२० वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सोमबार एफसी चितवनलाई २-० ले पराजित गर्दै विराटनगर सिटी एफसी शीर्ष स्थानमा पुगेको छ ।
लिगमा दोस्रो जितपछि धनगढी समान ७ अंक जोडेको विराटनगर हेड टु हेड र गोलअन्तर दुवैमा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । यस जितपछि विराटनगरले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने समभावना बलियो बनाएको छ ।
चितवन भने चार खेलसम्म अझै जितविहिन छ । ४ खेलबाट २ अंक मात्र रहेको चितवन अन्तिम स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन विदेशी खेलाडी पेड्रो मान्जी र सन्तोष तामाङले एक एक-गोल गरे ।
पहिलो हाफदेखि नै चितवनमाथि दबाब बनाए पनि विराटनगरले गोल गर्न ७३ मिनेटसम्म कुर्नुपरेको थियो ।
७३ औं मिनेटमा सुनील बलको फ्रिकिकमा पेड्रोले उत्कृष्ट गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी छँदा सन्तोष तामाङले करिब २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै विराटनगरलाई २-० को जित दिलाए ।
विराटनगरका कप्तान तथा मार्की खेलाडी रन्जित धिमाल प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै विराटनगरका सुरज ठकुरी इमर्जिङ प्लेयर अफ दि म्याच घोषित भए र १० हजार प्राप्त गरे ।
प्रतिक्रिया 4