Comments Add Comment

नेपालमा खेल्न उत्साहित छन् शाहीद अफ्रिदी

१२ साउन, काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहीद अफ्रिले कीर्तिपुरस्थित टीयू मैदानमा क्रिकेट खेल्ने भएका छन् ।

आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटका लागि काठमाडौं किंग्स-११ ले अफ्रिदीलाई नेपाल ल्याउने भएको हो ।

सोमबार एक कार्यक्रम आयोजना गर्दै टेलेहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले अफ्रिदीलाई ईपीएलमा ‘आइकोनिक इन्टरनेशनल प्लेअर’को रुपमा अनुबन्ध गरेको घोषणा गर्‍यो । जहाँ भेट्रान अलराउण्डर शाहीद अफ्रिदी स्वयं भिडियोमार्फत प्रत्यक्षरुपमा देखिएका थिए । उनले पनि आफू नेपाल आएर खेल्न उत्साहित रहेको सुनाइहाले । ‘काठमाडौं मेरो पहिलो भ्रमण हुनेछ । म निकै उत्साहित छु,’ कार्यक्रममा अफ्रिदीले प्रत्यक्ष भिडियोमार्फत भने ।

४४ वर्षीय अफ्रिदी आफ्नो समयका उत्कृष्ट अलराउण्डर हुन् । आक्रामक सट खेल्ने अनि लेगस्पीन समेत गर्न सक्ने अफ्रिदीले ओडीआईमै टी-२० शैलीमा ब्याटिङ गर्न शुरु गरेका थिए ।

उमेरले चार दशक कटिसक्दासमेत विश्वका विभिन्न फ्रेन्चाइजमा अझै देखिएका अफ्रिदीलाई यसपटक काठमाडौंले नेपाली दर्शककै अगाडि क्रिकेट खेलाउन लागेको हो ।

अफ्रिदीलाई नेपाली क्रिकेटको बारेमा कत्तिको जानकारी छ भनेर सोध्दा उनले इमान्दारपूर्वक आफूलाई थाहा नभएको तर नेपालीले क्रिकेटलाई माया गर्ने बताए । ‘इमान्दारीपूर्वक भन्नुपर्दा मलाई केही थाहा छैन । तर, मलाई थाहा छ नेपालका मानिसहरु क्रिकेट मन पराउँछन्,’ उनले भने ।

काठमाडौंले ईपीएलमा लगातार विश्वकै चर्चित खेलाडीहरु अनुबन्ध गर्दै आएको छ । २०१७ मा भएको दोस्रो संस्करणमा काठमाडौंले पहिलो पटक श्रीलंकन टेष्ट खेलाडी फरवेज महारुफलाई नेपाल ल्याएर खेलाएको थियो । यस्तै पछिल्लो पटक २०१८ मा भएको संस्करणमा आयरल्याण्डका विष्फोटक ब्याट्सम्यान केभिन ओ ब्रायनलाई ल्याएको थियो ।

लगातार नाम चलेका खेलाडी ल्याउने काठमाडौंले यस पटक अफ्रिदीलाई अनुबन्ध गर्दै नेपाली क्रिकेटलाई फरक खालको टेष्ट दिन खोजेको छ ।

काठमाडौंका मालिक तथा टेलेहोल्डिङ्स प्रालिका डिरेक्टर रोहित गुप्ताले अन्य राम्रा विदेशी खेलाडी पनि अनुबन्ध गर्ने बताएका छन् । पछिल्लो संस्करणमा केभिन ओ ब्रयानसँगै युएईका रोहन मुस्ताफा, भारतका प्रदीप शाहु र सुब्रमनियम आनन्दले काठमाडौंबाट खेलेका थिए ।

किन पाका खेलाडी अनुबन्ध गरेको भन्ने प्रश्नमा गुप्ताले अफ्रिदी अनुभवी खेलाडी रहेको बताउँदै यसपटक टिममा अनुभवी, युवा खेलाडी र क्षमतावान खेलाडीहरुको मिश्रण रहने बताए ।

काठमाडौंले केही समयअघि मात्रै नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ । सन्दीपले पछिल्लो पटक ललितपुर प्याट्रिओट्सबाट खेलेका थिए ।

यस्तै कप्तान तथा मार्की खेलाडी सोमपाल कामीलाई ट्रेडमार्फत चितवन टायगर्समा पठाएर चितवनका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीलाई काठमाडौंले यसअघि नै अनुबन्ध गरिसकेको छ । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका सुवास खकुरेल पनि टिममा छन् । यसबाहेक जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी, अमर सिंह राउटेला, विक्रम भुषाल लगायत खेलाडी काठमाडौंको टिममा छन् ।

काठमाडौंका मालिक गुप्ताले अफ्रिदी महान क्रिकेटर रहेको र काठमाडौंबाट खेल्ने घोषणा गर्न पाउँदा निकै उत्सुक रहेको पनि बताए । ‘शाहीद अफ्रिदी खेलकुदको संसारमा प्रतिष्ठित सुपरस्टार हुन्, धेरै प्रख्यात क्रिकेट खेलाडीहरुले उहाँलाई आफ्नो आदर्शको रुपमा लिने गर्छन् । हामीलाई थाहा छ कि नेपाली क्रिकेट पारखीहरु उनलाई महान क्रिकेटरको रुपमा मान्छन् । विश्व प्रसिद्ध क्रिकेट शाहीद अफ्रिदी लिगमा काठमाडौं किंग्स ११ का लागि खेल्ने कुरा घोषणा गर्न पाएकोमा हामी निकै उत्सुक तथा गौरवान्वित भएका छौं । हामीलाई एकिन छ कि नेपाली क्रिकेटप्रेमीहरु उनलाई नेपाली मैदानमा खेलेको देखेर खुशी हुनेछन्,’ काठमाडौंले जारी गरेको विज्ञप्तिमा उनले भनेका छन् ।

यस्तै ईपीएलका आयोजक ईपीएल प्रालिका सीईओ आमिर अख्तरले पनि अफ्रिदीको खेल हेर्ने प्रतिक्षामा रहेको बताए । उनले भने, ‘शाहिद अफ्रिदी जस्ता प्रख्यात खेलाडीलाई आफ्नो टिममा सामेल गर्न सफल भएकोमा काठमाडौं किंग्स-११ लाई धेरै बधाई छ । शाहीद अफ्रिदी क्रिकेटको दुनियाँमा अलग्गै पहिचान भएको नाम हो र म उनलाई टीयू स्टेडियममा खेलेको र खेलप्रेमीहरुको भिडसँग अन्तरक्रिया गरेको हेर्न चाहन्छु । म विश्वस्त छु कि उनको अनुभवले हाम्रा स्थानीय खेलाडीहरुलाई हौसलाका साथै उनीहरुको प्रतिभाको क्षमता अन्तर्राष्ट्रियस्तरले बढ्नेछ ।’

सन् १९९६ मा पाकिस्तानका लागि डेब्यु गरेका अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा ११ हजारभन्दा बढी रन बनाइसकेका छन् ।

उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा शतक बनाउँदै छिटो शतकको कीर्तिमान बनाएका थिए । त्यो कीर्तिमान विश्व क्रिकेटमा लामो समयसम्म रहेको थियो ।

सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेल खेलेका छन् ।

अफ्रिदीले ओडिआईमा ८ शतक र ३९ अर्धशतकसहित ८ हजार ६४ रन बनाएका छन् । त्यस्तै ओडिआईमा उनले ३ सय ९५ विकेट लिएका छन् ।

यस्तै अफ्रिदीले टेष्टमा १ हजार ७१६ रन बनाउनुका साथै ४८ विकेट लिएका छन् । टी-२० मा भने उनले १ हजार ४१६ रन बनाउनुका साथै ९८ विकेट लिएका छन् ।

अफ्रिदीले पछिल्लो पटक आफ्नै देशको पाकिस्तान सुपर लिग (पीएसएल) मा मुल्तान सुल्तानका लागि खेलेका थिए ।

असोज ९ गतेदेखि २३ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने चौथो संस्करणको ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment