
७ साउन, काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । उनी ९० वर्षका थिए ।
विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।
बर्मन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बर्मन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।
तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बर्मन बुढा होमिएका थिए । माओवादी पार्टीमा आएको विभाजनप्रति उनी असन्तुष्ट थिए ।
गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उनी जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।
उनी नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली अपनाउने आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन् ।
प्रतिक्रिया 4