८ वैशाख, काठमाडौं । संस्थागत विद्यालयहरुले कक्षा १० को परीक्षालाई निरन्तरता दिएका छन् । एसईईको परीक्षा नजिक रहेकोले त्यसको तयारीका लागि विद्यालय बन्द भए पनि परीक्षा नरोकेको उनीहरुको भनाइ छ।
संस्थागत विद्यालयहरुको संगठन प्याब्सनमा आवद्ध विद्यालयहरुले वैशाख पाँच गतेदेखि प्रिबोर्ड परीक्षा लिइरहेको सहअध्यक्ष डिके ढुंगानाले बताए । गएको ६ गते सरकारले अति प्रभावित शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले निर्णय पालना गर्दै अरु कक्षाका विद्यार्थीलाई वैकल्पिक माध्यामबाट लगे पनि कक्षा १० का विद्यार्थीको भने परीक्षा रोकेका छैनन् । ढुंगानाले उनले भने, ‘परीक्षा चलिरहेको थियो । अरु कक्षालाई वैकल्पिकमा लगेका छौं । परीक्षा भने सबै मापदन्ड पालना गरेर संचालन गरिरहेका छौं ।’
एनप्याब्सनसँग आवद्घ रहेका विद्यालयहरुले भने भोलिदेखि परीक्षा लिने तयारी गरेको छ । आ-आफ्नै विद्यालयलाई होम सेन्टर बनाएर परीक्षा लिने तयारी गरेको अध्यक्ष ऋतुराज सापकोटाले बताए ।
सामुदायिक विद्यालयहरुले पनि वैशाख १५ गतेभित्र कक्षा दशको परीक्षा गर्ने तयारी गरिरहेको त्रिपुरेश्वर स्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई जेठ १३ गतेबाट हुने परीक्षा तालिका सार्वजनिक गरेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4