News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न दैनिक र पाक्षिक नगद उपहार योजना सञ्चालनमा ल्याएको छ ।
- नयाँ व्यवस्थाअनुसार दैनिक विजेताले एक लाख ३३ हजार ३४ रुपैयाँ र बम्पर विजेताले १० लाख रुपैयाँ पाउनेछन् ।
- डिजिटल वा अन्य माध्यमबाट बिल लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको प्रणालीमा विवरण दर्ता गरी उपहार योजनामा सहभागी हुन सक्नेछन् ।
५ साउन, काठमाडौं । सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न दैनिक र पाक्षिक नगद उपहार योजना ल्याएको छ । नयाँ व्यवस्थाअनुसार अब बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले एक लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् ।
अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यो कार्यक्रम नेपाल सरकारको स्वीकृत बजेटमार्फत् सञ्चालन हुने छ ।
मन्त्रालयका अनुसार कर प्रणालीमा आबद्धता बढाउने, वस्तु तथा सेवा खरिद–बिक्रीको वास्तविक अभिलेखीकरणलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो ।
कार्यविधिअनुसार नेपालभित्र आफ्नै प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वत: प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरिदबापत एउटा उपहार टिकट प्राप्त हुनेछ ।
डिजिटल भुक्तानीबाहेक नगद वा अन्य माध्यमबाट खरिद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एपमार्फत बिल नम्बर, बिक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ ।
तर व्यापारिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी सेवा तथा हवाई टिकटका बिल तथा प्यान नम्बर नभएका विक्रेताबाट लिइएका बिल भने कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन् ।
दैनिक र पाक्षिक उपहार
कार्यविधिअनुसार विभागीय प्रणालीबाट स्वचालित रूपमा विजेता छनोट हुनेछ । विजेता छनोट गर्दा उच्चपदस्थ वा ख्यातिप्राप्त व्यक्ति, विभिन्न निकायका प्रतिनिधि र सञ्चार प्रतिनिधिलाई आमन्त्रण गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
हरेक दिन एक जना विजेताले १ लाख ३३ हजार ३४ रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी महिनामा दुई पटक हुने पाक्षिक बम्पर उपहारमा दुई जना विजेताले जनही १० लाख रुपैयाँ पाउने छन् ।
हरेक महिनाको १ गते अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्म प्रविष्ट भएका कारोबारबाट विजेता छनोट हुनेछ । त्यसैगरी महिनाको १६ गते सोही महिनाको १ गतेदेखि १५ गतेसम्मका कारोबारबाट विजेता चयन गरिनेछ ।
१५ दिनभित्र दाबी गर्नुपर्ने
विजेता घोषणा भएपछि विभागले मोबाइल नम्बर र इमेलमार्फत जानकारी दिनेछ । साथै विभागको वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि विजेताको नाम सार्वजनिक गरिनेछ ।
उपहार प्राप्त गर्न विजेताले घोषणा भएको १५ दिनभित्र सक्कल बिल, नागरिकता वा राष्ट्रिय परिचयपत्र (वा राहदानी/सवारी चालक अनुमतिपत्र), बैंक खाताको विवरण र प्यान नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ ।
उपहार रकममा आयकर ऐन, २०५८ को दफा ८८क बमोजिम २५ प्रतिशत कर कट्टी हुनेछ । आवश्यक कागजात प्रमाणीकरण भएपछि १० दिनभित्र विभागले विजेताको बैंक खातामा रकम जम्मा गर्नेछ ।
तोकिएको अवधिभित्र कसैले पनि उपहार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया 4