Comments Add Comment

घरेलु मैदानमा विराजको सन्यास

१६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका डिफेन्डर विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । घरेलु मैदानमा भएको थ्री नेसन्स कप फुटबलको फाइनलपछि विराजले सन्यास लिएका हुन् । ३१ वर्षीय विराजले यो प्रतियोगितापछि सन्यास लिने यसअघि नै बताइसकेका थिए ।

उनी त्रिदेव गुरुङको स्थानमा ८९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । नेपाल र बंगलादेशबीचको खेल सकिएपछि विराजलाई राष्ट्रिय टिमका अरु सदस्यले काँधमा बोकेर दशरथ रंगशाला परिक्रमा गराएका थिए । विराजलाई दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाइदिए ।

थ्री नेसन्स कप खेल्ने नेपाली टोलीमा पर्दै करिब २१ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका विराजले फाइनलमा बंगलादेश विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय करिअरबाट विश्राम लिएका हुन् ।

सन् २००८ मा पोखरामा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको लागि डेब्यु गरेका विराजले ७३ क्याप जिते । नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका उनले १८ खेलमा नेपालको कप्तानी समेत गरेका थिए ।

विराजले घरेलु मैदानमा खेल्दै सन्यास लिनेबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी गराइसकेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जितेको हिसाबले विराजलाई सफल कप्तानको रूपमा लिइन्छ । उनकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबल जितेको थियो । यस्तै एएफसी सोलिडारिटी कपमा अनिल गुरुङ कप्तान भए पनि अधिकांश समय विराजले नै आर्मब्याण्ड लगाएर नेतृत्व गरेका थिए । सोलिडारिटी कपमा पनि नेपाल च्याम्पियन बनेको थियो ।

नेपाली टिमको निवर्तमान कप्तान रहेका विराजले थ्री नेसन्स कपमा भने गोलकिपर किरण चेम्जोङको कप्तानीमा खेले । यसअघि विराज नै कप्तान रहेको बेला उनी टिममा नपर्दा नेपालको कप्तानी किरणले नै गर्दै आएका थिए । किरणको अनुपस्थितिमा भरत खवास र सुजल श्रेष्ठले पनि नेपालको कप्तानी गरे ।

थ्री नेसन्स कपमा भने विराजले पुनरागमन गरे पनि किरण नै घोषित कप्तान थिए । पछिल्लो पटक सन् २०१९ जून २ मा मलेशियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका विराज त्यसयता टिममा पर्न असफल भए । विशेषगरी सब्डिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटको पाँच खेल खेल्दा विराज टिममा पर्न सकेनन् ।

यसअघि नै विराजले घरेलु मैदानमा खेल्दै सुखद बिदाइको अपेक्षा गरे पनि अवसर मिलेको थिएन । विश्वकप छनोटमा नेपालले घरेलु मैदानमा चार खेल खेल्न पाउने प्रावधान थियो । तर समयमै दशरथ रंगशाला तयार नहुँदा नेपालले पहिले अवे खेल खेल्नुपर्‍यो ।

गत वर्ष नेपालले कुवेतसँग घरेलु मैदान दशरथ रंगशालमा खेल्ने लगभग पक्का रहेको अवस्थामा अन्तिम समयमा भूटानमा सरेको थियो । त्यस खेलमा पनि विराजले खेल्ने अपेक्षा राखेका थिए । तर खेल भूटान सर्‍यो, विराज टिममा परेनन् ।

कोरोना महामारीले गर्दा स्वीडेन फर्केका कालिनले प्रशिक्षकबाट राजीनामा दिएपछि बालगोपाल महर्जन नेपालको कार्यकारी मुख्य प्रशिक्षक बने । त्यसपछि नेपालले नोभेम्बरमा बंगलादेश गएर दुई मैत्रीपूर्ण खेल खेल्यो । त्यसपटक पनि विराज टिममा पर्न असफल भए ।

बालगोपालले विश्वकप छनोटअन्तर्गत बाँकी तीन खेलका लागि ५८ खेलाडीलाई पहिलो चरणमा प्रशिक्षणमा बोलाउँदा विराज पनि समावेश भए । महर्जनले विभिन्न चरणमा खेलाडी घटाउँदै ३३ जनासम्म ल्याउँदा विराज पनि टिममै रहे । त्यही ३३ जनाबाट थ्री नेसन्स कपका लागि २३ सदस्यीय टोली घोषणा गर्दा विराज उक्त टिममा परे ।

विराजले घरेलु मैदानमा खेल्दै सन्यास लिनेबारे अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जानकारी गराइसकेका थिए । नेपालमै हुने तय भएको विश्वकप छनोटअन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेई विरुद्धको खेल स्थगित हुँदै सेन्ट्रलाइज्ड भेन्युमा सरेपछि नेपालमा कहिले खेल हुने टुङ्गो थिएन । यस्तोमा एन्फाले बंगलादेश र किर्गिस्तानको यू–२३ टोली समावेश थ्री नेसन्स कप आयोजना गरेको हो ।

