Comments Add Comment

कोभिड–१९ : उपत्यकाको वास्तविक अवस्था के ?

१४ असोज, काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हटस्पट बनेको छ । तराई मधेसका पर्सा, रौतहट, सर्लाही जस्ता जिल्लामा संक्रमितको संख्या घटिरहेका बेला उपत्यकामा संक्रमणको ग्राफ निरन्तर बढ्दो छ ।

बुधबार देशभरमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ९०२ जना उपत्यकाका थिए । पछिल्लो साताको तथ्यांक केलाउने हो भने कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी उपत्यकाकै छन् । संक्रमण दर औसतमा करिब १४ प्रतिशत छ । तर, त्यसको हाराहारीमा परीक्षण भएको देखिँदैन ।

नयाँ संक्रमित मात्र होइन, सक्रिय संक्रमित पनि देशभरका आधाभन्दा बढी उपत्यकामा नै छन् । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्दा उपत्यकामा ११ हजार २७४ पुगेको छ । उनीहरुमध्ये ९ हजार १५३ जना काठमाडौंका छन भने ललितपुरमा ११४१ जना र भक्तपुरमा ९८० जना सक्रिय संक्रमित छन् ।

दैनिक थपिने संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेहरुको सङ्ख्या निकै कम छ । यसले कोरोना महामारी लामो समय जाने संकेत दिएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘जनस्वास्थ्यका मापदण्ड पालना नभएको र भिडभाड बढी भएको ठाउँमा संक्रमण दर घटाउन गाह्रो पर्छ । हाम्रै अनुशासनको कारण कोभिड महामारी लम्बिने देखिन्छ ।’

संक्रमण दर मात्र होइन, देशभरको तथ्यांक केलाउँदा मृत्युको सङ्ख्या पनि काठमाडांै उपत्यकामा नै बढी छ । सरकारी तथ्यांकअनुसार देशभर ४९८ संक्रमितको मृत्यु हुँदा १३७ जना उपत्यकाका छन् । जनस्वास्थ्य विज्ञहरुको अनुसार संक्रमणका कारण एक व्यक्तिको मृत्यु भइसक्दा ऊ बसेको समाजमा संक्रमण व्यापक फैलिइसकेको हुन्छ । भुसको आगोझै फैलिएको संक्रमणबाट वृद्धवृद्धा र दीर्घरोगीलाई बचाउन नसके मृत्युदर घटाउन गाह्रो हुन्छ ।

उपत्यकाको वास्तविक अवस्था के हो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म कोरोना संक्रमण समुदायका गइसकेको भनेर औपचारिक रुपमा स्वीकार गरेको छैन ।

तर तथ्यांकले त्यो बताइसकेको छ । जनस्वास्थ्य वैज्ञानिकहरुका अनुसार टेस्ट, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा भएको कमजोरीका कारण उपत्यकामा समुदायमा संक्रमण पुगिसकेको छ । संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’

सुरुवाती चरणमा राज्यले गरेको लापरवाहीको कारण यो अवस्था आएको उनी बताउँछन् । उनका अनुसार अहिले महामारी नियन्त्रण गर्न राज्यले अत्यधिक स्रोत र साधन खर्च गर्नुपर्ने हुन्छ, जुन सरकारले चाहेको देखिन्न । डा. अधिकारीले अनलाइनखबरसँग भनेका छन्, ‘अहिले उपत्यका जोखिममा रहेको सबैलाई थाहा छ, तर अब यसरी नै चल्छ भनेर राज्यले हात उठायो ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि अहिले उपत्यकामा जोखिम बढेको बताउँछन् । उनकाअनुसार राज्यले नियन्त्रणको नयाँ नीति नलिने हो भने संक्रमण दर मात्र होइन, मृत्युदर पनि बढ्नसक्छ । पुन भन्छन्, ‘महामारी नियन्त्रण बाहिर जान लाग्दा राज्यले कुनै कदम नचाले अब गम्भीर दुर्घटना निम्तिने देखिन्छ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले उपत्यकामा देशभरका मानिसहरुको आवतजावत भएकाले संक्रमण बढेको बताए । ‘धेरै जनसङख्या र धेरै ठाउँका मानिसहरु आवतजावत हुने ठाउँमा संक्रमण बढ्नु स्वाभाविक हो’ उनी भन्छन्, ‘महामारी नियन्त्रणमा नयाँ नीति बनाउँदैछौं ।’

स्वास्थ्य मन्त्रालयसँग छैन रणनीति

उपत्यकामा संक्रमणको ग्राफ बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले यसलाई नियन्त्रणका लागि कुनै रणनीति बनाएको छैन । नयाँ रणनीति बनाउन स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठको संयोजकत्वमा विज्ञ कमिटी गठन गरेको थियो ।

यो कमिटीले दिएको सुझाव अनुसार मन्त्रालयले महामारी नियन्त्रणमा कदम चाल्ने बताइएको थियो । तर अहिलेसम्म कुनै प्रतिवेदन बुझाएको छैन । संयोजक श्रेष्ठ भन्छन्, ‘कस्तो रणनिति बनाउँदा प्रभावकारी हुनछ भनेर हामी विज्ञहरुको सुझाव लिइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment