Comments Add Comment

दिल्लीको प्लेइङ सेटमा पर्न सन्दीपलाई किन मुस्किल ?

१४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण अहिले संयुक्त अरब एमिरेट्स (युएई)मा चलिरहेको छ । विश्वकै चर्चित र स्टार खेलाडीको जमघट हुने लिगलाई नेपालीहरुले पनि निकै पछ्याइरहेका छन् । एकजना स्वदेशी क्रिकेटरको पनि उपस्थिति भएकाले नेपालीको अतिरिक्त चासो आईपीएलमा छ ।

नेपालका युवा स्टार सन्दीप लामिछाने लगातार तेस्रोपटक आइपीएल खेलिरहेका छन् । तर, लिग चरणमा उनको टिम दिल्लीले तीन वटा म्याच खेलिसक्दा पनि सन्दीप प्लेइङ ११ मा पर्न सकेका छैनन् । आगामी खेलहरुमा पनि उनले मौका पाउँछन् पाउँदैनन् भन्न सकिने अवस्था छैन ।

दिल्लीले २०२० मा लिगको ३ खेल खेलिसकेको छ । सुरुवाती दुई खेल उसले जितेको थियो । तेस्रो खेलमा भने पराजित भयो । दिल्लीले सुरुआती ३ खेलमा विदेशी खेलाडीको एउटै सेट खेलाएको छ । शिमरोन हेटमायर, मार्कस स्टोइनिस, कंगिसो रबाडा र

एनचिन तोर्किएले लगातार तीन खेल खेलेका छन् ।

विश्वका अन्य लिगमा टिमका लागि प्राय पहिलो रोजाईमा पर्ने सन्दीप आइपीएलमा भने सुरुवाती खेलमा बेन्चमै छन् । आखिर किन सन्दीपले खेल्न पाएका छैनन् त ?

आईपीएलमा विदेशी खेलाडीको कोटा

आइपीएलमा प्रत्येक टिमले बढीमा ८ जनासम्म विदेशी खेलाडी आफ्नो टिममा राख्न पाउँछन् । त्यसमध्ये बढीमा चार विदेशी खेलाडी एकै पटक मैदानमा उतार्न पाउँछ । टिममा ब्याटिङ र बलिङको सन्तुलन मिलाउने गरी विदेशी खेलाडीहरु प्लेइङ सेटमा राख्ने गरिन्छ ।

दिल्लीमा पनि विदेशी खेलाडी ८ जना छन् । जसमध्ये चार खेलाडीले मात्र एकै पटक खेल्न पाउँछन् । सुरुवाती तीन खेलमा दिल्लीले दक्षिण अपि|mकन फास्टबलरद्वय कांगिसो रबाडा र एनरिच नोर्किएका साथमा अष्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिस र वेष्टइन्डिजका ब्याट्सम्यान शिमरोन हेटमायरलाई खेलाएको थियो ।

चार खेलाडीले नियमित खेल्दा सन्दीपसँगै अष्ट्रेलियाका एलेक्स क्यारी र ड्यानिएल साम्स र वेष्टइन्डियन अलराउण्डर किमो पउल बेन्चमा बसेर खेल हेरिरहेका छन् ।

दिल्लीको लागि पहिलो खेलमै डेब्यु गरेका स्टोइनिस र नोर्कियले राम्रो प्रदर्शन गरेका थिए । त्यसमा पनि कागिसो रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । टिमको फास्ट बलिङ बलियो बनाउन उनी अपरिहार्य छन् । तल्लोक्रममा भारतीय ब्याट्सम्यान नहुँदा अलराउण्डर कोटामा विदेशी खेलाडी खेलाउनुपर्ने बाध्यता छ । जसले गर्दा हेटमायर र स्टोइनिसले अवसर पाएका छन् । स्टोइनिसले पहिलो खेलदेखि नै आफूलाई प्रमाणित गरेका छन् तर हेटमायरले भने राम्रो खेल्न सकेका छैन । हेटमायरको सट्टा अर्को विदेशी खेलाउँदा ब्याट्सम्यान नै खेलाउनुपर्ने हुनेछ वा भारतीय राम्रो अलराउण्डर चाहिनेछ ।

राम्रा भारतीय स्पीनर

सन्दीप लेगस्पीनर हुन । दिल्लीमा स्पीनरको कमी छैन । अमित मिश्रासहित रविचन्ऽन आश्विन, अक्सर पटेलजस्ता दिग्गज भारतीय स्पीनर दिल्लीको टोलीमा छन् । आफूभन्दा अनुभवी र घरेलु खेलाडी नै स्पीनर भएको हुँदा दिल्लीले सन्दीपभन्दा भारतीय स्पीनर नै खेलाइरहेको छ ।

पहिलो खेलमा पञ्जावविरुद्ध आश्विनले खेलेका थिए । साथै उनलाई अक्सर पटेलले साथ दिए । पहिलो खेलमा आश्विन घाइते हुँदा दिल्लीमा सन्दीपको सम्भावना बढेको थियो । तर आश्विनको ठाउँमा दिल्लीले भेट्रान स्पीनर अमित मिश्रालाई खेलाउँदा सन्दीपले खेल्न पाएनन् । दोस्रो र तेस्रो खेलमा दिल्लीबाट अमित र अक्सरले खेलेका थिए ।

दिल्लीमा स्पीन आक्रमण राम्रो छ । सकेसम्म उनीहरुले घरेलु खेलाडीलाई खेलाइरहेका छन् । आश्विन र मिश्रा दुवै अनुभवी हुन् । एक जनाले राम्रो नखेल्दा अर्कोले अवसर पाउँछन् । तेस्रो स्पीनर अक्सरले तल्लोक्रममा ब्याटिङसमेत गर्न सक्छन् । यदी भारतीय स्पीनरको सट्टा विदेशी स्पीनरको रुपमा सन्दीपलाई खेलाएमा दिल्लीले फास्ट बलरमा पनि परिवर्तन गर्दै विदेशीको सट्टा भारतीय नै खेलाउनुपर्नेछ ।

भारतीय फास्ट बलर कमजोर

दिल्लीमा रबाडा जस्ता विश्वकै उत्कृष्ट फास्ट बलर छन् । यस्तै यसै सिजन दिल्लीमा अनुबन्ध भएका नोर्किएले पनि सुरुदेखि नै अवसर पाएका छन् । यसको अर्थ दिल्लीमा भारतीय फास्ट बलरको कमजोर जस्तो देखिन्छ । जसले गर्दा दिल्लीले सुरुदेखि नै दुईजना विदेशी फास्ट बलर खेलाइरहेको छ ।

इशान्त शर्मा र मोहित शर्मा दुई भारतीय फास्ट बलर दिल्लीको टिममा छन् । तर लिगअघि नै घाइते हुँदा इशान्तले सुरुको खेल गुमाए । पहिलो खेलमा मोहित शर्माले खेलेका थिए । यस्तै दोस्रो खेलमा मोहितको स्थान आभेस खानले खेले । तेस्रो खेलमा इशान्तले खेले । भारतीय फास्ट बलर कमजोर हुँदा दिल्लीले दुई जना विदेशी र एक जना भारतीय फास्ट बलर खेलाइरहेको छ ।
३ फास्ट बलर दुई स्पीनरसहित पाँच बलर खेलाइरहेको दिल्लीमा बलिङ डिपार्टमेन्टमै २ जना विदेशी खेलाडी छन् । यस्तै छैटौं विकल्पको रुपमा दिल्लीमा अलराउण्डर स्टोइनिस छन् । उनले पहिलो खेलमा दिल्लीलाई सुपर ओभरसम्म पुर्‍याउने क्रममा अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए । मोहितले पहिलो खेलमा ४ ओभरमा ४५ रन खर्चँदा दोस्रो खेलमा आभेस खानले ४ ओभरमा ४२ रन खर्चिए । मोहितले १ विकेट लिएपनि आभेषले विकेट लिन सकेनन् ।

भारतीय फास्ट बलर कमजोर हुँदा दिल्लीले विदेशी फास्ट बलर खेलाउनुपरेको छ । विदेशी फास्ट बलरमा पनि दिल्लीको अर्को विकल्पको रुपमा ड्यानिएल साम्स छन् । यदी दिल्लीले ३ स्पीनर एकै पटक मैदान उतारेमा भने सन्दीपको पालो आउन सक्नेछ ।

सन्दीपले कहिले खेल्लान् ?

दिल्लीले तेस्रो खेलसम्म चार विदेशीलाई निरन्तरता दिइरहेको थियो । तर प्रदर्शनका हिसवाले भने रबाडा र स्टोइनिसले मात्र आफूलाई प्रमाणित गरेका छन् । रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । स्टोइनिसले आवश्यक परेका बेला ब्याट र बल दुवैमा राम्रो गरिरहेका छन् ।

फास्ट बलर नोर्किए र ब्याट्सम्यान हेटमायरले सोचे अनुसारको प्रदर्शन देखाउन सकेका छैनन् । मध्यक्रममा ब्याटिङ गर्ने हेटमायरले सीपीएलको प्रदर्शन दोहोर्‍याउन नसक्दा दिल्लीलाई घाटा भएको छ ।

दिल्लीले ब्याटिङ अर्डरमा केही परिवर्तन गरेको खण्डमा र विदेशी खेलाडीको व्यापक परिवर्तन गर्दा सन्दीपको पालो आउन सक्छ । अघिल्लो खेलमा हैदरावादसँग पराजित हुँदा विदेशी खेलाडीमध्ये रबाडाले मात्र राम्रो प्रदर्शन गरेका थिए ।

यस्तै नर्किए र अमित मिश्राको प्रदर्शन पनि राम्रो हुन सकेन । यदी दिल्लीले यी स्थानमा परिवर्तन गर्न चाहेमा सन्दीपको सम्भावना हुन सक्नेछ । दिल्लीले अब अर्को खेल ३ अक्टोबरमा कोलकता नाइट राइडर्ससंग शारजहाँमा खेल्नेछ ।

हुनत यसअघिका दुई संस्करणमा पनि सन्दीपले सुरुवाती खेलहरु बेन्चमा बसेर हेरेका थिए । पहिलो संस्करणमा उनले दिल्ली प्रतियोगिताबाट बाहिरिएपछिका ३ खेलमा मौका पाएका थिए । यसपटक वेस्ट इन्डिजको लिगमा राम्रो प्रदर्शन गरेकाले आईपीएलमा पहिलो खेलबाटै सन्दीपले खेल्न सक्ने भारतीय मिडियाहरुको पनि अड्कल थियो । तर यो सत्य सावित भएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment