Comments Add Comment

सामुदायिक भवन बनाउन नगरप्रमुखले रोक्न खोजेको भन्दै कलैयामा प्रदर्शन

३० जेठ, वीरगञ्ज । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र स्थानीय साझेदारी अन्तर्गत सामुदायिक भवन बनाउन लाग्दा नगर प्रमुखले काम रोक्न लागेको भन्दै बाराको कलैया उपमहानगरपालिका वडा नं. ९ रामटोलका बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

नगर प्रमुख राजेश राय यादवको विरोधमा प्रदर्शन गर्दै उनीहरुले नगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । प्रदर्शनकारीले होहल्ला गर्दै टेबल समेत तोडफोड गरेका छन् ।

उनीहरुले सामुदायिक भवन बनाउन बजेट विनियोजन भई लागत स्टिमेट समेत भइसकेको अवस्थामा त्यसलाई रोक्न खोजेको सूचना पाएपछि विरोधमा उत्रिएको बताएका छन् ।

उपमहानगरपालिकाको २०७६ चैत ४ गते बसेको ४९ औं बोर्ड बैठकले रामपुर हुसेन मियाँको गोवासदेखि दक्षिण र टेंगहर खोलाको उत्तरतर्फ रहेको सार्वजनिक/ऐलानी जग्गामा सामुदायिक भवन बनाउने निर्णय गरेको थियो । चालु आर्थिक वर्षभित्रै २० लाखभन्दा बढीको लागतमा बन्ने सामुदायिक भवन बनाउन स्थानीय कमरुद्दिन अन्सारीको नेतृत्वमा उपभोक्ता समितिसमेत गठन गरिएको छ ।

तर सामुदायिक भवन निर्माण कार्य रोक्का गर्न भन्दै असन्तुष्ट पक्षले उपमहानगरपालिकामा जेठ २७ गते निवेदन पेश गरेका थिए । वडा अध्यक्षले आफूखुशी उपभोक्ता समिति गठन गरेको र जग्गा हुलाकी राजमार्ग अन्तर्गत पर्ने दावी उनीहरुको थियो ।

१७ जनाको नाम र हस्ताक्षरसहित पेश गरिएको निवेदनमा कतारमा भएका ईस्लाम अन्सारीको समेत नाम लेखेर सही गरेको आन्दोलनरत पक्षको दावी छ । असन्तुष्ट पक्षले पेश गरेको निवेदनमा झुक्याएर सही गराएको भन्दै १७ जना मध्येका केही आन्दोलनमा समेत सहभागी भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष अन्सारीले सामुदायिक भवन बनाउन नचाहने तत्वले काम रोक्न खोजेकाले विरोध प्रदर्शन गरेको बताए । ‘गाउँकै केही व्यक्तिले १० प्रतिशत कमिसन मागेका थिए । सामुदायिक भवन हो खटेर काम गर्नुपर्छ । किन तिमीहरुलाई पैसा दिने ? भनेर भनेका थियौं,’ अध्यक्ष अन्सारीले भने, ‘त्यसैबाट असन्तुष्ट व्यक्तिले कतारमा भएका व्यक्तिको समेत नाम राखेर काम रोक्न निवेदन पेश गरेका रहेछन् । नगर प्रमुखले समेत उनीहरुको साथ दिने संकेत पाएपछि हामीले विरोध जनाएका हौं ।’

प्रदर्शन गर्दै नगर प्रमुखको कार्यकक्ष नै घेराउ गरेपछि अमिन पठाएर जग्गा नाप गराउने आश्वासन पाएको उनले बताए । ‘काम गर्न समय छैन, अनावश्यक बखेडा झिक्नेको साथ दिने भनेर विरोध जनायौं । त्यसपछि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले काम शुरु गर्न भनेका छन्,’ उनले भने, ‘त्यसका लागि अमिन पठाएर नापचाँच गराउने वाचा आएको छ । त्यसपछि ढुंगा खसाएर काम शुरु गरिहाल्ने सोच हामीले बनाएका छौं ।’

उनीहरुले नक्कली सही गरेर कागजात पेश गर्नेलाई समेत कारबाही गर्ने आश्वासन दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment