+
+
Shares

दशैंको ८ दिन बिदामा अस्पतालले कसरी दिनेछन् सेवा ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ असोज ३१ गते ८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैँ बिदामा ८ दिन ओपीडी बन्द रहे पनि आकस्मिक सेवा, आईसीयू, डायलाइसिस र वार्ड सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ।
  • वीर अस्पतालले दसैँमा ओपीडी र नियमित शल्यक्रिया बन्द गरी केही वार्ड मर्ज गरेर जनशक्ति व्यवस्थापन गर्ने भएको छ।
  • कान्ति बाल अस्पतालले ओपीडी बन्द गरे पनि आकस्मिक, अन्तरङ्ग, शल्यक्रिया र आईसीयू सेवा नियमित सञ्चालन गर्ने जनाएको छ।

३० असोज, काठमाडौं । दशैंको रौनकले सहरदेखि गाउँसम्म छोइसकेको छ । कोही घर फर्किने तयारीमा छन् त कोही आफन्त र परिवारजनसँग भेटघाट गरी चाडपर्व मनाउने योजनामा छन् । बजारमा किनमेल गर्ने र यात्रामा निस्किनेहरूको चहलपहल पनि बढ्दो छ । तर, चाडपर्वको यो उल्लासबीच स्वास्थ्यकर्मीका लागि भने जिम्मेवारी र सेवाको निरन्तरता उत्तिकै महत्त्वपूर्ण छ । सर्वसाधारण दसैं मनाइरहँदा उनीहरू बिरामीको उपचार र सेवामा खटिनुपर्नेछ ।

यस वर्ष सरकारले ३१ असोज (फूलपाती) देखि द्धादशीसम्म सार्वजानिक बिदा छ । तर शनिबार र आइतबार पनि नियमित बिदा परेकाले ८ दिन ओपीडी सेवा भने बन्द रहनेछ । सरकारी कार्यालयसँगै अधिकांश अस्पतालका नियमित सेवा पनि प्रभावित हुने देखिएको छ । विशेषगरी, लामो बिदाका कारण अस्पतालमा उपलब्ध हुने नियमित स्वास्थ्य सेवामा कमी आउन सक्ने भएकाले बिरामीले सहज रूपमा उपचार पाउने विषय चुनौतीपूर्ण बन्न सक्छ ।

अधिकांश अस्पतालले ८ दिनसम्म बहिरंग विभाग (ओपीडी) सेवा बन्द गर्ने तयारी गरेका छन् । नियमित स्वास्थ्य परीक्षण, चिकित्सकसँग परामर्श तथा फलोअपका लागि अस्पताल जाने बिरामीले बिदा सकिएसम्म कुर्नुपर्ने हुन सक्छ । यसले गर्दा अत्यावश्यक उपचारका लागि अस्पताल पुग्ने बिरामीको चाप आकस्मिक कक्षमा बढ्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि, सार्वजनिक बिदाका कारण अस्पतालको सम्पूर्ण सेवा बन्द हुने छैन । आकस्मिक कक्षमा आउने बिरामीलाई उपचारको व्यवस्था मिलाउनुका साथै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीको हेरचाह पनि नियमित रूपमा जारी रहनेछ । त्यसका लागि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई आलोपालो ड्युटीमा खटाउने व्यवस्था गरिएको छ ।

दशैंमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन अस्पतालहरूले पनि आवश्यक तयारी गरेका छन् । आकस्मिक उपचारलाई प्राथमिकतामा राख्दै जनशक्ति व्यवस्थापन, बिरामीको चापअनुसार सेवा सञ्चालन र वार्डमा उपचाररत बिरामीको नियमित हेरचाहमा ध्यान दिइएको छ । चाडपर्वका बेला हुन सक्ने दुर्घटना, खानपानमा हुने गडबडी तथा अन्य आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै अस्पतालहरूले सेवा प्रवाहलाई निरन्तरता दिने तयारी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन हुँदैन । तर, आकस्मिक सेवा भने चौबीसै घण्टा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिइएको छ । अस्पतालको आन्तरिक व्यवस्थापन र निर्णयअनुसार केही अस्पतालले बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्न सक्नेछन् ।

दसैँका वेला अत्यावश्यक अवस्थाका बिरामीको उपचार नरोक्न, एम्बुलेन्स र आकस्मिक उपचार सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयले संघीय अस्पताल तथा सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइसकेको छ ।

‘सार्वजनिक बिदामा ओपीडी सेवा सामान्यतया सञ्चालन हुँदैन । तर आकस्मिक सेवा मार्फत आवश्यक प्रबन्ध मिलाइएको छ,’ अधिकारीले भने, ‘दसैँको बहानामा बिरामीको उपचार रोक्ने अस्पताललाई कारबाही हुन्छ ।’

वीर अस्पतालले आकस्मिक, सघन उपचार कक्ष (आईसीयू) र डायलाइसिसलगायतका सेवा नियमित सञ्चालन गर्ने भएको छ । अस्पतालले दसैँका बेला बिरामीको चाप र जनशक्ति व्यवस्थापनलाई ध्यानमा राख्दै केही वार्डलाई मर्ज गरेर सञ्चालन गर्ने तयारी गरेको छ ।

वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार दसैँमा बहिरंग सेवा (ओपीडी) र नियमित शल्यक्रिया (रुटिन ओटी) मात्रै बन्द हुनेछन्। अन्य सेवा भने नियमित सञ्चालन हुनेछन् ।

निजी अस्पतालका सेवा प्रभावित हुने र नियमित शल्यक्रिया कम हुने भएकाले वीर अस्पतालका केही वार्डमा बिरामीको चाप घट्ने अनुमान गरिएको छ । सोहीअनुसार अस्पतालले शल्यक्रिया हुने वार्डहरूलाई एकीकृत गरेर जनशक्ति व्यवस्थापन गर्न लागेको निर्देशक नेपालले बताए ।

उनका अनुसार सर्जरी, नाक–कान–घाँटी (ईएनटी), कार्डियोभास्कुलर र ग्यास्ट्रो सर्जरीलगायतका वार्डलाई मर्ज गरेर सञ्चालन गरिनेछ । नियमित शल्यक्रिया नहुने समयमा बिरामीको चाप कम हुने भएकाले वार्ड मर्ज गर्दा सीमित जनशक्तिबाट पनि सेवा सञ्चालन गर्न सहज हुने अस्पतालको अपेक्षा छ ।

‘बिरामीको चाप कम हुने वार्डलाई मर्ज गरेर जनशक्ति व्यवस्थापन गरेका छौँ,’ नेपालले भने, ‘वार्ड र आईसीयूमा आवश्यक जनशक्ति परिचालन गर्ने गरी आन्तरिक व्यवस्थापन मिलाएका छौँ।’

दसैँभरि सेवा प्रभावित नहोस् भनेर चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको ड्युटी तालिका पनि तयार पारिसकिएको अस्पतालले जनाएको छ । जनशक्तिलाई पालोअनुसार परिचालन गरेर आकस्मिकसहितका अत्यावश्यक सेवा निरन्तर सञ्चालन गरिने निर्देशक नेपालले बताए ।

त्यस्तै कान्ति बाल अस्पतालले बहिरङ्ग (ओपीडी) सेवा बन्द गरे पनि आकस्मिक, अन्तरङ्ग, शल्यक्रिया तथा सघन उपचार कक्ष (आईसीयू) लगायतका सेवा नियमित सञ्चालन गर्ने भएको छ ।

अस्पतालका निर्देशक डा. रामहरि चापागाईंका अनुसार बिरामीको उपचारमा अवरोध नहोस् भनेर विशेषज्ञ चिकित्सकसहितको जनशक्ति व्यवस्थापन गरिएको छ ।

चापागाईंका अनुसार अस्पतालको आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन हुनेछ । आकस्मिक कक्षमा आउने बिरामीको उपचारका लागि हरेक दिन विशेषज्ञ चिकित्सकलाई पालो मिलाएर खटाइनेछ ।

त्यस्तै, अस्पतालका वार्डहरू, आईसीयू र आकस्मिक शल्यक्रियाको सेवा पनि नियमित रहनेछ । आईसीयू तथा अन्य वार्डमा भर्ना भएका बिरामीको अवस्था हेर्नुपर्ने र आवश्यक उपचार गर्नुपर्ने भएकाले विशेषज्ञ चिकित्सकलाई पालोअनुसार जिम्मेवारी दिइएको डा. चापागाईंले बताए ।

चापागाईं अनुसार दशैंमा ओपीडी सेवा मात्र बन्द हुनेछ । ओपीडीबाट उपचार लिँदै आएका बिरामीले आवश्यक परे आकस्मिक कक्षबाट सेवा लिन सक्नेछन् ।

दसैँमा खानपानका कारण हुने स्वास्थ्य समस्या, सवारी दुर्घटनामा घाइते हुने तथा अन्य गम्भीर स्वास्थ्य समस्या भएका बिरामीको उपचार प्रभावित नहोस् भनेर स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

नियमित उपचार गराइरहेका, फलोअपमा आउनुपर्ने तथा जोखिमपूर्ण अवस्थामा रहेका बिरामीको उपचारलाई पनि निरन्तरता दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

विशेषगरी डायलाइसिस गराइरहेका बिरामीलाई पूर्वनिर्धारित तालिकाअनुसार सेवा उपलब्ध गराउनुपर्नेछ । सार्वजनिक बिदाको बहानामा गम्भीर बिरामीको उपचार नरोक्न अस्पतालहरूलाई निर्देशन दिइएको प्रवक्ता अधिकारीले बताए ।

दसैँमा सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले एम्बुलेन्स सेवालाई पनि तयारी अवस्थामा राख्ने जनाएको छ । आकस्मिक अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी एम्बुलेन्सको व्यवस्था मिलाइएको अधिकारीको भनाइ छ ।

डा. अधिकारीका अनुसार एम्बुलेन्सलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यस्तो प्रणालीमा १०२ नम्बरबाट सम्पर्क गरी एम्बुलेन्स सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा यो व्यवस्था लागू गरिएको र बाँकी स्थानमा पनि विस्तार गर्ने मन्त्रालयको योजना छ ।

‘एम्बुलेन्स सेवा प्रभावकारी बनाउन मन्त्रालयले निगरानी गरिरहेको छ । १०२ प्रणालीमार्फत सञ्चालन हुने एम्बुलेन्सको अवस्थालाई पनि अनुगमन गरिरहेका छौँ,’ अधिकारीले भने ।

मन्त्रालयले अस्पतालमा उपचार सेवा लिन समस्या भए सम्बन्धित अस्पतालको सूचना पाटी वा वेबसाइटमा राखिएको सम्पर्क नम्बरमार्फत सहजीकरण लिन सकिने जनाएको छ । अस्पतालहरूले ड्युटीमा रहेका वरिष्ठ चिकित्सक तथा जिम्मेवार कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ ।

मन्त्रालयले दसैँका समयमा आकस्मिक उपचार, वार्ड सेवा र अन्य अत्यावश्यक स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन भए–नभएको अनुगमन गर्ने जनाएको छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?