
१५ असोज, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले आफूलाई विष दिइनुमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको बताएका छन् । एक जर्मन म्यागेजिनसँगको कुराकानीमा उनले गत अगष्ट महिनाको अन्तिममा उनलाई दिइएको विषबारे बाल्दै यस्तो बताएका छन् । उनले यो घटनाबाट पनि आफू विचलित भने नभएको बताएका छन् ।
गत अगष्टमा विष दिइएपछि नाभाल्नीलाई आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरुले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । सेप्टेम्बरमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । म्यागाजिनसँगको कुराकानीमा उनले भने, ‘यो अपराधमा पुटिनको हात थियो भनेर म दाबीका साथ भन्न सक्छु र अरु के भएको थियो भनेरचाहिँ मलाई केही पनि थाहा छैन ।’
नाभाल्नीलाई विष दिइएको घटनाबारे पश्चिमा मुलुकहरुले विस्तृत जानकारी सार्वजनिक गर्न माग गरेका छन् । रुसले भने अहिलेसम्म यो घटना आपराधिक जस्तो नदेखिएको बताउँदै आएको छ ।
नाभाल्नीले आफू पुनः रुस फर्किने बताएका छन् । उनले आफूलाई कुनै पनि डर नरहेको बताएका छन् । डाक्टरहरुले सामान्य अवस्थामा फर्किन नाभाल्नीलाई अझै एक महिना समय लाग्ने बताएका छन् ।
स्रोत : अलजाजिरा
प्रतिक्रिया 4