Comments Add Comment

ठोरीमा जंगली हात्तीको आत‌ंक, धानबालीमा क्षति  

१३ असोज, वीरगञ्ज । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जंगली हात्तीको बथानले पर्साको ठोरी गाउँपालिकमा आतंक मच्चाएको छ ।

रात परेपछि गाउँ पस्ने गरेको जंगली हात्तीको बथानले किसानको धानबाली खानुका साथै माडेर क्षति पुर्‍याएको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले अनलाइनखबरलाई बताए । बस्नेतका अनुसार हात्तीले खेतबारीमा रहेको धानबाली मात्रै नभएर घरमा भण्डारण गरी राखेको धान समेत खाएर दुःख दिने गरेको छ ।

हात्तीको बथानले ठोरी–३ बुद्धनगरका जोगिन्द्र राम रविदासको १५ कठ्ठाको धान खानुका साथै छरेर नष्ट गरेको बस्नतेले बताए । बस्नतेले भने, ‘जोगिन्द्रले १५ कठ्ठाको धान काटेर कुनिउ बनाएर राखेका रहेछन् । गएराति हात्तीक बथान नै आएर खाइदिनुका साथै छरेर नष्ट गरिदिएछन् ।’

त्यस्तै गएराति नै चितवन राष्ट्रिय निकुञ्जबाट प्रवेश गरेको एउटा हात्तीले रातभर ठोरी–२ इच्छानगरमा धानबालीमा क्षति पुर्‍याएको उनले बताए । जंगली हात्तीले धानबालीमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बस्नेतले बताए ।

हात्तीले ठोरो गाउँपालिका वडा नम्बर १, २ र ३ क्षेत्रमा दुःख दिइरहेको उनले बताए । हात्ती धपाउनका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर तीन वटै वडामा पटेकाको व्यवस्था गरिएको भएपनि हात्तीले अटेर गरेर दुःख दिने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment