Comments Add Comment

गोरखामा चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री सुरु

१५ असोज, गोरखा । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ ।

दशैं-तिहारलाई लक्षित गरी बिहीबारदेखि चामलको मूल्यमा प्रति केजी ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न सुरु गरिएको खाद्य व्यवस्था कार्यालयका प्रमुख नविन बस्नेतले बताए । उनका अनुसार कार्यालयबाट सोना मंसुली, जिरा मसिना र जापनिज चामल बिक्री हुँदै आएको छ ।

‘सोना मंसुली चामल यसअघि किलोको ५१ रुपैयाँ पर्थ्यो,’  उनले भने, ‘अहिले ४६ रुपैयाँमा उपभोक्ताले किन्न पाउनुहुनेछ ।’ सहुलियत दरमा बिक्री गर्दा प्रति बोरा (३० केजी) चामालको मूल्य १ हजार ३८० रुपैयाँ पर्ने बस्नेतले बताए ।

जिरा मसिना चामलको मूल्य प्रति केजी ५५ रुपैयाँ तोकिएको छ । यसअघि किलोको ६० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो । छुट पछिको मूल्य २५ केजी बोराको १ हजार ३७५ रहेको उनले जानकारी दिए ।

त्यस्तै जापनिज चामल ४२ रुपैयाँ प्रति किलोमा उपभोग गर्न पाइने उनले बताए । यसअघि किलोको ४७ रुपैयाँमा बिक्री हुँदै आएको थियो । छुट दिएसँगै (३० केजी) प्रति बोराको १ हजार २६० रुपैयाँ पर्ने कार्यालयले जनाएको छ ।

मंसिर ६ गतेसम्मका लागि मात्र चामलको मूल्यमा सहुलियत दिइने कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । सो अवधिभर जो कोही कार्यालयमा आएर चामल किन्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment