Comments Add Comment

अदालतले गरेन भने विद्रोहले संसद पुनर्स्थापना गर्छ : भुसाल

१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको उनले बताए ।

पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार तिलोेत्तमामा गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए । ‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र ?’ भुसालले प्रश्न गर्दै भने, ‘अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनर्स्थापना गर्छ भन्ने विश्वास छ । यदि अदालतले गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गरेरै छाड्छ ।’

प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधानको उल्लंघन सुरु हुने र मुलुकमा अस्थिरता निम्तिने उनको धारणा छ । संसद विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनले बताए ।

नेता भुसाल प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमामा गरेको जिल्ला भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएका हुन् । लुम्बिनी प्रदेशका ९ जिल्लामा सो समूहले आइतबार जिल्ला भेला आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment