Comments Add Comment

माओवादी केन्द्रको विश्लेषण : चुनावको घोषणा हुने, तर नगर्ने खतरा छ

६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव घोषणा हुने, तर नहुने अवस्था आउनसक्ने चिन्ता व्यक्त गरेको छ ।

त्यसलाई टार्न वर्तमान सरकारलाई हटाएर नयाँ सरकार गठन गर्न दलहरुसँग भएको छलफल सकारात्मक रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

मंगलबार सुरु भएको स्थायी कमिटीको बैठकमा दलहरुसँग भएको छलफलबारे ब्रिफिङ गर्दै प्रचण्डले भने, ‘के गर्ने भन्ने एक/दुई दिनभित्र टुंगोमा पुग्छ ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार यो बैठकमा नयाँ सरकार गठन र समर्थन फिर्ता पनि एजेण्डा छ ।

कांग्रेस र जनता समाजवादी पार्टीसँगको समझदारीकै आधारमा कदम चालिरहेको भन्दै उनले भने, ‘हामी देशमा राजनीतिक अन्यौलको स्थित सिर्जना नहोस्, संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न हुने गरी चुनाव घोषणा हुने तर चुनाव चाहिँ नहुने स्थिति नहोस् भनेर सुविचारित रुपमा कदम चाल्ने पक्षमा छौं ।’

आफूहरुको चाहना पुनर्स्थापित संसद पूरा कार्यकाल चलोस् र लोकतान्त्रिक अभ्यास अगाडि बढाउने सरकार बनोस् भन्ने भएको उनले बताए । तर चुनावदेखि नडाराएको उनले दाबी गरे । ‘संवैधानिक निर्वाचन हुन्छ भने त्यो निर्वाचनको सामना गर्न तयार छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘चुनावको घोषणा हुने, तर चुनाव नगर्ने हो कि भन्ने खतरा छ । त्यो दिशातिर देशलाई धकेल्न चाहँदैनौं ।’

माओवादी स्थायी कमिटीको बैठकले हठात प्रतिनिधिसभा (संसद)को अधिवेशन अन्त्य गरेको भन्दै भर्त्सना गरेको छ । संसद बैठकको मिति निर्धारण भइसकेको अवस्थामा हठात संसद अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment