+
+
Shares

कर तिर्ने समय थप गर्न निजी क्षेत्रको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १८:२८

२१ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा घोषणा गरेसँगै कर तिर्ने समय बढाउन निजी क्षेत्रका उद्योगी–व्यवसायीले सरकारसँग माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको झण्डै दुई तिहाई भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गर्न सरकारसँग माग गरेको छ ।

महासंघले मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आयकरको अग्रिम करकट्टीलगायत करको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप्न माग गरेको हो ।

कोभिड महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसक्ने महासंघको भनाई छ ।

नेपाल उद्योग परिसंघले निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएको भन्दै कर बुझाउने समय थप्न माग गरेको हो । परिस्थिति सहज हुनासाथ कर रकम र विवरण बुझाउनु पर्ने समयमा कुनै थप शूल्क र जरिवाना नलिन परिसंघले माग गरेको हो ।

परिसंघले कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा हाल भएको व्यवस्था एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिन भित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नुपर्ने व्यवस्थालाई सहज बनाई कोभिडको प्रभाव न्यून नहुन्जेलसम्मका लागि बनाउन समेत माग गरिएको छ ।

उता, नेपाल चेम्बर अफ कमर्शले समेत निषेधाज्ञाको समयमा कर विवरण र कर रकम दाखिला गर्ने समय बढाउन माग गरेको छ । यस्तो रकम र विवरण बुझाउन सम्भव नभएको भन्दै समय थप्नु पर्ने माग चेम्बरको छ ।

आन्तरिक राजस्व विभागले भने नयाँ कुनै निर्णय नभएको जनाएको छ । विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले अहिले कुनै निर्णय नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?