
९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु भएको छ ।
उनीहरुबीच न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल भएको हो । छलफलको क्रममा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेर उनीहरु छुट्टै छलफलमा बसेका थिए । सोही छलफलमा प्रधानन्यायाधीशसँगको भेटमा राजीनामा माग्ने सहमति भएको स्रोतले जनायो ।
सोमबार नै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निकास दिन’ आग्रह गर्ने निर्णय गरेको थियो । चार पूर्वप्रधानन्यायाधीशहरुले पनि अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका थिए ।
संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेका प्रधानन्यायाधीश जबरा राजीनामा दिनुपर्ने दबाबमा छन् । यद्यपि जबराले बीबीसी न्युज नेपालीसँगको कुराकानीमा पदबाट राजीनामा नदिने बताएका छन् ।
प्रतिक्रिया 4