउँदैन। उनीहरूको बाध्यता नबुझी पर्व नमनाएको भनेर प्रश्न गर्नु संवेदनहीनता हो।
कल्पना गरौँ, काठमाडौंमा मासिक अठार-बीस हजार रुपैयाँ कमाउने एउटा व्यक्ति छ। कोठाभाडा, खाना, यातायात र बच्चाको आवश्यकता धान्नै मुस्किल छ। उसको परिवार पूर्व वा पश्चिमका पहाडी जिल्लामा छ। दशैँमा घर गएर आमाबुबाको हातबाट टीका लगाउने, छोराछोरीलाई हजुरबा-हजुरआमासँग भेटाउने र परिवारसँग समय बिताउने रहर उसलाई पनि छ। तर घर जाने–आउने खर्च जुटाउन नसक्दा त्यो रहर अधुरै रहन्छ।
सामाजिक सञ्जालमा अरूका नयाँ लुगा र पारिवारिक जमघटका तस्बिर देख्दा उसलाई पनि परिवारसँगै हुने इच्छा जाग्छ होला। भिडियो कलले अनुहार र आवाज जोड्न सक्छ, तर आमाबुबाको हातबाट टीका लगाउँदाको स्पर्श वा बच्चालाई काखमा राख्दाको आत्मीयता दिन सक्दैन।
एउटाले दशैँको तस्बिर पोस्ट गर्छ, अर्कोले त्यही तस्बिर हेरेर घर जान नसकेको पीडा लुकाउँछ। यो ईर्ष्याको विषय मात्र होइन। आर्थिक असमानता र अवसरको भिन्नताको पनि चित्र हो। घर जान नसक्ने वा नयाँ लुगा किन्न नसक्ने व्यक्तिको पर्वप्रतिको माया कम हुँदैन। उसले दशैँ मनाउन नचाहेको होइन, मनाउन सक्ने परिस्थिति नपाएको हो। उसको बाध्यता बुझ्नु र त्यसलाई सम्मान गर्नु नै मानवीयता हो।
पर्वको मर्म र हाम्रो सामाजिक चेतना
सामाजिक सञ्जाल आफैँमा समस्या होइन । त्यसको प्रयोग गर्ने हाम्रो सोच र चेतना महत्त्वपूर्ण हुन्। प्रविधिले टाढिएका परिवारलाई जोड्न र खुसी बाँड्न सक्छ, तर विवेकबिनाको प्रयोगले त्यसलाई उच्छृङ्खल प्रदर्शन, देखावटी प्रतिष्ठा, तुलना र ईर्ष्याको मञ्च पनि बनाउन सक्छ। त्यसैगरी, परम्परा आफैँमा समस्या होइन। त्यसको अर्थ नबुझी बाहिरी विधि पूरा गर्नमै सीमित हुनु, डर र दबाबमा चलन पछ्याउनु वा आफ्नै मान्यतालाई अरूमाथि थोपर्नु समस्या हो।
चेतनाको स्तर बढाउन व्यक्तिले आफ्नो व्यवहारमाथि प्रश्न गर्न सिक्नुपर्छ । परिवारले फरक विचार र व्यक्तिगत इच्छाको सम्मान गर्नुपर्छ । विद्यालयले आलोचनात्मक सोच र डिजिटल साक्षरता विकास गर्नुपर्छ । अनि सामाजिक सञ्जाल प्रयोगकर्ताले लोकप्रियताको लोभमा मर्यादा र जिम्मेवारी बिर्सनु हुँदैन। सामाजिक चेतना भनेको अरूलाई उपदेश दिनु मात्र होइन, आफ्नै व्यवहारको कमजोरी पहिचान गरेर सुधार गर्न सक्नु पनि हो।
दशैँमा टीका लगाउन पाउनु खुसी हो । तर टीका लगाउन नचाहनेको निर्णय सम्मान गर्नु पनि संस्कार हो। परिवारसँग बस्न पाउनु सौभाग्य हो । तर परिवार भेट्न नसक्नेको पीडा बुझ्नु सामाजिक चेतना हो। आफ्नो खुसी बाँड्नु राम्रो हो, तर त्यससँगै अरूको अवस्था देख्न सक्नु अझ राम्रो हो।
आखिर, दशैँमा घर पुग्न नसक्ने मानिसको निधारमा टीका नलाग्दैमा उसको दशैँ हराएको हो र? कि उसको बाध्यता बुझ्न नसक्ने हाम्रो सामाजिक चेतनामा कतै केही हराएको छ?
प्रतिक्रिया 4