Comments Add Comment

टोकियो ओलम्पिकमा गौरिकासँगै एलेक्सले पनि नेपालको झण्डा बोक्ने

३० असार, काठमाडौं । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट दुई खेलाडीले नेपालको झण्डा बोक्ने भएका छन् । ओलम्पिकको उद्घाटन समारोहमा हुने मार्चपासमा नेपालबाट दुई पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्नेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पहिलो पटक ‘जेन्डर ब्यालेन्स’ कायम गर्न हरेक देशबाट एक महिला र एक पुरुष खेलाडीले झण्डा बोक्न पाउने निर्णय गरेपछि नेपालबाट पनि दुई खेलाडीले झण्डा बोक्ने भएका हुन् ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले टोकियो ओलम्पिकमा दुई खेलाडीले नेपालको झण्डा बोक्ने पुष्टि गरे । ‘आईओसीले जेन्डर ब्यालेन्स गर्न भनेर दुई खेलाडीलाई झण्डा बोक्न दिने भनेको छ । यो निर्णयसँगै नेपालबाट गौरिका र एलेक्सले नेपालको झण्डा बोक्नेछन् ।’

गौरिका र एलेक्स विशेष प्रशिक्षणका लागि जापान पुगिसकेका छन् । उनीहरु अहिले तोकुशिमामा प्रशिक्षणरत छन् ।

नेपाल ओलम्पिक कमिटीले एक दिन अघि मात्रै टोकियो ओलम्पिकको तयारीबारे पत्रकार सम्मेलन आयोजना गर्दा गौरिकाले मात्रै नेपालको झण्डा बोक्ने जनाएको थियो । तर आईओसीको निर्णयपछि अब दुई खेलाडीले झण्डा बोक्नेछन् ।

विश्वका अन्य केही देशले पनि आफ्नो देशको झण्डा बोक्न दुई खेलाडी तय गरिसकेको छ ।

यस पटक ओलम्पिकमा नेपालबाट गौरिका र एलेक्ससँगै सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउनेछन् ।

टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment