Comments Add Comment

टोकियो ओलम्पिक : कस्तो छ नेपालको तयारी ?

गौरिका सिंह । फाइल फोटो

१९ चैत, काठमाडौं । ‘टोकियो ओलम्पिक २०२०’ आगामी जुलाई–अगष्टमा जापानमा हुँदैछ । कोरोना महामारी नफैलिएको भए गत वर्ष नै सम्पन्न भइसक्ने थियो । तर कोरोना महामारीले विश्व नै प्रभावित बनेपछि त्यसको असर खेलकुदमा पनि पर्‍यो । विश्व खेलकुदको ‘महाकुम्भ’ ओलम्पिक पनि एक वर्ष पछि सर्‍यो ।

विश्वभरका राष्ट्रले सहभागिता जनाउँदै आएको ओलम्पिकमा नेपालले पनि सन् १९६४ को टोकियो ओलम्पिकदेखि प्रतिस्पर्धा गर्न थालेको हो । १९६८ बाहेक त्यसयता हरेक संस्करणमा यो महाकुम्भमा नेपाली खेलाडीको सहभागिता रहँदै आएको छ । तर नेपालले हालसम्म पदक जित्न सकेको छैन ।

गृष्मकालीन अर्थात समर ओलम्पिकको ३२ औं संस्करण जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने तालिका तय भएको छ । कोभिडको असरले अब हुने ओलम्पिकमा धेरै विषयहरू पहिलाको भन्दा फरक हुने पक्का छ । २०२० मै तय भएकोले धेरैजसो खेलाडी छनोट भइसकेका छन् । यद्यपि अझै कतिपय खेलका लागि छनोट प्रतियोगिता हुन बाँकी नै छ ।   खेलाडीहरू पनि छनोट हुन बाँकी छन् ।

नेपालबाट पनि छनोट खेल खेल्न खेलाडीले तयारी गरिरहेका छन् । केही खेलाडीले खेलिसकेका पनि छन् ।

‘अहिले सबै खेलाडीले तयारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले फण्ड दिएर सहयोग गरिरहेको छ । स्कलरसिप अन्तर्गत १२ खेलाडीले तयारी गरिरहेका छन्’, नेपाल ओलम्पिक कमिटी (एनओसी)का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले भने, ‘क्लोज क्याम्प राखेर तयारी भइरहेको छ । एक वर्ष तालिम भएको छ ।’

कोभिड नभएको भए गत वर्ष नै ओलम्पिक सम्पन्न भइसक्थ्यो । सरेपछि आईओसीले फेरि २०२१ जुलाईसम्मका लागि स्कलरसिप अन्तर्गत रकम पठाउने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले सिफारिस गरेअनुसार आईओसीले विभिन्न खेलका १२ खेलाडीका लागि स्कलरसिप प्रदान गरेको छ । त्यसमध्ये पौडीतर्फ गौरिका सिंह र एलेक्स शाह अनिवार्य कोटा अन्तर्गत टोकियो ओलम्पिकमा प्रतिस्पर्धाका लागि जाने पक्का भइसकेको छ ।

गौरिका सिंह

यस्तै युनिभर्सल कोटा अन्तर्गत एथ्लेटिक्स र पौडीबाट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य राष्ट्रहरूले अनिवार्य सहभागिता जनाउन पाउने छन् । दुवै खेलबाट २–२ खेलाडीले सो अवसर पाउनेछन् ।

जसअन्तर्गत नेपालबाट पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपिचन्द्र पार्की छानिएका हुन् । एथ्लेटिक्सबाट अझै एक खेलाडीको नाम आउन बाँकी छ ।

यसबाहेक अन्य खेलका खेलाडीहरू कसैले छनोट प्रतियोगिता खेल्न बाँकी छ भने कोही वाइल्ड कार्डका लागि तयारी गरिरहेका छन् ।

नेपाल ओलम्पकि कमिटी (एनओसी)ले गौरिका र एलेक्ससहित १२ खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ओलम्पिकबाट प्राप्त स्कलरसिप प्रदान गरिरहेको छ । आईओसीबाट हरेक महिना एक खेलाडीका लागि ५ सय डलर (६० हजार) पा्रप्त हुन्छ । त्यसैबाट खेलाडीले तयारी गरिरहेका छन् । खेलाडीलाई प्रशिक्षण दिने प्रशिक्षकले समेत त्यसैबाट खर्च गर्नुपर्ने हुन्छ ।  २०२० को जुलाईसम्मका लागि आईओसीले ५०० डलर पठाएको थियो । ओलम्पिक सरेपछि यो स्कलरसीप निरन्तर गरिएको छ ।

स्कलरसिप पाउनेमा गौरिका र एलेक्स सहित कराँतेकीका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका विर बहादुर महरा, सुटिङकी सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोतर्फ इन्द्र बहादुर श्रेष्ठ छन् ।

१० खेलाडीको वाइल्स कार्डका लागि नाम सिफारिस गरिएको छ । एनओसीले वाइल्ड कार्डका लागि स्कलरसिप पाएका १० खेलाडीबाहेक जुडोकी सोनिया भट्ट र बक्सिङकी मिनु गुरुङको नाम पनि सिफारिस गरेको छ ।

मिनुले जोर्डनमा भएको बक्सिङको छनोट प्रतियोगिता खेलिसकेकी छिन् । सोनियाको जुनियर वर्ल्ड र्‍याङ्किङमा राम्रो भएकोले उनलाई वाइल्ड कार्डको लागि सिफारिस गरिएको हो ।

ओलम्पिक तयारीमा रहेका खेलाडीलाई आईओसीबाट प्राप्त स्कलरसिपमा एनओसीले सम्बन्धित संघमार्फत प्रशिक्षण दिएको छ

एथ्लेटिक्समा गोपीचन्द पार्की अनिवार्य कोटामा टोकियो ओलम्पिकमा लागि छानिएपनि उनले भने स्कलरसिप पाएका छैनन् ।

२०२० मा ओलम्पिक हुन नसकेपछि यसको असर आयोजक जापानदेखि विश्वभरका खेलाडीलाई पर्‍यो । नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो ।  कोभिडले गर्दा ओलम्पिकका लागि तयारी गर्न नपाउँदा उनीहरू घरमै बस्न बाध्य थिए । ‘धेरै कठिन थियो । खेलाडी भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि बलियो हुनुपर्छ’, एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक राजवैद्यले भने, ‘कोभिड भएपछि सरकारले नेपालमा पनि लकडाउन गर्‍यो । तालिम नभए पनि खेलाडीलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउनुपर्छ भनेर हामीले एक हप्ता मनोवैज्ञानिक क्लास लियौँ, त्यसले धेरै राम्रो काम गर्‍यो ।’

लकडाउनका बेला भौतिक तालिम नभए पनि भर्चुअल्ली रुपमा तालिम गराइरहेको उनले बताए ।  ‘कोभिडको समयमा हामीलाई निकै कठिन भएको थियो । ट्रेनिङ गर्न नपाउँदा मानसिक रुपमा के गर्ने, कसो गर्ने भइसकेको थियो’, कराँतेकी अनु अधिकारीले भनिन्, ‘पछि विस्तारै अवस्था सहज बन्दै गयो । अहिले ट्रेनिङ भइरहेको छ ।’

तेक्वान्दोका वीरबहादुर महराले कोभिडले गर्दा विदेशमा कुनै गेम खेल्न नपाएको र नेपालमै बसेर तयारी जुट्नुपर्ने अवस्था आएको बताए । उनले अन्तर्राष्ट्रिय स्तरमा खेल्न नपाउँदा प्रदर्शनमा कमी हुन्छ कि भन्ने लागेको सुनाए । तेक्वान्दोको छनोट प्रतियोगिता आगामी मे महिनामा हुनेछ ।

फरक हुनेछ टोकियो ओलम्पिक

अहिले जापान ‘टोकियो ओलम्पिक’को तयारीमा जुटेको छ । कोभिडको भ्याक्सिन आइसकेकाले खेलाडीलाई पनि लगाउन थालिएको छ । यसअघिका ओलम्पिकहरू भव्य उद्घाटन र समापन हुने भए पनि यसपटक भने सामान्य अवस्थामै खेलहरू हुनेछन् ।

एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्यका अनुसार टोकियो ओल्मपिकको उद्घाटन र समापन पहिलाजस्तो भव्य हुने छैन ।

‘भाग लिने देशहरूबीच साप्ताहिक, पाक्षिक र मासिक रुपमा भर्चुअल मिटिङ भइरहेका छन्’, राजवैद्यले भने । पछिल्लो मिटिङ अनुसार सहभागीहरूले ७२ घन्टा अघिको पिसिआर रिपोर्ट लिएर जानुपर्ने छ । एअरपोर्टमा परीक्षण हुनेछ । पोजेटिभ आए १४ दिन क्वारेन्टिन बस्नुपर्ने छ ।

यसअघि खेलाडीसँगै कोटामा अन्य व्यक्ति पनि जान पाउँथे । यसपटक त्यो सुविधा कटौति गरिएको छ । ‘देशले गेष्टहरू लग्न पाउने कोटा थियो, त्यो यसपटक घट्छ’, राजवैद्यले भने, ‘खेलाडी भेन्युदेखि होटलसम्म मात्र जान पाउने छन् । सार्वजनिक यातायात प्रयोग गर्न पाउने छैनन् । बाहिर घुम्न जान नपाउने प्रावधान छ । गेम सकिएपछि भोलिपल्टै खेलाडीहरू घर फर्कनुपर्नेछ ।’

जापानमा यसपटक विदेशी दर्शकलाई प्रवेश अनुमति नदिने निर्णय भइसकेको छ ।

नेपालको लक्ष्य

गत वर्ष नेपालमै भएको सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्यो । यसबाट खेलकुद क्षेत्रमा नेपाल उत्साहित भएको थियो । सागको सफलताले ओलम्पिकमा पनि राम्रो गर्न सक्ने विश्वास नेपालले लिएको छ ।

‘लामो समय तालिम गराइएको खेलाडीले राम्रो गर्ने आशा छ’, राजवैद्यले भने । सबै खेलका खेलाडीले कम्तीमा व्यक्तिगत प्रदर्शन सुधार गरेर राष्ट्रिय कीर्तिमान कायम गर्ने अपेक्षा उनले राखेका छन् ।

मेडल जित्न देशको अवस्था कहाँ छ त्यो पनि हेर्नुपर्ने उनले बताए । ‘हामीले जित्न नसक्नुको कारण लगानी नै हो । स्पोर्ट्स भनेको इनभेस्टमेन्ट (लगानी) हो । देश कहाँ छ । लगानी कति गरेको छ भन्ने हेर्नुपर्छ’, उनले भने, ‘हामीले लामो समय खेलमा इनभेस्टमेन्ट कहिल्यै गर्न सकेनौँ, लामो समय तालिम दिन सकेनौँ । खाली के भयो भने गेम आयो अनि तालिम गर्‍यो, यत्तिले पुग्दैन ।’

कुन खेलाडीले कहाँ गर्दैछन् तयारी ?

ओलम्पिक तयारीमा रहेका खेलाडीलाई आईओसीबाट प्राप्त स्कलरसिपमा एनओसीले सम्बन्धित संघमार्फत प्रशिक्षण दिएको छ ।

 

ओलम्पिकको तयारीमा रहेका नेपालका भारोत्तोलन खेलाडी छनोट प्रतियोगिता खेल्न १२ चैतमा उज्वेकिस्तान गएको छ । जुडो टोली २२ चैतमा प्रतियोगिता खेल्न उज्वेकिस्तान नै जाँदैछ । जुडोमा ओलम्पिकको तयारीमा रहेका दुई खेलाडीसँग पुनम श्रेष्ठ र देविका खड्का पनि जाँदैछन् ।

पुनम श्रेष्ठ

युनिभर्सल कोटामा छनोट भइसकेका गौरिका र गोपीचन्द्र काठमाडौंमै प्रशिक्षण गरिरहेका छन् । पौडीका एलेक्स भने थाइल्याण्डमा तयारी गरिरहेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले बताए । सबै खेलाडी ओलम्पिकसँग सम्बन्धित संघसँगको सहकार्यमा तालिम गरिरहेका छन् ।

एथ्लेटिक्सअन्तर्गत म्याराथनतर्फ ओलम्पिक खेल्ने गोपीचन्द्र पार्कीले भने स्कलरसिप पाएका छैनन् । उनको लागि एनओसीले सरकारमार्फत बजेट उपलब्ध राउने प्रयास गरिरहेको राजवैद्यले बताए । ‘ओलम्पिक स्कलरसिप पहिल्यै तय भइसकेको र गोपी पछि छनोट भएकाले उनको खर्च आएको छैन । हामीले सरकारसँग आग्रह गरेको छौँ’, उनले भने । उनी विभागीय टोली एपीएफमा तयारी गरिरहेका छन् ।

पौडी

बेलायतमा कोभिडले गर्दा स्विमिङ पुल बन्द भएकाले गौरिका सिंह नेपाल आएर प्रशिक्षण गरिरहेकी छिन् । एलेक्स देश बाहिर थाइल्याण्डमा तयारी गरिरहेका छन् । गौरिकालाई अहिले पौडीका मुख्य प्रशिक्षक शंकर कार्की र प्रशिक्षक ओङदेन लामाले प्रशिक्षण गराइरहेका छन् ।

एथ्लेटिक्स

टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेका गोपीचन्द्र पार्की अहिले हलचोकमा प्रशिक्षण गरिरहेका छन् ।

गोपीचन्द्र पार्की

 

कराँते

अनु अधिकारी र नविन रसाइली नेपालमै तयारी गरिरहेका छन् । उनीहरूले ओलम्पिकको लागि छनोट खेल खेल्न बाँकी छ । प्रशिक्षक दीपक श्रेष्ठले उनीहरूलाई प्रशिक्षण गराइरहेका छन् । कराँतेको छनोट प्रतियोगिता जुन ११ देखि १३ सम्म फ्रान्सको पेरिसमा हुने तय छ ।

आर्चरी

ज्ञानु अवाले र तिलक पुन मगर पोखरामा तयारी गरिरहेका छन् । दुवै जनाले रिकर्भमा खेल्नेछन् । आर्चरीको छनोट जुनमा पेरिसमै हुने तय भएको छ । तर त्यसबारे अन्तिम निर्णय भइसकेको छैन ।

तेक्वान्दो

वीरबहादुर महाराले पुलिस एकेडेमीमा तयारी गरिरहेका छन् । नेपाल पुलिसमा आबद्ध रहेका उनलाई कोरियन प्रशिक्षक योङदल क्वोनले प्रशिक्षण गराइरहेका छन् । तेक्वान्दो एकेडेमीमा धेरै खेलाडी हुने भएकाले कोरोनाका कारण विरबहादुरले पुलिस एकेडेमीमै प्रशिक्षण गरिरहेका छन् । तेक्वान्दो छनोट मे १५ देखि १६ सम्म जोर्डनको अम्मानमा हुनेछ ।

सुटिङ

सुस्मिता नेपाल र कल्पना परियारले काठमाडौंमा तयारी गरिरहेका छन् । दुवैजना १० मिटर एअर राइफलका लागि तयारी गरिरहेका छन् । सुटिङको पनि अन्तिम छनोट प्रतियोगिता हुन बाँकी छ । कहिले हुने भन्ने टुंगो भएको छैन ।

भारोत्तोलन

कमला श्रेष्ठ र सन्जु चौधरी पोखरामा तयारी गर्दैछन् । कमला ५९ केजी र सन्जु ५५ केजी तौल समूहमा खेल्नेछन् । ओलम्पिक छनोटका लागि यही चैत १२ गते भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान गरिसकेको छ ।

सन्जु चौधरी

जुडो

इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट काठमाडौंमा तयारी गर्दैछन् । इन्द्र ६६ केजी मुनि र सोनिया ४८ केजी मुनि इभेन्टमा खेल्छन् । जुडोका खेलाडीहरू पनि चैत २२ गते प्रतियोगिता खेल्न किर्गिस्तान जाँदैछन् ।

बक्सिङ

मिनु गुरुङ काठमाडौंमा तयारी गर्दैछिन् । उनले ५७ केजी तौल समूहमा खेल्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment