Comments Add Comment

के श्रीमानबाट घरेलु हिंसा भोगिरहेकी थिइन् उषा खड्गी ?

जिपी भन्छन्- सबैलाई स्वतन्त्र बाँच्ने अधिकार हुन्छ

२ फागुन, काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद (जिपी) तिमिल्सिनाको जोडीलाई नेपाली ‘ग्ल्यामर वर्ल्ड’ मै उदाहरणीय मानिन्थ्यो । हरेक वर्षको ‘भ्यालेन्टाइन डे’ मा मिडियाले उनीहरुको खोजी गर्थे ।

जिपी र उषाले आफूहरुबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन अन्तरवार्ताहरु दिएका छन् । धेरैले सोचेका पनि थिएनन्, उनीहरुको सम्बन्धएक दिन दुर्घटनामा पर्ने छ । त्यसैले करिब महिना अगाडि उनीहरुको डिभोर्सको हल्ला चल्दा कमैले पत्याएका थिए ।

तर, हिजो फेसबुकमा उषाले स्टाटस लेख्दै आफूहरु अलग हुन गइरहेको जनाउ दिइन् । उनले लेखेकी छन्- यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक दुर्व्यवहार सहनुर्छ भने यसलाई निरन्तरता दिने कुनै आधार छैन । अब म भन्छु – नो ।’

उनले अब आफ्नो र सन्तानको हकका लागि लड्ने उल्लेख गरेकी छन् । समाचारसँगै उनले भिडियो अन्तरवार्ताको क्लीप पनि समावेश गरेकी थिइन् । केही सेकेन्डको छोटो क्लीपमा उनी धरधरी रोएकी छन्, तर सन्दर्भ खुल्दैन । अहिले उषाले आफ्नो स्टाटस र उक्त क्लीप फेसबुकबाट हटाइसकेकी छन् ।

हामीले यस विषयमा विस्तृतमा बुझ्न खोज्दा उषाको फोन उठेन । एसएमएसमा उनले आफू केही नबोल्ने बताइन् ।

जिपीले चाहिँ फोन उठाए । उषाको स्टाटसको सन्दर्भ उप्काउँदा उनले भने, ‘यसमा मलाई कुनै प्रतिक्रिया दिनु छैन । उहाँले के लेख्नुभएको छ, उहाँलाई नै सोध्नुहोला । यो विषयमा म नबोलेकै जाति हुन्छ ।’

डिभोर्स भइसकेको हो कि प्रक्रियामा हो भन्ने प्रश्नमा जिपीको जवाफ थियो, ‘त्यो पनि उहाँलाई सोध्नुहोला । यो विषयलाई मैले धेरै पछाडि छोडिसकेँ । सबै मान्छेको आआफ्नो लाइफ हुन्छ । सबैलाई स्वतन्त्र बाँच्ने अधिकार छ ।’

०००

१९ वर्ष अगाडि एनटिभी प्लस कार्यक्रममा उषा र जिपीको भेट भएको थियो । उक्त कार्यक्रममा सहकार्य गर्दा उनीहरु प्रेममा परेका थिए । भ्यालेन्टाइन डेकै दिनमा जिपीले उषालाई औपचारिक प्रेम प्रस्ताव राखेका थिए ।

सन् २००० मा उषा मिस नेपाल बनेकी थिइन् । २००३ मा उनीहरुले विवाह गरे । उनीहरुका एक छोरी र एक छोरा छन् । छोरी १६ वर्षकी छन् भने छोरा ६ वर्षका ।

कलाकारिता क्षेत्रमै क्रियाशील छन् दुवै जोडी । जिपीको आफ्नो प्रोडक्सन हाउस छ भने फेसन डिजाइनिङमा स्नातक गरेकी उषाले बुटिक चलाइरहेकी छन् । उषाले थुप्रै विज्ञापन र म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । उनीहरुको जडीबुटीमा आठ आना जग्गामा फैलिएको घर छ । सो घर उनीहरुले ६ वर्ष अगाडि बनाएका थिए ।

राम्रैसँग जीवनको रथ हाँकिरहेका उनीहरुले एकाएक अप्रिय निर्णय लिँदा शुभचिन्तकहरु निराश बनेका छन् । डिभोर्सका कागजी प्रक्रिया र सम्पत्ति बाँडफाडको विषय टुंगिन बाँकी रहेको उषाको स्टाटसबाट झल्किन्छ ।

ग्ल्यामर संसारमा प्रेम-विछोड, विवाह-डिभोर्स निकै सामान्य घटना मानिन्छन् । नेपालका सेलिब्रिटीहरुमा त डिभोर्सको सिलसिला प्रकोपकै रुपमा फैलिएको छ ।

उषाले आफू श्रीमानबाट ‘शारीरिक र मानसिकरुपमा यातना भोगिरहेको’ बताएकाले यो घटनामा फौजदारी कानून आकर्षित हुन सक्छ । महिलामाथि घरेलु हिंसालाई आजको समाजले गम्भीर रुपमा लिन्छ । यदि चर्चित सेलिब्रिटीले नै घरेलु हिंसा भोग्नुपर्छ भने त्यसमा सबैको ध्यान आकृष्ट हुने नै भयो । तर, सँगै बसुञ्जेल एकअर्काको प्रशंसा गरेर नथाक्ने र छुट्टिएपछि सत्तोसराप गर्ने प्रवृत्तिलाई पनि नजरअन्दाज गर्न सकिँदैन ।

केही महिना अगाडि नायिका शिल्पा पोखरेल निर्माता छवि ओझासँग अलग भइन् । उनले पनि छविबाट आफूले हिंसा खेप्नुपरेको दाबी गरेकी छन् । उनीहरुको डिभोर्सको मुद्दा अझै टुंगिएको छैन । उषाले जिपीले पनि त्यही बाटो रोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment