Comments Add Comment

विराटनगर र धरानमा ८ जना संक्रमितको मृत्यु

फाइल तस्वीर

२९ असोज, विराटनगर । कोरोना संक्रमणका कारण प्रदेश १ मा एकै दिन आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो ।

विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेहको समस्या थियो ।

सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको छ । मृतकमा मधुमेह, उच्च रक्तचापलगायत समस्या थियो ।

धरानमा पाँचजनाको मृत्यु

पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच जनाको मृत्यु भएको छ । प्रष्ठिानका सह प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार विहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका विरामीमा रहेका पुरुषमा १० असोजमा संक्रमण पुष्टि भएको थियो । विरामीलाई ११ असोजमा प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो ।

इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया व्ृद्धाको बिहीबार विहान १२ः५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचाप भएकी वृद्धामा २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको बुधबार राति ११ः५५ मा मृत्यु भएको छ । उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।

धरान ९ कै ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको छ । धरान ९ का महिला र पुरुषमा दीर्घरोगको समस्या थिएन । महिलालाई २७ असोजमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी तेह्रथुम दाङ्पा– १ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ । २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो । २५ असोजमा इमरजेन्सीमा भर्ना भएका उनको बुधबार बेलुका सात बजे इमरजेन्सीमै मृत्यु भएको डा. श्रेष्ठले जानकारी दिए ।

एकै दिन आठजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १२१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment