
१२ असोज, काठमाडौं । बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीय सम्झना विश्वकर्माको बलात्कारपछि हत्या भएको प्रकरणमा न्याय माग्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेसको महिला विभाग, संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं र स्वतन्त्र नागरिकको तर्फबाट प्रदर्शन गरिएको हो । प्रदर्शनमा कांग्रेस सांसद मिन विश्वकर्मा पनि सहभागी थिए ।
कांग्रेसको महिला विभागले सडक बहस पनि गरेको छ । बहसबाट विश्वकर्मा हत्याका अभियुक्तलाई तत्काल पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
बहसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्री पनि सहभागी थिइन् । उनले विषय साझा भएकाले आफू बहसमा सहभागी भएको बताउँदै बझाङ घटनाका दोषीलाई सजाय दिलाउन माग गरिन् ।
प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघकी पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले दैनिक ७ जनामाथि बलात्कार र बलात्कार प्रयास हुने गरेको तथ्यांक प्रस्तुत गर्दै दैनिक अप्रिय खबर सुनेर देशभरिका छोरीहरु निदाउन नसकेको गुनासो गरिन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत प्रश्न गर्दै भनेकी छन्, ‘दैनिक बलात्कारका घटना सार्वजनिक भएर महिला असुरक्षित भएको देखिँइरहँदा आमा समान राष्ट्रपति कसरी निदाइ रहनु भएको छ ? जवाफ चाहियो ।’
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4