+
+

मास्टरसेफ सन्तोष भन्छन्- नेपाली परिकारबाट विश्व प्रतिष्ठित थुप्रै उपाधि जित्न सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १०:१०

१३ पुस, काठमाडौं । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि सिरहाका मास्टर सेफ सन्तोष साहले हासिल गरे । अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले नेपाल खाद्य संस्कारमा एकदमै समृद्ध रहेको भन्दै नेपाली परिकारहरुबाट विश्व प्रतिष्ठित थुप्रै उपाधि जित्न सकिने बताए ।

उपाधि जितेपछि अनलाइनखबर डटकमले मास्टरसेफ साहसँग टेलिफोनमा कुराकानी गरेको थियो । प्रस्तुत छ साहसँग गरिएको कुराकानीको सम्पादित अंश :

बीबीसी मास्टरसेफ प्रोफेसनल रिम्याच कस्तो प्रतिस्पर्धा हो ?

हरेक वर्ष गरिने बीबीसी मास्टरसेफ प्रोफेसनलको अन्तिममा पुगेका प्रतिस्पर्धीबीचको अर्काे प्रतिस्पर्धा हो यो । यसमा मास्टरसेफ प्रोफेसनलमा जस्तो धेरै प्रतिस्पर्धी त हुँदैनन् । तर अघिल्लो प्रतियोगितामा फाइनलमा पुगेर खारिएका प्रतिस्पर्धीहरुको सहभागिता रहन्छ । विशेषगरी हरेक वर्षको मास्टरसेफ प्रोफेसनमा दोस्रो र तेस्रो भएका प्रतिस्पर्धीहरुले यसमा भाग लिन पाउँछन् । मैले पनि गत वर्ष प्रतिस्पर्धामा रनरअपसम्म पुगेकाले यो प्रतियोगितामा यस वर्ष सहभागिता जनाउन पाएँ । सबैको मायाले उपाधि पनि जित्न पाएँ । त्यो मेरोलागि एकदमै खुसीको कुरा हो ।

पोहोरको प्रतियोगितामा मलाई एक/दुईवटा कुरा मनमा खडि्कइरहेको थियो । आफू तराईको मान्छे भएपनि तराईको खानालाई प्रतियोगितामा समेट्न सकेको थिइनँ । साथै राई, लिम्बु लगायतका कतिपय समृद्ध खाद्य संस्कार भएका जातीय खानालाई पनि विश्वले ध्यान दिइरहेको सो प्रतियोगितामा समेट्न पाएको थिइनँ । त्यसैले मेरालागि यो प्रतियोगिताले अधुरो काम पूरा गर्ने अवसर पनि दियो ।

अघिल्लो पटक फस्ट रनरअप भएको मान्छेले अहिले उपाधि जित्नुको मुख्य राज के हो ?

अघिल्लोपल्टको प्रतियोगितामा मैले नेपाल आएर राम्रोसँग खानाको बारेमा अध्ययन गर्न पाएको थिइनँ । मैले जति पनि खाना तयार पारेको थिएँ, इन्टरनेटमा भेटिएका सामग्रीहरुबाटै परिकार बनाउने शैली सिकेको थिएँ । तर यसपालिको प्रतिस्पर्धामा नेपालमै आएर मैले राम्रोसँग अध्ययन गर्ने मौका पाएँ । जसले उपाधि हासिल गर्न सहयोग गर्यो । यसमा अरु पनि फ्याक्टर पनि छन् । तर यो मुख्य राज चाहिँ राम्रोसँग रिसर्च गरेर खाना बनाउनु नै हो भन्ने लाग्छ ।

यो प्रतिस्पर्धामा कस्तोकस्तो खाना प्रस्तुत गर्नु भयो ?

सामान्यतया मैले अघिल्लो प्रतियोगितामा पूरा गर्न नसकेको तराईको खानालाई यसपालि धोको फेरेर समेट्न सकेँ । त्यसबाहेक अरु पनि धेरै राम्रा खानाहरु छुटेका थिए । योपल्ट मैले राई, लिम्बु, थकाली जस्ता जातीय खानालाई प्रतियोगितामा समेट्न पाएँ । अझै पनि धेरै जातिको समृद्ध खाद्य परम्परालाई समेट्न पाएको छैन । अझै त्यस्तो अवसर पाएँ भने म अरु जातिको खानेकुरालाई पनि समेट्ने प्रयास गर्नेछु ।

पहिलो प्रतिस्पर्धापछि यहाँले नेपाली खानाको बारेमा धेरै अध्ययन गर्नुभयो, कस्तो पाउनुभयो नेपाली खानाको अवस्था ?

नेपाली खाना संस्कार अत्यन्त समृद्ध छ । हरेक जातिको छुट्टाछुट्टै र समृद्ध खाद्य संस्कार छ । थारु खाना त मैले अहिलेसम्म हात लगाएको छैन । त्यो झन् समृद्ध खाद्य संस्कार भएको समुदाय हो । बगिया जस्ता खानेकुरा खुवाउन सक्यो भने यस्ता अरु पनि उपाधि जित्न सकिन्छ जस्तो लाग्छ । मलाई त लाग्छ नेपालमा अहिले प्रचलनमा रहेका खाद्य परम्परालाई प्रस्तुत गर्ने हो भने विश्व प्रतिष्ठित यस्ता अझै १० वटा उपाधि जित्न सकिन्छ ।

अबको योजना के छ ?

अब फेब्रुअरीसम्ममा ‘आइला’ भन्ने किताब प्रकाशित गर्ने तयारीमा छु । डिके र पेन्गुइन भन्ने संसारका ठूला प्रकाशन गृहले यो पुस्तक प्रकाशित गर्ने भएका छन् । नेपाली खानाको बारेमा संसारको यति ठूला प्रकाशनले पुस्तक छापिदिनुलाई पनि मैले ठूलै उपलब्धि मानेको छु । यसबाहेक नेपालमा पनि मैले विभिन्न टिभी सो चलाइरहेको छु ।

अब केही समयमा लण्डनमै रेस्टुरेन्ट खोल्ने योजना पनि बनाएको छु । तर मैले जेजस्तो काम गरेपनि मेरो उद्देश्य नेपालको खाद्य परिकारलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने र सबैलाई नेपाली स्वाद चखाउने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?