‘घरेलु मैदानमा यसपछि कहिले प्रतियोगिता हुने हो टुङ्गो छैन । त्यसैले यो प्रतियोगिता नै मेरा लागि सन्यासको सही अवसर हो,’ विराजले थ्री नेसन्स कप शुरु हुनुअघि नै सन्यासबारे अनलाइनखबरसँग भनेका थिए ।

शुरुआती दुई खेल बेन्चमै बसेर हेरेका विराजले फाइनल खेल भने घरेलु मैदानमा फेरि एकपटक आफ्ना प्रिय दर्शकसामु खेले । अनि आफ्ना दर्शकअघि उभिएर उनले ‘अब अन्तर्राष्ट्रिय फुटबल नखेल्ने’ भन्ने घोषणा गरे ।

घरेलु मैदान र घरेलु दर्शकको अघि सन्यास लिन पाउनु खेलाडीका लागि विशेष हुन्छ । यसअघि सन् २०१७ मा अनिल गुरुङले पनि एन्फा कम्प्लेक्समा घरेलु दर्शक अघि सन्यास घोषणा गरेका थिए ।

शुरुआती दुई खेल बेन्चमै बसेर हेरेका विराजले फाइनल खेल भने घरेलु मैदानमा फेरि एकपटक आफ्ना प्रिय दर्शकसामु नै खेले । अनि आफ्ना दर्शकअघि उभिएर उनले ‘अब अन्तर्राष्ट्रिय फुटबल नखेल्ने’ भन्ने घोषणा गरे ।

विराजसँगै १३ वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका फरवार्ड भरत खवास पनि राष्ट्रिय टिममा छन् । भरत विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान छन् ।

राष्ट्रिय टिममा सफल कप्तानको छवि बनाएका विराज घरेलु फुटबलमा पनि सफल खेलाडी मानिन्छन् । उनले तीन फरक क्लबबाट शहीद स्मारक ए डिभिजन लिग जितेका छन् र यस्तो उपलब्धि पाउने उनी एक्ला खेलाडी हुन् ।

सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा विराजले राजुकाजी शाक्यको ६८ खेलको कीर्तिमान तोड्दै नेपालका लागि धेरै खेल्ने कीर्तिमान बनाएका थिए ।

विराजले नेपालको राष्ट्रिय टिमका लागि एक गोल पनि गरेका छन् । सन् २००९ मा दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कप छनोटमा विराजले किर्गिस्तान विरुद्ध खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । ८६औं मिनेटमा किर्गिस्तानले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो ।

विराजले घरेलु फुटबलमा थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेका छन् ।

२०५७ सालमा एन्फा एकेडेमीमा जोडिएका विराज त्यसयता विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म पुगे । उनले तीन क्लबबाट लिग जित्नुअघि संकटा र एनआरटी क्लबबाट पनि खेले ।

एन्फा एकेडेमीमा पुगेपछि नै फुटबलमा पोजिसनबारे जानकारी पाएका विराज ब्राजिलियन खेलाडी रोबर्टो कार्लोसलाई देखेर डिफेन्डर बनेका थिए । २०६३ सालमा संकटा क्लबबाट व्यावसायिक फुटबल खेल्न थालेका विराज अर्को वर्ष एनआरटी पुगे र त्यही वर्ष नै राष्ट्रिय टिममा परेका थिए ।

विराजले अझै खेल्ने मन भए पनि उमेरले गर्दा अब नयाँ खेलाडीलाई छाड्ने बेला आएकाले सन्यास लिने मूडमा पुगेको बताए । ‘मन त थिएन अझै पनि केही कन्ट्रिब्युसन गर्न मन थियो । तर पनि सधैं आफूले भने जस्तो हुँदैन । कहिलेकाहीं एज फ्याक्टरले पनि धेरै फरक पार्ने रहेछ फुटबलमा’ विराजले थ्री नेसन्स कपको पूर्व सन्ध्यामा भनेका थिए, ‘म पछि धेरै युवा खेलाडी मेरो पोजिसनमा खेल्न आउनुभा’छ । हामी सिनियर खेलाडीले उहाँहरूलाई अवसर दिनुपर्छ ।’

विराजले घरेलु फुटबलमा थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेका छन् ।

उनले आफ्नै ‘होम ग्राउण्ड’मा सन्यास लिने हरेक खेलाडीको चाहना हुने बताउँदै भने, ‘मेरो मनले भन्यो यो नै बेस्ट हो र मैले सन्यास लिने निर्णय गरें ।’

विराजले फुटबलरले अनुशासनमा बसेर मैदानभित्र र बाहिर ध्यान दिनुपर्ने बताए । नेपाली फुटबल अझै माथि बढेको र दर्शक खुसी भएको हेर्ने विराजको अबको इच्छा छ ।

विराज महर्जन

वर्ष : ३१
राष्ट्रिय टिममा खेल : ७३
कप्तानी गरेको खेल : १८
राष्ट्रिय टिममा डेब्यु : सन् २००८ मा पाकिस्तान, पोखरा
नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी

अन्तर्राष्ट्रिय उपाधि
बंगबन्धु कप : सन् २०१६
१२औं साग : सन् २०१६
सोलिडारिटी कप : सन् २०१६

राष्ट्रिय उपाधि
शहीद स्मारक ए डिभिजन लिग (थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लब)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment