Comments Add Comment

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

२२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उनको भनाइ छ । निषेधाज्ञामा सवारी साधन कम चलेको बेलामा समेत अबको १५ दिनमा निगमलाई कम्तीमा ५९ करोड २८ लाख घाटाको प्रक्षेपण गरिएको उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment