+
+

कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १५:१२

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो ।

तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय तथा घर-आँगन परिसरमा बुधबारदेखि पञ्चेबाजा बजाउन लागिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । उनका अनुसार यि करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ ।

‘रचनात्मक ढंगले करदातालाई कर तिर्न आग्रह गर्न गर्न लगेका हौं,’ उनले भने,’पञ्चेबाजासँगै कर तिर्न आग्रह गर्दै नाचगान पनि हुन्छ ।’ उनले मौलिक बाजा बजाएर करदातालाई सचेत गर्न लागिएको हो ।

अधिकारीका अनुसार करदाताबारे जानकारी दिएर गीत तयार गर्न र पञ्चेबाजा बनाउन बालुजुको एक महिला पञ्चेबाजा समूहलाई जिम्मा दिइएको छ । ‘महिलाहरुको सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ,’ उनले भने ।

कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ ।

नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने विभागका प्रमुख डा. अधिकारीकाले बताए ।

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले सम्पत्तिको विवरण बुझाएका छन् ।

सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ ।

नाम सार्वजनिक गरिएकाहरुलाई लिखित तथा मौखिक सूचना गरिएको अधिकारीले बताए । सार्वजनिक सूचना जारी गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ् गरिएको थियो ।

‘हामी करदाताको सहजताका लागि काम गरिरहेका छौँ, यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारवाही चलाउनुबाहेक विकल्प छैन,’ अधिकारी भन्छन्,’हाम्रा अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प छैन।’

काठमाडौं महानगरपालिकाले महामारीको बहाना बनाएर सम्पत्ति कर तिर्ने समयावधिमा छुट नपाइने बताउँदै आएको छ ।

महामारीबाट प्रभावित भएकाका लागि व्यवसाय र घरबहाल कर तिर्न थप समय र छुट सुविधा दिएको बताउँदै सम्पत्ति करमा त्यस्तो सुविधा दिन नसकिने बताए । ‘काठमाडौंका मुख्य शहरी क्षेत्रमा करोडौंको सम्पत्ति ओगटेर बस्नेले कर तिर्न सक्दैन ?’ उनी भन्छन्, ‘महामारी भनेर सम्पत्ति कर तिर्नबाट मुक्ति पाइँदैन ।

नाम सार्वजनिक गरिएका करदाताहरु

क्र.सं करदाताको नाम वडा नं. ठेगाना
रविन्द्र बहादुर मल्ल लालदरबार
दिव्य शम्सेर ज.व दरवारमार्ग
जय नेपाल हल दरवारमार्ग
इम्पेरियल अपार्टमेन्ट नक्साल
कान्तिपुर होटल दरवारमार्ग
शिशु अर्याल लाजिम्पाट
होटल ग्याङ्गजोङ्ग( हाल ले हिमालय) लाजिम्पाट
सिटी होटल्स लाजिम्पाट
शुभकामना हाउजिङ डेभलर्पस प्रा.ली भाटभटेनी
१० ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ्ग ह्याडस) चावहिल
११ गोपीकृष्ण मुभिज प्रा.लि. गोपीकृष्ण नगर
१२ झिग्मी सिग्मी पर्वल विष्ट चुच्चेपाटी
१३ काठमाडौं जेसिस ११ थापाथली
१४ खाद्य संस्थान ११ थापाथली
१५ सिग्नेचर अपार्टमेन्ट १२ टेकु
१६ अम्बे कम्प्लेक्स १२ टेकु
१७ टाउन डेभलोपर्स प्रा.लि. १२ टेकु
१८ राजेन्द्र कुमार कांवरा १३ रेडक्रस मार्ग
१९ ब्लु बर्ड ईन्भेष्टमेन्ट १३ रेडक्रस मार्ग
२० होटल प्लाटिनियम १३ सोल्टीमोड
२१ बुद्ध मल १६ माछापोखरी
२२ सिद्धार्थ बनस्थली स्कुल १६ बनस्थली
२३ जनमैत्री अस्पताल १६ बालाजु चोक
२४ ब्याट्री कारखाना १६ बालाजु
२५ होटल मर्स्याङ्दी १६ ठमेल
२६ ह्वाईट फिल स्कूल १७ खुसिवु, नयाँबजार
२७ प्रदीप रत्न ताम्राकार , उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार २० २०, २२, २५, वडामा रहेको घर
२८ आदर्श नगर बिजनेश प्रा.लि. २२ पिपुल्स प्लाजा
२९ बसुन्धरा तुलाधर २२ न्यूरोड
३० रञ्जना ट्रेड सेन्टर २२ न्यूरोड
३१ केशा प्रोपर्टिज प्रा.लि २२ न्यूरोड
३२ बैशाली होटल प्रा.लि. २६ ठमेल
३३ नेपाल स्काउट २६ लैनचौर
३४ साझा भण्डार २७ भोटाहिटी
३५ राष्ट्रिय नाँचघर २७ जमल कान्तिपथ
३६ चेम्बर भवन २७ जमल कान्तिपथ
३७ कर्मचारी संचयकोष भवन २७ ठमेल, त्रिदेवीमार्ग
३८ नेपाल रेडक्रस सोसाइटी २८ प्रदर्शनी मार्ग
३९ नेपाल विद्युत प्राधिकरण २८ पुरानो बसपार्क
४० नेशनल ट्रेडिङ्ग लिमिटेड २८ रामशाह पथ
४१ नेपाली जामे मस्जिद २८ दरवारमार्ग
४२ प्रवीण बहादुर के.सी. ३० शान्ता प्लाजा, ज्ञानेश्वर
४३ मैतीदेवी प्लाजा ३० डिल्लीबजार सडक, मैतीदेवी
४४ भरत गिरी (युनिभर्सल स्कूल) ३० डिल्लीबजार सडक, मैतीदेवी
४५ गगन विर सिंह कंसाकार ३० कम्प्युटर बजार, पुतलीसडक
४६ के.एल.टावर ३० ज्ञानेश्वर
४७ एपोलो प्रा.लि. ३० डिल्लीबजार सडक, मैतीदेवी
४८ सिटी सेन्टर ३० कमलपोखरी
४९ अजेय राज सुमार्गी पराजुली ३१ बानेश्वर
५० शिशु अर्याल (अल इन मार्ट) ३१ मिनभवन
५१ वरुण वेभरेज प्रा.लि. ३२ पेप्सीकोला काठमाडौं
५२ रिद्धिसिद्धि डेभलपर्स ३२ तीनकुने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?