Comments Add Comment

मेरो जिन्दगीको एउटा अध्याय सकियो : विराज महर्जन

१७ चैत, काठमाडौं । नेपाली फुटबलका कप्तान विराज महर्जनले सोमबार थ्री नेसन्स कप फुटबल प्रतियोगितापछि सन्यास लिए । ३१ वर्षीय विराजले सोमबार बंगलादेशविरुद्धको फाइनल खेलमा अन्तिम मिनेटमा मैदान प्रवेश गर्दै नेपालका लागि ७३ क्याप जिते ।

नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेपछि उपाधिसहित विराजको विदाइलाई सुखद भयो । घरेलु मैदानमा उपाधि जित्दै सन्यास लिन पाउनु आफ्नो करियरकै अविस्मरणीय क्षण भएको विराजले बताएका छन् ।

सन्यासको भोलिपल्ट विराजले सामाजिक सञ्जालमार्फत सबैलाई एकमुष्ट धन्यवाद दिँदै ‘मैले राष्ट्रिय टोलीको जर्सी अन्तिम पटक लगाएँ’ भनेका छन् । सन् २००८ मा नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका विराजले १३ वर्ष राष्ट्रिय टिमको जर्सी लगाए ।

उनले आफू अझै २-३ वर्ष खेल्न सक्ने र गिभ अप गर्न मन नहुँदा नहुँदै पनि नयाँ राम्रा खेलाडी  आएकाले ठाउँ छाड्नु उपयुक्त समय रहेको बताए ।

विराजले मंगलबार फेसबुकमा पोष्ट गरेको सन्देश :

मैले मेरो…राष्ट्रिय टोलिको जर्सी अन्तिम पटक लगाएँ 

अब वास्तवमा यो मेरो जिन्दगीको एउटा अध्याय सकिएको छ । यो सजिलो थिएन । विशेष गरी सुरुवाती दिनहरूमा, एन्फा एकेडेमी हुर्किँदै गर्दा मेरो एउटा सपना थियो राष्ट्रिय टोलीको जर्सी लगाई देशलाई उपाधी जिताउने । धेरै हदसम्म त्यो पनि पूरा गरे जस्तो लाग्छ । देशले तीनवटा उपाधि जित्दा म टोलीको महत्त्वपूर्ण सदस्य तथा कप्तान थिएँ । यसमा मलाई सदैव गर्व महसुस हुन्छ ।

खेलाडी जीवनकालमा धेरै उतारचढाव आए करिब १४ वर्ष राष्ट्रिय टोलीबाट खेल्दै गर्दा समर्थकहरुबाट पाएको माया राष्ट्रिय टोलीको ३ नम्बर जर्सी म जिन्दगीभर कहिले पनि बिर्सने छैन ।

आज राष्ट्रिय टोलीबाट बिदा लिँदै गर्दा म मेरो सुरुवातदेखिको सम्पूर्ण साथीहरुलाई धेरै सम्झिन चाहेको छु । म आज यो स्थानसम्म आइपुगेर बिदा लिदै गर्दा मलाई सदैब सपोर्ट गर्ने मेरो आमा-बाबा, दाजुभाइ, दिदिबहिनी साथै सम्पूर्ण परिवारलाई धेरै-धेरै धन्यवाद अनि माया भन्न चाहन्छु ।

एन्फा एकेडमी, एन्फा, मेरा सम्पूर्ण प्रशिक्षक, संकटा क्लब, एनआरटी क्लब, थ्री-स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब साथै मछिन्द्र क्लबप्रती विशेष धन्यवाद साथै हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

मलाई माया गर्नु हुने देश तथा विदेशमा रहनुहुने मेरो सम्पूर्ण समर्थक, शुभचिन्तक, मिडियाकर्मी, खेलकुद प्रेमी, राष्ट्रिय टोलीको सम्पूर्ण खेलाडी, सहकर्मी, प्रशिक्षक, अफिसियलहरुलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु । साथै नेपाली फुटबल अझै धेरै प्रगति र सफलताको कामना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment