Comments Add Comment

‘अर्बपति’ अनिल अम्बानीको सम्पत्ति एउटा कारमात्रै ?

११ असोज, काठमाडौं । भारतीय उद्योगी अनिल अम्बानी कुनै समय विश्वका धनी ६ व्यक्तिको सूचीमा पर्थे । तर अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) का अध्यक्ष उनी अहिले टाट पल्टिएका छन् ।

शुक्रबार बेलायतको अदालतलाई भर्चुअल बयान दिएका उनले आफ्नो औसत सम्पत्ति शून्यमा आएको बताएका छन् ।

आफूसँग भएको सबै गहनासमेत कानुनी शुल्कको लागि बेचेको र अब एउटा कार मात्र बाँकी रहेको बताएका छन् । उनले आफू एक सरल व्यक्ति भएको पनि उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाको रिपोर्टलाई आधार मान्ने हो भने उनले सन् २०२० को जनवरीदेखि जुनसम्मको अवधिमा नौ करोड ९० लाखमा आफूसँग भएको सबै गहना बिक्री गरेका थिए । उनले सञ्चारमाध्यममा आएको जस्तो आफ्नो विलासी जीवनशैली नरहेको बताए ।

तीन चिनियाँ बैंकले अम्बानीमाथि मुद्दा दायर गरेका थिए । मे २२ मा बेलायतको अदालतले अनिललाई ७१ करोड ६० लाख डलर चिनियाँ कम्पनीहरुलाई ऋण बुझाउन निर्देशन दिएको थियो । थप सात लाख ५० हजार डलर कानुनी शुल्कको रुपमा बुझाउन निर्देशन दिइएको थियो ।

आफू जमानी बसेर लिएको ऋण तिर्न नसकेपछि अनिल अम्बानीले अहिले मुद्दा खेप्नुपरेको हो । अम्बानीले भनेका छन्, ‘मेरो खर्च न्यूनतम छ र त्यो खर्च मेरी पत्नीले परिवारलाई दिँदै आएकी छन् ।’

उनले आफ्नो आम्दानीको अन्य स्रोत पनि नरहेको र अब थप खर्च बेहोर्नुपरेको खण्डमा अदालतबाट थप सम्पत्ति बिक्रीको अनुमति लिनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

कसरी सकियो त अम्बानीको सम्पत्ति ?

सन् २००८ मा अनिल अम्बानी विश्वका छटौं धनी व्यक्ति थिए । उनको सम्पत्ति ४२ अर्ब डलर थियो । त्यसको १२ वर्षमा अहिले उनको सम्पत्ति शून्यमा झरिसकेको छ । यद्यपि उनका दाजु मुकेश अम्बानी भने अहिले एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् ।

सन् २००२ मा उनीहरुका बुबा धिरुभाइ अम्बानीको निधन भयो । त्यसपछि मुकेश अम्बानी रिलायन्स इन्डष्ट्रीको अध्यक्ष बने भने अनिल प्रबन्ध निर्देशक । तर २००५ मा आइपुग्दा दाजुभाइको बीचमा मनमुटाव बढ्यो । त्यसपछि उनीहरु दुई भागमा विभाजित भए । टेलिकम, ऊर्जा उत्पादन र वित्तीय सेवाको व्यवसाय अनिल अम्बानीले राखे । दाजुको भागमा तेल शुद्धिकरण र पेट्रोकेमिकल व्यवसाय पर्‍यो ।

अनिल अम्बानीको रिलायन्स ग्रुपले रिलायन्स कम्युनिकेशन, रिलायन्स पावर, रिलायन्स क्यापिटल, रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायनस नाभाल, रिलायन्स होम फाइनान्स व्यवसाय सञ्चालन गर्दै आएको छ । बताइएअनुसार अनिल टेलिकम व्यवसाय आफ्नो पार्न चाहन्थे र उनका लागि रिलायन्स कम्युनिकेशन निकै महत्वपूर्ण व्यवसाय थियो ।

रिलायन्स कम्युनिकेशनले सन् २००२ मा रिलायन्स इन्फोकमको रुपमा सीडीएमए प्लेटफर्ममा आफ्नो टेलिकम सेवा शुरु गरेको थियो । शुरुमा त कम्पनीले राम्रै गरेको थियो । तर यसले थ्रीजीसम्म मात्र सपोर्ट गर्ने भएकाले फोरजी आएसँगै रिलायन्स कम्पनीको क्रेज घट्यो र त्यसको असर व्यापारमा देखियो । यो अवधिमा कम्पनीले ग्राहकहरु तान्न विभिन्न किसिमको योजना ल्याउने र सस्तोमा सेवा प्रदान गर्ने काम गरे । त्यसका लागि ऋण लिए । व्यवसाय भने निरन्तर ओरालो लाग्यो । साथै लगानीकर्ताले आफ्नो लगानी फिर्ता लान थालेसँगै कम्पनीको ऋण बढ्दै गयो ।

अनिलको रिलायन्स कम्युनिकेशनको कम्पनी टाट पल्टिनुमा उनका आफ्नै दाजु अनिल अम्बानीले शुरु गरेको रिलायन्स जियो इन्फोकमको व्यवसाय एक कारण थियो । मुकेशको व्यवसायले अनिल मात्र नभई समग्र भारतीय टेलिकम कम्पनीहरु धरासायी बने । अनिलले आफ्नो कम्पनी रिलायन्स जियोलाई बेच्ने योजना पनि ल्याए, तर मुकेशले यसअघिको ऋण सकार्न नसक्ने बताएसँगै यो सम्झौता हुन सकेको थिएन ।

त्यसपछि रिलायन्स कम्युनिकेसन बक्यौता समयमा बुझाउन नसकेपछि अनिलमाथि थप दबाब बढ्दै गयो । त्यही बेला तीन चिनियाँ कम्पनीले कम्पनीमाथि साँवा र ब्याजसहितको रकमको माग गर्दै अदालतमा अनिलविरुद्ध मुद्दा दायर गरे ।

अन्य व्यवसायहरु पनि विभिन्न कारणले टाट पल्टिँदै गए, अनिल अम्बानी टाट पल्टिएका छन् । उनी भाडा तिर्न नपर्ने गरी दाजु मुकेश अम्बानीले दिएको घरमा बस्दै आएका छन् । यसअघि पनि एरिक्सन कम्पनीको आठ करोड डलर ऋण तिर्न नसकेपछि अनिल अम्बानी तीन महिना जेल जाने अवस्थामा पुगेका थिए । तर दाजु मुकेश अम्बानीले अन्तिम समयमा उनको ऋण तिर्दै जेल जानबाट बचाएका थिए ।

यो पनि पढ्नुहोस १२ वर्षमा कसरी टाट पल्टिए अनिल अम्बानी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment