+
+
Shares

रसुवा बाढीबाट भारत सचेत : जोखिमयुक्त एक हिमतालमा राख्दैछ पूर्वसूचना प्रणाली

कुन प्रविधिबाट कसरी हुँदैछ काम ?

हिमनदी विज्ञहरूका अनुसार चार पक्षमा काम भइरहेको छ । जसमा तालको निगरानी, पूर्वसूचना प्रणाली, सूचना सर्वसाधारणसम्म पुर्‍याउने व्यवस्था र जोखिम न्यूनीकरणका उपाय ।

बीबीसी हिन्दी बीबीसी हिन्दी
२०८३ असोज १७ गते २१:४६

नेपालमा आएको आकस्मिक बाढीको एक महिनापछि भारतको हिमाली राज्य उत्तराखण्डले एउटा हिमतालमा पूर्वसूचना प्रणाली स्थापना गर्ने तयारी गरेको छ ।

उत्तराखण्डका उच्च हिमाली क्षेत्रमा हिमताल फुटेर हुने क्षति न्यूनीकरण, तालको निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन यो पहल सुरु गरिएको हो ।

चमोलीको वसुधारा हिमतालमा पूर्वसूचना प्रणाली जडान गर्न वैज्ञानिकहरूको टोली गत मंगलबार देहरादुनबाट प्रस्थान गरेको छ । वसुधारा ताललाई वसुन्धरा ताल पनि भनिन्छ ।

हिमतालमा जडान गरिने यो राज्यकै पहिलो पूर्वसूचना प्रणाली हो । अत्याधुनिक सेन्सर, उपग्रह सञ्चार र वास्तविक समयका तथ्यांकमार्फत तालमा हुने परिवर्तनको निगरानी गर्न सकिनेछ । यसबाट सम्भावित जोखिमबारे समयमै अनुमान गर्न सहयोग पुग्नेछ ।

तालको क्षेत्रफलमा तीव्र वृद्धि

नेसनल रिमोट सेन्सिङ सेन्टर (एनआरएससी) को रिपोर्टअनुसार पछिल्ला ६ दशकमा वसुधारा तालको जलक्षेत्र करिब पाँच गुणाले बढेको छ ।

सन् १९६२ मा यो ताल १०.५३ हेक्टर क्षेत्रफलमा फैलिएको थियो । सन् २०२४ मा यसको जलक्षेत्र बढेर ५१.०७ हेक्टर पुगेको छ ।

यो हिमनदीको सतहमा बनेको ताल हो । धेरै साना तालहरू आपसमा मिसिएर यो ताल विकसित भएको बताइएको छ ।

राज्य सरकारका अनुसार तालको बढ्दो आकार तथा यसको तल्लो क्षेत्रमा रहेका बस्ती र महत्वपूर्ण संरचनामा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी र समयमै चेतावनी दिन पूर्वसूचना प्रणाली जडान गर्न लागिएको हो ।

सेप्टेम्बर २९ देखि सुरु भएको यो अभियान अक्टोबर १५ सम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

अभियान टोलीमा रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) र देहरादुनस्थित वाडिया हिमालय भूविज्ञान संस्थानका वैज्ञानिक तथा प्राविधिक विज्ञहरू सहभागी छन् ।

उच्च हिमाली तथा दुर्गम क्षेत्रमा अभियान टोलीको सुरक्षा, आवतजावत र स्थलगत सहयोगका लागि एसडीआरएफ, एनडीआरएफ र आईटीबीपीका सुरक्षाकर्मी पनि टोलीसँगै रहनेछन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले वैज्ञानिक संस्था, विज्ञ तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायबीचको समन्वयमा उच्च हिमाली क्षेत्रमा आधुनिक निगरानी तथा पूर्वसूचना प्रणालीलाई बलियो बनाउने सरकारको प्रयास रहेको बताएका छन् ।

अभियान टोलीका सदस्य बुधबार बिहान ऋषिकेशबाट जोशीमठका लागि प्रस्थान गरेका थिए ।

वाडिया भूविज्ञान संस्थानको हिमनदी विज्ञान विभागका वैज्ञानिक तथा टोलीका सदस्य डा. अमित कुमारले बीबीसी हिन्दीलाई बताएअनुसार अक्टोबर ३ मा टोली करिब ४ हजार मिटर उचाइमा रहेको पहिलो आधार शिविरमा पुग्नेछ ।

उत्तराखण्डका १३ हिमताल जोखिमयुक्त

नेसनल रिमोट सेन्सिङ सेन्टरको सन् २०२३ को रिपोर्टअनुसार उत्तराखण्डमा कुल ३४४ वटा हिमताल पहिचान भएका छन् ।

तीमध्ये १३ वटा हिमताललाई उच्च जोखिमयुक्तका रूपमा पहिचान गरिएको छ ।

उच्च जोखिमयुक्त हिमतालमध्ये बागेश्वरमा एक, चमोलीमा चार, पिथौरागढमा छ, टिहरी गढवालमा एक र उत्तरकाशीमा एक छन् ।

विपद् व्यवस्थापन सचिव विनोद कुमार सुमनका अनुसार उच्च जोखिमयुक्त ६ वटा हिमतालको जलगर्भ सर्वेक्षण पूरा भइसकेको छ ।

यस सर्वेक्षणमा तालको गहिराइ, पानीमुनिको तालको सतह, पानी धारण क्षमता तथा पानीको कुल परिमाणको आकलन गरिन्छ ।

सर्वसाधारणसम्म चेतावनी पुर्‍याउने संयन्त्र बन्ने

भदौ १० मा नेपालको रसुवामा हिमपहिरो गएपछि आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको थियो ।यस्ता विपद्को जोखिम उत्तराखण्डमा पनि देखिइसकेको छ ।

सन् २०२१ को फेब्रुअरीमा चमोलीमा हिउँ र चट्टानको ठूलो भाग खसेपछि आकस्मिक बाढी आएको थियो । त्यस घटनामा २०० भन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए ।

यस्ता घटनालाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्र तथा त्यहाँ भइरहेका परिवर्तनको निगरानीको आवश्यकता बढेको छ ।

हिमनदी विज्ञ डा. अमितका अनुसार अहिले चार पक्षमा काम भइरहेको छ– तालको निगरानी, पूर्वसूचना प्रणाली, सूचना सर्वसाधारणसम्म पुर्‍याउने व्यवस्था र जोखिम न्यूनीकरणका उपाय ।

पूर्वसूचना प्रणाली स्थापना भएपछि वसुधारा तालसँग सम्बन्धित तथ्यांक प्राप्त हुन थाल्नेछ । उनले भने, ‘यसबाट तालको जलस्तरमा हुने उतारचढावसम्बन्धी वास्तविक समयको तथ्यांक प्राप्त हुनेछ र हामी त्यसको निगरानी गर्न सक्नेछौँ। आवश्यक परे साइरनमार्फत मानिसलाई सचेत गराउन पनि सकिनेछ ।’

उनका अनुसार यसका लागि तालबाट सम्भावित रूपमा प्रभावित क्षेत्रको नक्सांकन गरिनेछ ।

‘कहाँ–कहाँ घर, बाँध र अन्य संरचना छन् भन्ने पनि अध्ययन गरिनेछ । जलगर्भ सर्वेक्षणबाट तालमा कति पानी छ भन्ने जानकारी भइसकेको छ । अब ताल फुटेको अवस्थामा पानी तल्लो बस्तीमा कति समयमा पुग्छ भन्ने आकलन गरिनेछ,’ हिमनदी विज्ञ डा अमितले भने, ‘यसले प्रत्येक तालका लागि प्रतिक्रिया समय निर्धारण गर्न र कहाँ साइरन राख्ने तथा कहाँ पहिल्यै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भन्ने बुझ्न सहयोग गर्नेछ ।’

उनका अनुसार तालको पानी विस्तारै निकास गर्न सकिन्छ कि सकिँदैन, भन्ने पनि अध्ययन गरिनेछ । जसबाट ताल फुट्ने जोखिम कम गर्न सकिने अपेक्षा गरिएको छ ।

डा. अमितका अनुसार प्रत्येक हिमतालसँग जोडिएको जोखिम फरक हुन्छ । वसुधारा तालमा देखिएको अवस्था पिथौरागढका हिमतालमा पनि उस्तै हुन्छ भन्ने आवश्यक छैन । त्यहाँको परिस्थिति फरक रहेको र आगामी वर्ष पिथौरागढका हिमतालको अध्ययन सुरु गरिने उनले बताए ।

पुराना मौसम प्रणाली बगे

वाडिया हिमालय भूविज्ञान संस्थानको हिमनदी विज्ञान विभागमा कार्यरत रहिसकेका वैज्ञानिक डा. डीपी डोभालका अनुसार हिमनदीको अवस्था बुझ्न सन् २००७–०८ मा पहिलोपटक रुद्रप्रयाग जिल्लाको चोराबारी हिमनदीनजिक स्वचालित मौसम केन्द्र जडान गरिएको थियो ।

त्यसपछि सन् २०११–१२ मा डोकरानी र चोराबारी हिमनदीमा फरक–फरक उचाइमा ६ वटा स्वचालित मौसम केन्द्र जडान गरिएका थिए ।

बीबीसी हिन्दीसँग कुरा गर्दै उनले राज्यमा यति उचाइमा मौसम अध्ययनका लागि पहिलोपटक यस प्रकारका उपकरण जडान गरिएको बताए ।

‘हिमनदी अध्ययनका लागि हाम्रो स्थलगत काम राम्रो थियो, तर उच्च हिमाली क्षेत्रमा आधुनिक उपकरणका हिसाबले हामी पछाडि थियौँ,’ उनले भने, ‘सन् २०१३ को विपद्मा हाम्रा केही उपकरण बगेका थिए । सन् २०१९ मा ती स्वचालित मौसम प्रणाली हेर्न जाँदा खिया लागेका कारण बिग्रिँदै थिए । त्यहाँ जडान गरिने उपकरणको गुणस्तर उत्कृष्ट हुनुपर्छ ।’

सटीक तथ्यांक प्राप्त हुने विश्वास

वसुधारा तालको निगरानीका लागि पूर्वसूचना प्रणाली जडान गर्दा सटीक तथ्यांक प्राप्त हुने वैज्ञानिक डोभालको विश्वास छ ।

‘यी उपकरणबाट प्राप्त तथ्यांकले त्यहाँको मौसमी परिवर्तन बुझ्न सहयोग गर्नेछ । कहिले र कति हिउँ परिरहेको छ वा वर्षा भइरहेको छ भन्ने सटीक तथ्यांक हामीसँग हुनेछ,’ उनले भने, ‘गर्मीको अवधि बढ्दै र जाडोको अवधि घट्दै गएको भनिरहेका बेला यी उपकरणले त्यहाँको तापक्रममा भइरहेको उतारचढावको वास्तविक तथ्यांक उपलब्ध गराउनेछन् ।’

यी उपकरणबाट वसुधारा तालको जलस्तरको निगरानी गर्न सकिने उनले बताए ।

डा. डोभालका अनुसार तालको गहिराइ थाहा भएकाले जलस्तर घट्दा वा बढ्दा तालको आकारमा भइरहेको परिवर्तनको पनि आकलन गर्न सकिनेछ । तालको पानी निर्धारित स्तरभन्दा माथि पुगेपछि सेन्सर सक्रिय हुनेछ र समयमै चेतावनी जारी गर्न सकिनेछ ।

वसुधारा तालबाट करिब १८ किलोमिटर तल धौलीगंगा उपत्यकामा नीति, गमशाली लगायतका बस्ती सुरु हुन्छन् ।

‘जलस्तर निर्धारित सीमाभन्दा माथि पुगेपछि सेन्सर सक्रिय हुनेछ र प्रणालीमार्फत चेतावनी जारी गर्न सकिनेछ,’ डा. डोभालले भने । यस्तो अवस्थामा उद्धार तथा प्रतिक्रिया कार्यका लागि करिब आधा घण्टासम्मको समय प्राप्त हुन सक्ने उनको भनाइ छ ।

जोखिमको आकलन

वसुधारा ताल तथा आसपासको वातावरणीय र जलवैज्ञानिक परिवर्तनको निरन्तर निगरानी गर्न सकिनेछ ।

सेन्सरबाट प्राप्त तथ्यांकका आधारमा सम्भावित असामान्य परिवर्तन पहिचान गरी समयमै सम्बन्धित निकायलाई चेतावनी दिन सहयोग पुग्नेछ ।

मुख्य सचिव आनन्द बर्धनले वसुधारा तालमा सुरु गरिएको यो पहल भविष्यमा अन्य संवेदनशील हिमतालमा पनि यस्ता प्रणाली जडान गर्ने आधार बन्ने बताएका छन् ।

विपद् व्यवस्थापन तथा पुनर्वासमन्त्री मदन कौशिकले पूर्वसूचना प्रणालीबाट जलस्तर, मौसम, हिउँको अवस्था र जलप्रवाहजस्ता महत्वपूर्ण तथ्यांक निरन्तर प्राप्त हुने बताएका छन् ।

यी तथ्यांकले विपद्को जोखिम न्यूनीकरण गर्न तथा उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको सुरक्षा मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यी उपकरणबाट हुनेछ निगरानी

जलस्तर सेन्सर : तालको जलस्तरमा हुने उतारचढाव तथा अचानक हुने असामान्य परिवर्तनको निगरानी गर्नेछ ।

स्वचालित मौसम केन्द्र : तापक्रम, आर्द्रता, वर्षा, हावाको गति तथा दिशा, वायुदाब र प्रकाशको तीव्रतालगायत मौसमसम्बन्धी तथ्यांक रेकर्ड गर्नेछ ।

हिउँको गहिराइ मापन गर्ने सेन्सर : ताल आसपासको हिउँको गहिराइमा हुने परिवर्तनको निगरानी गर्नेछ ।

हिउँमुनिको तापक्रम सेन्सर : हिउँको विभिन्न गहिराइमा हुने तापक्रम परिवर्तन रेकर्ड गर्न आठवटा सेन्सर जडान गरिनेछ ।

झुकाव तथा कम्पन सेन्सर : निश्चित स्थानमा हुने झुकाव, कम्पन र हलचलको निगरानी गर्नेछ ।

जलप्रवाह सेन्सर : पानीको बहावमा हुने परिवर्तनको निगरानी गर्नेछ ।

सौर्य ऊर्जा प्रणाली : दुर्गम उच्च हिमाली क्षेत्रमा जडान गरिएका उपकरणलाई विद्युत् उपलब्ध गराउनेछ ।

उपग्रह सञ्चार प्रणाली : मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा सेन्सरबाट प्राप्त तथ्यांक आधार केन्द्रसम्म पठाउनेछ ।

डाटा रेकर्डर तथा निगरानी ड्यासबोर्ड : सेन्सरबाट प्राप्त तथ्यांक रेकर्ड गरी अनलाइन देखाउनेछ । निर्धारित सीमाभन्दा बढी परिवर्तन भएमा चेतावनी जारी गर्न सहयोग गर्नेछ ।

–बीबीसी हिन्दीमा प्रकाशित रिपोर्टको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?