
५ फागुन, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । उत्तर कोरियाका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार मंगलबार रि सोल जु किमका पिता किम जोङ इलको जन्मजयन्तिको समारोहमा सहभागी भएकी थिइन् ।
रि सोल जु धेरैजसो कार्यक्रमहरुमा किम जोङ उनसँगै सहभागी हुने गरेकी छिन् । तर, सन् २०२० को जनवरीयता भने उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् । यससँगै उनी गर्भवती भएको वा अन्य कुनै स्वास्थ्य समस्यामा परेको हुन सक्ने आशंका गरिएको थियो ।
दक्षिण कोरियाको गुप्तचर संस्थाले भने उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण उनी सार्वजनिक कार्यक्रममा देखिन नचाहेको बताउँदै आएको थियो ।
उत्तर कोरियाले अहिलेसम्म कुनै पनि कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गर्दै आएको छ । तर, विशेषज्ञहरुले भने यसो हुने सम्भावना निकै कम रहेको बताउँदै आएका छन् ।
मंगलबर सार्वजनिक गरिएको तस्वीरमा किम जोङ उन र रि सोल जु दुवैले मास्क लगाएका थिएनन् भने भौतिक दूरी पनि कायम राखेको देखिएको छैन । उत्तर कोरियाको स्थानीय सञ्चारमाध्यमले किमलाई ‘राष्ट्रपति’ पदको प्रयोग गरेका छन् । यसअघि सञ्चारमाध्यमहरुले ‘चेयरमेन’ बताउने गरेका थिए ।
प्रतिक्रिया 4