+
+

ब्याजदर घटाउन बैंकहरुलाई राष्ट्र बैंकको ‘अल्टिमेटम’

एक पटकमा १० प्रतिशतमात्रै परिवर्तन गर्नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते २१:४३

२ कात्तिक, काठमाडौं । आक्रामक रुपमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले तत्कालै ब्याजदर घटाउन निर्देशन दिएको छ । ब्याजदर बढाएका बैंकहरुलाई भोलि बुधबारभित्रै नयाँ ब्याजदर तोकेर भोलिदेखि नै लागू गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले समयसीमा नै तोकेर बैंकहरुलाई ब्याजदर घटाउन पहिलो पटक यस्तो निर्देशन दिएको हो । कात्तिकका लागि नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका बैंकहरुले तीन वर्ष यताकै उच्च ब्याजदर दिने घोषणा गरेका थिए ।

यसको असर शेयर बजारमा समेत नकरात्मक परेको छ । बैंकहरुले मनपरी गर्न थालेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

मंगलबार साझ तीन बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो प्रकाशित ब्याजदरमा १० प्रतिशतमात्रै परिवर्तन गर्न सक्ने बताएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार संस्थागत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई प्रदान गरिने भन्दा कम्तिमा एक प्रतिशतले कम हुनुपर्नेछ ।

यसैगरी यो निर्देशन भोलि बुधबार नै कार्यान्वयन गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न बैंकहरुलाई केन्द्रीय बैंकले एक दिने अल्टिमेटम दिएको छ ।

यस्तो ब्याजदर मिति कात्तिक ४ गतेभित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न निर्देशन दिइएको छ ।

हिमालयन बैंकले सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेको छ । ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ भने त्यसलाई पछ्याउँदै एनआईसी एशिया बैंकले पनि आकर्षक ब्याजदर सार्वजनिक गरेको छ ।

हिमालयन, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी लगायत आधा दर्जन बढी बैंकहरुले ब्याजदर दोहोरो अंकमा पुर्याएका छन् । राष्ट्र बैंकको निर्देशन पछि अब भोलि नै यी बैंकहरुले ब्याजदर घटाएर नयाँ ब्याजदर वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative