
२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबखत कोरोना भाइरसका बारेमा प्रवचनहरु दिँदै आएका छन् । जस्तो– हाम्रा भान्सामा पाइने बेसारलगायतका वस्तुले रोग प्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर) बढाउने प्रधानमन्त्रीले धेरैपटक बताइसकेका छन् । तातोपानीले बोसीय र फ्याटीय तत्व पगाल्ने हुनाले तातोपानी खाँदा राम्रो हुने प्रधानमन्त्रीको तर्क छ । त्यस्तै युरोप र अरबतिरको भन्दा भारतबाट आएको कोरोना भाइरस अलि कडा भएको प्रधानमन्त्रीको ठम्याइ छ ।
कोरोना भाइरसका बारेमा यतिधेरै जानकारी प्रवाह गर्ने देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब एउटा प्रश्न सोध्नैपर्ने भएको छ– प्रधानमन्त्रीज्यू, ७८ दिनसम्म पनि मानिसहरुमा कोरोना भाइरस सर्न सक्छ ?
प्रधानमन्त्री ओलीलाई नै यो प्रश्न सोध्नुपर्ने खास कारण छ ।
सरकारले कोरोना नफैलियोस् भनेर निरन्तर लकडाउन गरेको आज ७८ दिन भयो । आज ७८ औं दिनमा काठमाडौंबासीले खोलेका पसलहरु बन्द गर्न सरकारले मंगलबार बिहानैदेखि सडकमा प्रहरी परिचालन गर्यो । न्युरोडमा प्रहरीले बल प्रयोग पसलहरु बन्द गराए । बानेश्वर लगायतका अन्य ठाउँमा पनि सरकारले प्रहरी परिचालन गरेर सरकारको उपस्थिति देखाउने प्रयास गर्यो । सरकारको यो प्रयास हास्यास्पद त छ नै, निरीहताको पनि पराकाष्टा हो ।
सरकारले चैत ११ देखि लकडाउन गरेको हो । लकडाउनसँगै काठमाडौं उपत्यका अन्य भूगोलसँग नाकाबन्दीमा परेको छ । सरकारले गौंडाहरु थुनिसकेपछि काठमाडौंमा कोरोना थियो भने पनि ७८ दिनसम्म आइपुग्दा त्यो सिद्धिइसकेको हुनुपर्ने हो । लकडाउनका बेला कोरोना काठमाडौंमा भएको भए १४ दिनको हिसाबले पाँचौं चरणमा फैलिइसकेको हुनुपर्ने हो । तर, काठमाडौंमा कोरोना त्यसरी फैलिएको पाइएन ।
काठमाडौंमा जति पनि कोरोना देखियो, सनसिटी र त्योभन्दा अगाडिको केसबाहेक अन्य सबै केसहरु लकडाउनका बेला बाहिरबाट उपत्यका भित्रिएका मानिसहरुमा देखा परेको छ । यसको सोझो अर्थ के हो भने सरकारले लकडाउनलाई कार्यान्वयन गर्न नसक्दा काठमाडौंमा फाट्टफुट्ट केसहरु भित्रिएका हुन्, अन्यथा उपत्यका अहिलेसम्म ग्रिन जोनकै रुपमा रहेको छ । काठमाडौंमा कोरोना भित्रिएको छ त सरकारकै कमजोरीका कारण भित्रिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबासीलाई यस अर्थमा धन्यवाद दिनुपर्छ कि ७८ दिन बितिसक्दा पनि यहाँका जनताले सरकारको आदेश मानेरै बसे । सरकारले लकडाउनलाई खुकुलो पारेर जनजीवनलाई सहज बनाइदेला कि भन्दै सहेरै बसे । काठमाडौंबासीको यति ठूलो धैर्यता, सहयोग र सहनशीलतालाई ओली सरकारले धन्यवाद दिनुपर्ने हो । तर, मंगलबार बिहानै सडकमा सरकारले देखाएको रवैया हेर्दा ऊ जनताको समस्याप्रति पटक्कै संवेदनशील छैन भन्ने प्रष्ट भएको छ ।
सरकारले गत जेठ १७ गते लकडाउन १२ दिन थप्ने निर्णय गर्दाखेरि लकडाउन खुकुलो बनाउने गरी मोडालिटी बनाउने भनेको थियो । तर, १० दिनसम्म सरकारले कुनै निचोड दिन सकेको छैन । उच्चस्तरीय समितिको पटक–पटकको बैठक निश्कर्षहीन बन्दै आएको छ । सरकार अनिर्णयको बन्दी बनेसँगै मंगलबार बालुवाटारमा सरकारविरुद्ध स्वतस्फूर्त प्रदर्शनसमेत भएको छ ।
सरकारको आदेशलाई ७८ दिनसम्म पालना गरेर बसेका जनता सुरक्षाका प्रावधानहरु अपनाएर पेश व्यवसायमा लाग्छौं भन्दा सरकारले प्रहरी लगाएर पेलेपछि अब सडकमा स्तस्फूर्तरुपमा आक्रोशहरु पोखिने संमेत मंगलबार बालुवाटारमा भएको प्रदर्शनले गरेको छ ।
मंगलबार बिहानैदेखि माथिको आदेश भन्दै प्रहरीले काठमाडौंमा यातायात र पसलहरु सञ्चालनमा रोक लगाउन खोजे पनि सडकमा सवारी साधनको संख्या घट्नुको साटो झन् बढेको छ । र, यसले सरकारको असफलतालाई प्रष्ट संकेत गरेको छ ।
सरकारले ७८ दिनसम्म जनतालाई घरभित्र बस्न लगाए पनि यसवीचमा सांसदहरुले बजेट अधिवेशनमा भाग लिए । नेताहरुले स्वास्थ्य सजगता अपनाएर आफ्नो काम गर्न मिल्ने तर जनताले चाहिँ यतिका दिनसम्म आफ्नो काम गर्न नपाउने स्थितिका कारण जनतामा आक्रोश बढेको देखिएको छ ।
सरकारले काठमाडौं उपत्यका र अन्य शहरहरुको हकमा विशिष्ट प्रकारको लकडाउन मोडालिटी बनाउन सक्थ्यो । यसअघि विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेडजोन र ग्रिन जोनको मोडालिटी पनि बुझाएका थिए । तराईमा भारतबाट आउने मानिसहरुबाट जोखिम बढ्ने देखिए पनि मोफसलबाट आइसोलेट अवस्थामा रहेको काठमाडौंमा यति लामो र कडा लकडाउन जरुरी छैन भन्ने विज्ञहरुले सुझाउँदै आए पनि प्रधानमन्त्रीले सुनेको नसुन्यै गरेको स्वास्थ्य मन्त्रालयकै अधिकारीहरुको गुनासो छ ।
त्यसैले कोरोनाबारे जानकार प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्नैपर्ने भएको छ– प्रधानमन्त्रीज्यू, काठमाडौंमा ७८ दिनमा पनि कोरोना सर्छ ? अनि प्रहरीले डण्डा बोकेर सटर बन्द गराउँदै हिँडेर, माइकिङ गरेर कोरोना भाग्छ ? तपाईको सरकारले ७८ दिनसम्म किन लकडाउन सम्बन्धी वैज्ञानिक मापदण्ड बनाउन नसकेको ?
प्रतिक्रिया 4