Comments Add Comment

ठोरीमा विद्यालय सञ्चालनको तयारी

१५ असोज, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले सामुदायिक विद्यालय सञ्चालनका लागि तयारी थालेको छ । विद्यालय सञ्चालनअघि पालिकाभित्र रहेका २१ वटै विद्यालयहरुको अनुगमन गरिएको छ । विद्यालयहरुमा सेनिटाइजेसन गर्ने काम भइरहेको छ । कोभिड–१९ महामारीको समयमा बाहिरबाट आएकाहरुलाई ६ वटा विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको थियो ।

वडा-२ का अध्यक्ष किशोर तामाङ संयोजक रहेको ७ सदस्यीय अनुगमन टोलीले गाउँपालिका प्रमुख पिएल श्रेष्ठलाई अनुगमन प्रतिवेदन समेत बुझाइसकेको छ । विद्यालयहरुको पछिल्लो अवस्था र कोभिड– १९ को महामारीमा कसरी विद्यालय सञ्चालन गर्ने भन्ने बारेमा अनुगमन टोलीले अध्ययन प्रतिवदेनमा समेटेको छ ।

प्रतिवेदनमा तत्काल गर्नुपर्ने र दीर्घकालिनरुपमा गर्नुपर्ने काम, विद्यालय सञ्चालनका क्रममा आउन सक्ने जोखिम र समाधानका लागि अभिभावक, शिक्षक, विद्यालय र पालिकाको दायित्वलाई समेटिएको अनुगमन समितिका सदस्य केशवप्रसाद रेग्मीले जानकारी दिए । रेग्मी सरस्वती आधारभूत विद्यायका प्रधानाध्यापक पनि हुन् ।

‘टुटेका खानेपानीका धारा, डेक्स बेञ्चहरु मर्मत गर्नुपर्ने छन्, कतै शौचालयको तत्काल मर्मत गर्नुपर्ने छ,’ उनले भने, ‘कतै शौचालयको त कतै कक्षा कोठाको अभाव छ । कतै शिक्षक अपुग छन् । यी सबै समस्या क्रमशः समाधान गर्नुपर्ने छ ।’

गाउँपालिकामा २३ जना शिक्षक खाली रहेकोले पदपूर्ति गर्नुपर्ने देखिएको उनको भनाइ छ । न्युनतम आवश्यकता पूरा गर्नुपर्ने, जोखिम नियन्त्रणका लागि योजना बनाउनुपर्ने, वडास्तरमा स्वास्स्थ्यकर्मी राखेर अनुगमन गराउन सकिने, अभिभावक शिक्षकको हिम्मत बढाउनुपर्ने आवश्यकता देखिएकोले शिक्षक/अभिभावक, विद्यालय र पालिकाको दायित्व समेत प्रतिवेदनमा उल्लेख छ ।

‘सबै विद्यालयको अनुगमन गरेर विद्यालयको अवस्था, विद्यालय सञ्चालन गर्दा आउन सक्ने चुनौती, सरोकारवालाको दायित्व समेटेर प्रतिवेदन तयार पारेका छौं,’ रेग्मीले भने, ‘विद्यालय सञ्चालन गर्ने वा नगर्ने, गर्दा कसरी गर्ने भन्ने निर्णय पालिकाले गर्छ ।’

गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले प्रतिवेदनमा प्राप्त सुझावका बारेमा छलफल गरेर अगाडि बढ्ने बताए । ‘६ महिनासम्म विद्यालय बन्द हुँदा विद्यालयमा झार उम्रिएको छ, पानी ट्याङकीहरु फुटेर कामै नलाग्ने भएका छन् । पहिला सबै विद्यालयको सरसफाई गर्छौ,’ उनले भने, ‘कतिपय अभिभावकले दशैंतिहार पछि मात्रै विद्यालय खोल्न ठिक हुने सुझाव पनि दिएका छन् । त्यसैले शिक्षक अभिभावकलाई बोलाएर राम्रोसँग छलफल गर्न पनि भनेका छौं ।’

७ वटा विद्यालयमा अन्य पालिकाबाट पनि विद्यार्थीहरु आउने गरेको पाइएको उनको भनाइ छ । शिक्षक, अभिभावकहरुसँग परामर्श गरेर विद्यालय कसरी सञ्चालन गर्ने भन्ने निर्णयमा पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment