१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको घटना हुने गरेको स्वीकार गरे । यद्यपि यस्ता घटना न्यूनीकरण गर्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताए ।
उनले अघि भने, ‘सवा २०० कन्ट्री(देश) हरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं ।’
अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको थापाले बताए ।
दक्षिण अफ्रिकामा बलात्कारका घटना धेरै हुने भन्दै उनले भने, ‘अमेरिका टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ ।’
यद्यपि नेपालले आफ्नो स्थितिलाई बदल्न जरुरी छ भन्नेमा सरकार प्रष्ट रहेको मन्त्री थापाले बताए । ‘सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ’ उनले भने ।
गृहमन्त्री बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न ढिलाई भएको स्वीकार गरे । राज्य व्यवस्था समितिमा उनले भने, ‘अपराधीलाई कानूनी कठघरामा ल्याउन हामी निरन्तर रुपमा लागिराखेकै छौं । हामीलाई विश्वास छ, यो प्रयासमा हामी सफल हुन्छौं ।’
प्रतिक्रिया 4