
२३ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सुनसरीका ४, मोरङ, सप्तरी र काठमाडौंका २/२ तथा झापा, सिराहा, ललितपुर र बाँकेका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० नाघेको छ ।
- मोरङ कारागारमा रहेका इटहरी उपमहानगरपालिका-४, सुनसरीका २० वर्षीय पुरुषको शुक्रबार कोशी अस्पतालमा मृत्यु भएको छ । बिहीबार बिहान साढे अस्पताल भर्ना भएका उनलाई साँझ संक्रमण पुष्टि भएको थियो ।
- धरान उपमहानगरपालिका-१२, सुनसरीका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ ।
- इटहरी-६, सुनसरीका ६८वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २० गते संक्रमण पुष्टि भएको थियो ।
- दुहबी, सुनसरीका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो ।
- रंगेली नगरपालिका-४, मोरङका ७२ वर्षीय पुरुषको बिहीबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । थाइराइड र फोक्सोसम्बन्धी समस्या भएका उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
- विराटनगर महानगरपालिका-१२, मोरङकी ५५ वर्षीया महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । बिहीबार संक्रमण पुष्टि भएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो, तर केहीबेरमै मृत्यु भयो ।
- झापाका २९ वर्षीय पुरुषको बिहीबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ ।
- डाक्नेश्वरी नगरपालिका-४, सप्तरीका ६७ वर्षीय पुरूषको मृत्यु भएको छ । २१ असोजमा संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
- रुपनी गाउँपालिका-१, सप्तरीका ३३ वर्षीय पुरुषको बिहीबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उनी मुटु सम्बन्धी रोगबाट समेत पीडित थिए ।
- लहान नगरपालिका-६, सिराहाका ४८ वर्षीया महिला पाटन अस्पतालमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएर १३ असोजमा अस्पताल भर्ना भएकी उनको १९ गते मृत्यु भएको थियो ।
- सामखुसी, काठमाडौंकी ८७ वर्षीया महिलाको बिहीबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको छ । २१ गते भर्ना भएकी उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।
- बुद्धनगर, कठमाडौंका ७१ वर्षीय पुरुषको बुधबार चिरायु अस्पतालमा मृत्यु भएको छ । १३ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी १४ गते अस्पताल भर्ना भएका थिए ।
- थसिखेल, ललितपुरकी ८४ वर्षीय पुरुषको बिहीबार पाटन अस्पतालमा मृत्यु भएको छ । दम, मधुमेह र उच्च रक्तचापको समस्या भएका उनी २१ गते अस्पताल भर्ना भएका थिए ।
- भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी नेपालगञ्ज उपमहानगरपालिका-१, बाँकेकी ८५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ असोजमा अस्पताल भर्ना भएकी उनको बिहीबार साँझ मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4