Comments Add Comment

संवैधानिक इजलासमा किन टुट्यो न्यायाधीशहरुको बरिष्ठताक्रम ?

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा टुंग्याएपछि बस्न नसकेको सर्वोच्च अदालतको संवैधानिक इजलासको शुक्रबार पेशी राखिएको छ ।

वरिष्ठताक्रम अनुसार न्यायाधीश छनौट गर्ने प्रतिवद्धता जनाएका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बरिष्ठताक्रममा दुई न्यायाधीश छाडेर थप न्यायाधीश सहित इजलास गठन गरेका छन् ।

प्रतिनिधिसभाको दोस्रो विघटनको समयमा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा जबराले अब संवैधानिक इजलास गठन गर्दा बरिष्ठताक्रममा रहेका न्यायाधीशहरुको इजलास राख्ने प्रतिवद्धता जनाएका थिए ।

शुक्रबारको इजलासमा प्रधानन्यायाधीश जबरा सहित न्यायाधीशहरु मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ शुक्रबारको इजलासमा छैनन् । सर्वोच्च अदालत स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश कार्कीको अर्को हेर्दाहेर्दैको मुद्दा भएकाले उनलाई इजलासमा नराखिएको हो ।

अर्को न्यायाधीश श्रेष्ठ भने लामो विदामा छन् । सर्वोच्च स्रोतले भन्यो, ‘त्यसैले कार्की र श्रेष्ठ श्रीमान संवैधानिक इजलासमा नरहनुभएको हो ।’

शुक्रबारको इजलासमा बहुचर्चित संवैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्तीका कुनैपनि मुद्दा छैनन् । तिनको पालो आगामी दिनमा आउने सर्वोच्च अदालत स्रोतले जनायो ।

सर्वोच्च अदालतले सामान्य अवस्थामा बुधबार र शुक्रबार संवैधानिक इजलास राख्ने गरेको छ । शुक्रबार नयाँ मुद्दाको सुनुवाइको पालो तोकिन्छ भने बुधबार पुराना नियमित मुद्दाको पेशी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment