१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमका सम्पादकहरूप्रति गुनासो गरेका छन् । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनले बताए ।
मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने गरेको टिप्पणी गरे । उनले भने, ‘यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो ।’
केही पहिले सम्पादकहरू भएको भेटको स्मरण गर्दै उनले भने, ‘तपाईहरूले दिनरात गाली गर्दा सहनुपर्छ भनेर सिकाउने । मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ?’
प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरूको खुट्टा तान्ने प्रवृति रहेको बताए ।
त्यसको ब्याख्या गर्दै उनले भ्यागुताको कथा सुनाए । अनुसन्धानका लागि संसार भरका भ्यागुताहरू अमेरिकामा जम्मा गर्ने क्रममा अरु देशले बाकसमा राखेर ल्याएछ । तर नेपालबाट भने ढकीमा राखेर लगिएको भन्दै उनले भने-अरु देशको बाकस खोल्ने वित्तिकै भ्यागुताहरू भाग्न खोन्छन् । तर हाम्रो खुला ढकीमा राख्दा पनि भाग्दैन, किन भनेको उफ्रियो भने यो बाँच्छ भनेर अर्कोले खुट्टा समात्छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘ढकीबाट किन भागेका छैनन् भन्दा नेपाली भ्यागुता हुन्, एउटाको खुट्टा अर्कोले तान्छ । हाम्रो प्रवृत्ति पनि त्यतापट्टी जान खोजेको छ ।’
एलायन्का पदाधिकारीहरूसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले छिट्टै विज्ञापन बोर्डको गठन गर्ने बताए । बोर्ड नबन्दासम्म अन्य कुनै सरकारी संयन्त्रले त्यो काम गर्ने बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4