Comments Add Comment

‘ए शासक ! तिमीहरु अश्लील हौ ?’

१४ असोज, काठमाडौं । कारोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ निरन्तर उकालो लागेको थियो । मानिसहरु समयमा उपचार नपाएर भौतारिरहेका थिए, भोकले छपटाइरहेका थिए । त्यहीबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सत्ता संघर्ष चर्कियो, प्रधानमन्त्रीबाट हटाउने र नयाँ बनाउनेसम्मको खेल चल्यो ।

१० असारमा सुरु भएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भर्सेस पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह जस्तै बन्यो । प्रचण्ड–नेपाल ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चाहन्थे भने ओली कुनै हालतमा अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडानमा रहे ।

कोरोना महामारी बिर्साउने गरी भएको यो झगडा दुई अध्यक्षबीच सहमति भएसँगै मिल्यो ।

अहिले दुई अध्यक्षबीच फेरि मन्त्रिपरिषद् पुनगर्ठनबारे हरेक दिन ‘निरर्थक’ वार्ता भइरहेको छ । डा. गोविन्द केसी १९ औं पटक आमरण अनसन बसेको १७ दिन भइसक्यो ।

तर सरकारले माग सम्बोधन गर्नु त धेरै पर, सम्वाद गर्न समेत रुचि देखाएको छैन । यो सब आफूहरुका लागि लाजमर्दो भएको नेकपाकै कतिपय नेताहरु बताउँछन् ।
बुधबार पाटन कृष्ण मन्दिरको डबलीमा देखाइएको नाटक ‘अश्लील शासक’ मा पनि यही कथा छ ।

****

केहीबेर अघिसम्म शान्त रहेको पाटन कृष्ण मन्दिरसँगै रहेको डबलीको माहोल एकाएक बिग्रिन पुग्छ । नजिकै दुईवटा कुर्सी छन्, त्यसमध्येको एउटा कुर्सी विशेष छ । त्यही कुर्सीमा बस्नको लागि एक अर्कासँग लड्दैछन् दुवै जना ।

प्रधानमन्त्री केपी शर्मा ओली आफू बसिरहेको कुर्सी नछाड्ने स्पष्ट अडान राखेका छन् भने अर्काे कुर्सीमा बसेका पुष्पकमल दाहाल पनि त्यसैको दाउ छोपिरहेका छन् ।

डबलीको तल्लो भागमा जनताहरू घेरा हालेर बसेका छन् । आफूआफूमा देखादेख, मुखामुख त गरेका छन् । तर कुर्सीको लागि लडिरहेका नेतालाई केही भन्न र गर्न सकिरहेका छैनन् । उनीहरु सन्तुष्ट देखिँदैनन्, तर सबै तिनै शासकको कब्जामा छन् । त्यसैलै आफूआफूमा नै तुष्टि पोखेर चित्त बुझाउँछन् ।

त्यही भिडबाट एकाएक एउटा व्यक्ति बीचमा जान्छ, कालो बिच्छ्यौना बिच्छ्याएर कुर्सीको लागि गरिएको झगडाको डटेर विरोध गर्छ । नजिकै दुईवटा सेता बोर्डहरू राखिएको छ । त्यसमा त्यही एउटा विद्रोही मान्छेको हस्ताक्षर राखिएको छ ।

धेरै समय सत्याग्रहको बाटोबाट त्यो झगडाको विरोध गरिरहेका ती व्यक्ति एकाएक शरीरको माथिल्लो भागको सबै कपडा खोलेर निर्वस्त्र बन्छ, अनि सोध्छ ‘ए शासकहरू हो ! आखिर कपडा फालेर तिमीहरू सामू उभिएको म अश्लील हुँ वा वर्षाैंदेखि निर्दाेष जनतालाई गुमराहमा राख्ने तिमी शासकहरू अश्लील हौ ?’

सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्सको आयोजनामा प्रदर्शन गरिएको नाटकमा शिल्पी थिएटरका कलाकारहरूले अभिनय गरेका छन् । डा. गोविन्द केसीको भूमिकामा घिमिरे युवराज थिए भने गोविन्द ओलीलाई प्रधानमन्त्री केपी शर्मा ओली र मोहन प्रकाश प्रचण्डको भूमिकामा थिए ।

नाटकमा देखाइएको सेतो बोर्डमा डा. केसीको औंठा छापको आकृति कलाकार रवीन्द्र श्रेष्ठले प्रस्तुत गरेका हुन् भने आम जनतालाई संकेत गर्नेगरी मान्छेको खुट्टा जस्तै आकारको सामग्री कलाकार राजन काफ्लेले बनाएका हुन् ।

नाटकको शीर्षक चाहिँ ‘अश्लील शासक’ छ ।

निर्देशक घिमिरे युवराज भन्छन्, ‘लामो समयदेखि जनतालाई गुमराहमा राखेका शासकहरू यति अश्लील बनिसकेका छन् कि उनीहरूको अघि एउटा निर्वस्त्र मान्छेसमेत इज्जतदार हुने गर्छ । यो नाटकको निचोड नै त्यही हो ।’

शिक्षा क्षेत्रको विकृति सुधारको लागि भनेर १७ दिनसम्म सत्याग्रहमा बसेका डा. गोविन्द केसीप्रति सरकार उदासीन बन्दै गएकाले पछिल्लो समग्र राजनीतिक घटनाक्रम र डा. केसीको आन्दोलनलाई जोडेर नाटक प्रस्तुत गरिएको घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment