Comments Add Comment

संसद विघटनविरुद्व प्रदेश २ का सबै जिल्लामा जसपाको प्रदर्शन

८ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ का ७ वटै जिल्लामा बुधबार प्रदर्शन गरेको छ ।

प्रदेशको अस्थायी राजधानी धनुषा सदरमुकाम जनकपुरधामसहित सप्तरी सदरमुकाम राजविराज, सिराहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्सा सदरमुकाम बीरगन्जमा जसपाले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा नेता कार्यकर्ताले प्रधानमन्त्रीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, केपी शर्मा ओली मुर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूलाई रिहा गर, झूठो मुद्दा खारेज गरलगायतका नारा लगाएका थिए ।

प्रदर्शन पश्चात सबै जिल्ला सदरमुकाममा कोणसभाको समेत आयोजना गरिएको छ । कोणसभामा बोल्दै नेताहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर संसद विघटन गरेकाले यो कदम सच्चयाउनु पर्नेमा जोड् दिए ।

प्रदर्शनमा केन्द्रीय, प्रदेश र जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस्तै जसपाबाट निर्वाचित प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिले समेत प्रदर्शनमा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment