Comments Add Comment

प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्यमा शंकर गिरी

३ चैत, बुटवल । प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्य पदमा शंकर गिरी चयन भएका छन् । नेपाली कांग्रेसको सिफारिसमा गिरी प्रदेशसभा सदस्य नियुक्त भएका हुन् ।

निर्वाचन आयोगको बैठकले गिरीलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ । विपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो । गिरीलाई सोही रिक्त पदमा नियुक्त भएा हुन् ।

निर्वाचन आयोगले गिरीलाई आइतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘आयोगबाट निर्णय भएको छ, राजपत्रमा प्रकाशित गर्ने र प्रदेश प्रमुखलाई लेखेर पठाउने काम हामी गर्छाैं,’ उनले भने ।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेश सभालाई जानकारी दिने र सभामुखबाट सपथग्रहण लिएपछि गिरीले प्रदेशसभामा प्रवेश पाउनेछन् ।

शंकरको राजनीतिक यात्रा

करिब ५ दशकदेखि राजनीतिमा होमिएका गिरी दाङ कांग्रेसका पुराना र सक्रिय नेता हुन् । उनलाइ वीपीको समाजवाद र दर्शनका अनुयायी, कुशल राजनीतिज्ञ भनेरसमेत चिनिन्छ ।

उनले २०२७ साल पुस १ गते १६ वर्षको कलिलो उमेरमा तत्कालीन राप्ती अञ्चलाधीश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीति सुरु गरेका थिए ।

गिरी कांग्रेसको सशस्त्र संघर्षको क्रममा २०३१ सालमा पेस्तोल काण्डमा नेपालगन्जमा होस् या २०३८ सालको आमनिर्वाचन वहिष्कार गर्दा या २०४२ सालको सत्याग्रहका बेला उनी दाङमा जेल परेका थिए ।

नेपालगन्जदेखि दाङमा पटकपटक गरी गिरफ्तार, हिरासत तथा नजरवन्दमा परेका गिरी पटक पटक पार्टीको आन्तरिक गुटबन्दीको शिकार भएका थिए ।

वीपी कोइरालाद्वारा अनुमोदित २०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको सचिव भएका गिरी २०४० सालमै राप्ती अञ्चल केन्द्रीय सम्पर्क समितिको सदस्य भएका थिए । उनले पार्टीको नवौं, दशौं, एघारौं, बाह्रौं र १३औं महाधिवेशनमा प्रतिनिधित्व गरेका थिए ।

पार्टीको ८औं महाधिवेशनमा उनी दाङको तत्कालीन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा १ मतले पराजित भएका थिए भने १२औं महाधिनेशनमा नेपाली कांग्रेस दाङको सभापतिमा उम्मेदवारी दिएका थिए । दोश्रो चरणको निर्वाचनमा उनी पराजित भए ।

आगरा विश्वविद्यालयबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक गरेका गिरी २०४० देखि २०४९ सम्म अमर माध्यमिक विद्यालय उरहरीमा प्रधानाध्यापक भइ सक्रिय शैक्षिक नेतृत्व समेत गरेका थिए ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका गिरी २०५९ पछिको हरेक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment