२९ वैशाख, काठमाडौं । एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका खेलाडीका परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
भण्डारी दम्पत्तीले कोरोना भाइरस (कोभिड–१९) का कारण मारमा परेका खेलाडीका १५० परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ (डब्लुकेकेओ नेपाल) का अध्यक्ष अशोककुमार श्रेष्ठलाई उक्त राहत सामग्री हस्तारण गरेका हुन् । श्रेष्ठलाई आर्थिक अवस्था कमजोर भएका खेलाडीको परिवार पहिचान गरी उक्त राहत सामग्री वितरण गर्ने जिम्मेवारी दिइएको सिलवालले बताए ।
उपत्यका लगायत यस आसपासका जिल्लाका क्योकुसिन कराते खेलाडीलाई चामल, तेल, नुन, गेडागुडी, मसेउरा, सोयाबिन र साबुन प्रदान गरिएको संघकी उपाध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।
सविता र किशोरकै सहयोगमा यसअघि काठमाडौं-११ का २ सय विपन्न परिवारलाई राहत वितरण गरिएको थियो ।
सविता १९९८ को बैंकक एसियाडकी रजत विजेता हुन् । किशोरले पनि सोही एसियाडमा कास्य जितेका थिए । उनीहरु लामो समयदेखि अमेरिकाको सियाटलमा बस्दै आएका छन् ।
प्रतिक्रिया 4